Edukhabar
सोमबार, ०२ चैत्र २०८२
खबर/फिचर

सामुदायिकमा विद्यार्थी बढ्दै, अंग्रेजी माध्यमले तान्यो

शनिबार, ०५ जेठ २०७५

धनगढी - सामुदायिक विद्यालयहरुले पनि अंगे्रजी माध्यममा पठन पाठन सुरु गरे पछि यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष धनगढी नगरका प्राय सबै सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर बढेको पाइएको छ । कतिपय विद्यालयमा विद्यार्थीको चाप बढे पछि भर्ना हुन आएका विद्यार्थीलाई भर्ना नलिएर नै फर्काउने समेत गरिएको छ ।

धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा यस बर्ष करिव पाँच सय नयाँ विद्यार्थी भर्ना भएको लेखापाल बिनिता खातीले जानकारी दिईन् । जुन अघिल्लो शैक्षिकसत्रमा नयाँ भर्ना भएका विद्यार्थी भन्दा एक सय ५० ले बढी हो । विद्यालयमा नयाँ भर्नाका लागि अझै विद्यार्थी आउने गरेका भए पनि भौतिक संरचना अभावका कारण भर्ना नलिएर नै फर्काउने गरिएको उनले जानकारी दिईन् । पञ्चोदयमा अंग्रेजी माध्यामबाट पनि पढाई सुरु भए पनि नयाँ विद्यार्थी भर्नादर उल्लेख्य मात्रामा बढेको विद्यालयले जनाएको छ । शैक्षिक शत्र २०७४ देखि पञ्चोदयमा कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यामबाट पनि पठन पाठन सुरु गरिएको हो  ।

वडा नम्बर २ स्थित शारदा माविमा पनि गत शैक्षिक सत्रको भन्दा यस पटक ७४ नयाँ विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहका अनसार अघिल्लो शैक्षिक सत्रमा एक सय ७८ नयाँ विद्यार्थी भर्ना भएकामा चालु शैक्षिक सत्रको बुधबार सम्म दुई सय ५२ विद्यार्थी भर्ना भएका छन् । सिंहका अनुसार नयाँ भर्ना हुन आएका मध्ये ३० विद्यार्थी संस्थागत विद्यालय छोडेर आएका हुन् ।

शहरी क्षेत्रका सामुदायिक विद्यालयमा पठन पाठन समेत राम्रो हुने र शुल्क समेत नपर्ने हुँदा अभिभावकले आफ्ना बालबालिकालाई निजीबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना थालेका छन् । वडा नम्बर ३ बोराडाडीका दानबहादुर बिष्टले निजी विद्यालयबाट छुटाएर त्रिभुवन माविमा भर्ना गरेको जानकारी दिए । सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पठन पाठन सुरु गरेकाले आफूले सामुदायिक विद्यालयमा भर्ना गरेको उनले बताए । यसले गर्दा सामुदायिक विद्यालय प्रति अभिभावकको अपनत्व समेत बढ्ने उनले आशा गरे ।

त्रिभुवन माविका प्रधानाध्यापक सिताराम अवस्थीले चालु शैक्षिक शत्रमा सोचे भन्दा बढी विद्यार्थी भर्ना हुन आएको बताए । आए जति सबै विद्यार्थीलाई भर्ना गर्न नसक्दा फर्काउनु परेको अवस्थीले जानकारी दिए । अहिले कक्षा १ देखि ५ सम्म भर्ना हुन आउने विद्यार्थीलाई मात्रै भर्ना गरिए पनि माथिल्लो कक्षामा थप भर्ना लिन नसकिएको उनले जानकारी दिए । त्रिभुवन माविमा गत शैक्षिक शत्रबाट पूर्वप्राथमिक तह देखि कक्षा ३ सम्म अंग्रेजी माध्याबाट पढाई सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय मावि उत्तरवेहडीका प्रधानाध्यापक गणेशराज भट्टले निजी शैक्षिक संस्थामा अभिभावकको आकर्षण बढ्दै जाँदा धनगढीका सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थाले पछि अभिभावकको ध्यान सामुदायिक तर्फ आर्कषित भएको बताए । त्यसैले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको उनले बताए । गत बर्ष देखी राष्ट्रिय माविमा पनि पूर्व प्राथमिक कक्षामा अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गरिएको थियो । गत शैक्षिक शत्रको तुलनामा राष्ट्रिय माविमा पनि ८५ नयाँ विद्यार्थी भर्ना भएका छन् ।

सामुदायिक विद्यालयले अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गर्दा शुल्क नियन्त्रण हुने धनगढीका शिक्षा श्रोत व्यक्ति रामबहादुर शाहीको भनाई छ । सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गर्दा हालको शुल्क भन्दा कम शुल्कमा विद्यार्थीले पठन पाठन गर्न पाउने भएपछि अभिभावक आर्कषित भएको उनको बुझाई छ । ‘सामुदायिक विद्यालयले निजी विद्यालयको भन्दा कम शुल्क लिएर पठनपाठन गराउँदा निजीले बाध्य भएर शुल्क घटाउनु पर्छ’ शाहीले भने  ‘यसले गर्दा शुल्क नियन्त्रण भई विद्यार्थीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।’

प्रतिक्रिया