काठमाडौं - विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भित्र्याउन शुरु भर्ना अभियान सकिए पछि पनि झण्डै ७० हजार बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । ३ लाख १३ हजार बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कका आधारमा सरकारले अभियान शुरु गरेको थियो । अभियान अवधिभरमा २ लाख ४३ हजार बालबालिका मात्रै विद्यालय भित्र्याउन सकिएको हो ।
संकलित तथ्याङ्कलाई अन्तिम रुप दिने काम जारी रहेको र एक दुई दिनमै अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने तयारी रहेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए ।
'मोटामोटी हेर्दा अभियान, २ लाख ४३ हजार बालबालिका विद्यालय भित्र्याउन सफल भएको छ, तर यसको अन्तिम रुप निकाल्न बाँकी नै छ' उनले भने, 'बाँकी रहेका बालबालिकाको अवस्था कस्तो हो ? किन अझै पनि उनीहरु विद्यालय आउन सकेनन् ? उनीहरुका लागि के गर्ने ? जस्ता प्रश्न उब्जिएको छ, त्यसलाई पनि सम्बोधन गर्ने गरी हामी एक दुई दिनमै सार्वजनिक गर्ने तयारीमा छौं ।'
शिक्षालाई मौलिक हकमा रुपमा संविधानमा ब्यवस्था गरिए पछि सरकारले यस बर्ष विशेष अभियानका रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सोही अभियान अन्र्तगत विविध कारणले विद्यालय जान नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गरिदिन सरकारले औपचारिक आह्वान नै गरेको थियो । उक्त अभियान अन्र्तगत नै प्रधानमन्त्री केपी ओली सहितका मन्त्रीहरुले मुगुमा गएर बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।
यस अवधिमा ३ सय ५२ ब्यक्ति र संस्थाबाट ६ सय ६८ बालबालिकाको अभिभावकत्व ग्रहण भएको सरकारद्धारा हालै सार्वजनिक आफ्नो सय दिने उपलब्धिमा पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया