डोटी - तलब नपाएको भन्दै डोटीको सायल गाउँपालिकाका सबै सामुदायिक विद्यालयका शिक्षकहरू पठन पाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
तलबको माग गर्दै शिक्षक महासंघ, सायल गाउँपालिको अगुवाईमा पालिकाभित्रका सबै ३१ वटा सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारिएको हो । आफूहले तेस्रो चौमासिकको (चैत्र–असार) तलव नपाएको भन्दै शिक्षकहरुले विद्यालयका साथै गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । तेस्रो चौमासिक तलब नपाएको भन्दै असार महिना नसकिदै शिक्षकले आन्दोलन शुरु गरेका हुन् ।
यथाशिघ्र तलब पाउनु पर्ने माग गर्दै शिक्षकहरु विद्यालय बन्द गरेर गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका छन् ।
शिक्षक नै आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि विद्यालयमा पठनपाठन ठप्प भएको छ । गाउँपालिकामा वित्तीय सामानीकरणतर्फको रकम कम आएका कारण शिक्षकलाई तलवभत्ता खुवाउन नसकिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।
‘संघीय तथा स्थानीय विकास मन्त्रालयबाट नै वित्तीय सामानीकरणतर्फको रकम कम आएका कारण तलव खुवाउन समस्या भयो' अध्यक्ष डुम्रेलले भने' हामीले रकम माग गरेका छौं। तर रकम आइपुग्न केही समय लाग्ने छ ।’
प्रकृया जारी रहेका बेलामा शिक्षकले नै विद्यालय बन्द गर्नु राम्रो कार्य नभएको अध्यक्ष डुम्रेलले बताए ।
तर, तलब नपाए सम्म धर्ना र विद्यालयमा पठन पाठन पुर्ण रुपमा ठप्प रहने सायल गाउँपालिका शिक्षक महासंघका सचिव धर्मराज जोशीले धम्कि दिए ।
‘हामीले तलब समय मै पाउनु पर्थ्र्यो, तर पाईएन, बिदा हुने समय हुन लाग्दा पनि तलव दिईएन । त्यसैले बन्द गरेका हौँ’ उनले भने ।
प्रतिक्रिया