Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यालय समायोजनमा ‘शैक्षिक माफिया’

आइतबार, २७ साउन २०७५

काठमाडौं २७ साउन / शैक्षिक माफियाहरूको चलखेलमा घोडाघोडी नगरपालिका कैलालीले शैक्षिकसत्रको पहिलो त्रैमासिक परीक्षापछि विद्यालय समायोजन र तह घटुवा गरेको स्थानीय शिक्षाप्रेमी तथा अभिभावकको आरोप छ। आफूहरूसँग छलफल नै नगरेर गाउँमा रहेको विद्यालयलाई अर्को गाउँको विद्यालयमा गाभ्नु भनेको गाउँमै रहेको निजी बोर्डिङ स्कुललाई प्रसय दिएको आभाष भएको उनीहरूले गुनासो पोखेका छन्।

गाउँगाउँमा खोलिएका निजी संस्थागत विद्यालयलाई टेवा पुग्नेगरी गाउँका प्राथमिक तहका सामुदायिक विद्यालयलाई अर्को गाउँका विद्यालयमा गाभ्नु आफैंमा गतल कार्य भएको शिक्षाप्रेमीहरूको बुझाइ छ । स्थानीय शिक्षाप्रेमी ईश्वरी स्वाँर प्रत्येक गाउँमा प्राथमिक तहसम्म स्कुल हुनैपर्ने बताउँछिन्। गाउँमा चलेका प्राथमिक तहका विद्यालयलाई समायोजन गर्नुभन्दा शिक्षाको गुणस्तरमा ध्यान दिनु र विद्यार्थी संख्या बढाउनु उपयुक्त रहेको उनको तर्क छ।

‘अभिभावकको रगत, पसिना र चन्दाले चलेको स्कुल बन्द गरेर अर्को विद्यालयमा समायोजन गर्नुभन्दा शिक्षामा गुणस्तर दिनु र विद्यार्थी संख्या बढाउन जनचेतनामूलक कार्यक्रम गर्नु उपयुक्त हो,’ उनले भनिन्, ‘साना बालबालिका गाउँकै स्कुलमा पुग्न सक्दैनन्, झन टाढाको विद्यालयमा जान मुस्किल हुन्छ। यसले कतै निजी तथा संस्थागत विद्यालयलाई मलजल भइरहेको त छैन भन्ने आशंका उब्जिनु पनि स्वभाविकै हो।’ स्थानीय सरकारले निजी विद्यालयलाई हातोत्साहित गरेर सामुदायिक विद्यालयलाई गुणस्तरीय र राम्रो बनाउनु पर्ने उनले बताइन्।

‘अहिले गाउँगाउँमा निजी बोर्डिङ स्कुल खुलेका छन्, गाउँको विद्यालयलाई विस्थापित गर्दा बोर्डिङ स्कुललाई टेवा पुग्न सक्ने अवस्था रहन सक्छ,’ शिक्षक संघका पूर्व क्षेत्रीय अध्यक्ष धिरेन्द्र कठायतले भने, ‘यसतर्फ पनि विचार पु¥याएर विद्यालय समायोजन तथा तह घटुवा गर्नुपथ्र्यो, त्यो गरिएन।’ शैक्षिकसत्र सुरु हुनु अगावै सर्वपक्षीय र सर्वदलीय छलफल हुनु आवश्यक भए पनि नगरपालिकाले त्यो नगरेरै हचुवाका भरमा तह घटुवा र विद्यालय समायोजन गरेको उनले बताए । शैक्षिक सत्रको बीचमा आएर विद्यालय समायोजन तथा तह घटुवा गर्दा विद्यार्थी, अभिभावक र निजी स्रोतका शिक्षक अलपत्रमा परेको उनले बताए।

शैक्षिक सत्र सुरु हुन अगावै छलफल गर्नु पर्नेमा नगरपालिकाले त्रैमासिक परीक्षा सकिएपछि सिधै विद्यालय समायोजन र तह घटुवा गर्ने प्रक्रिया थाल्यो, त्यो आफैमा विवादित विषय बनेको कांग्रेस नेता भीम बडुवालले बताए। ‘गुणस्तरिय शिक्षा भन्दै गाउँमा भएका विद्यालय समायोजनका नाममा विस्थापित गरिनु राम्रो काम होइन,’ उनले भने,‘विद्यालय, अभिभावक तथा सरोकारवाला राजनीतिक दलसँग वृहत्तर छलफल गर्नुपथ्र्यो, त्यो गरिएन।’ नगरपालिकाले सामुदायिक विद्यालयलाई मात्रै नियमन कडा गरेको बताउँदै उनले भने, ‘एकलौटी ढंगले सामुदायिक विद्यालय गाभ्ने काम भयो, तर बोर्डिङ स्कुलका विषयमा भने केही नबोलिँदा अभिभावकहरुको मनमा कतै शैक्षिक माफियाको चलखेल त हैन भन्ने आशंका उब्जिनु स्वभाविकै हो।’

स्थानीय तहलाई विद्यालय समायोजन कानुनी आधार भए पनि अधिकार प्रयोजनमा ल्याउँदा स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीसँग छलफल चलाउनु पर्ने शिक्षाविद् शिवप्रसाद ढकाल बताउँछन्। घोडाघोडी नगरपालिकाका स्थानीय समेत रहेका ढकालले भने,‘ रित पु-याएर विद्यालय समायोजन गरेको भए पनि गाउँमा विद्यालय नहुँदा भोलि विद्यार्थी निजी विद्यालयमा भर्ना हुने अवस्था आउनसक्छ, यसतर्फ ध्यान पु¥याउनु आवश्यक छ।’

समायोजन अघि छलफल चलाउनुपर्नेमा त्यसो नगरिएको बताउँदै एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली अध्यक्ष धनबहादुर सिंहले भने,‘अहिले घोडाघोडी नगरपालिकामा विद्यालय समायोजन तथा तह घटुवा प्रक्रिया विवादित बन्यो, यसले विद्यार्थी, अभिभावक तथा निजी स्रोतका शिक्षक मर्कामा परेका छन्।’ शैक्षिक सत्रको बीचमा आएर समायोजन प्रक्रिया थालिनु आफैंमा गतल भएको उनले बताए।

विद्यालय समायोजन प्रक्रिया आफैमा राम्रो भए पनि स्थानीय अभिभावक तथा गाउँको परिस्थितिलाई हेरेर गर्नुपर्ने शिक्षक महासंघ कैलाली अध्यक्ष भीमबहादुर बलायर बताउँछन्। उनले पनि शैक्षिक सत्रको बीचमा आएर समायोजन तथा तह घटुवा गर्नु गलत भएको बताए । ‘सरकारले आधारभूत तहसम्मका बालबालिकालाई निःशुल्क र अनिवार्य शिक्षा दिनुपर्ने बताउँदै आइरहेका बेला गाउँमा भएका प्राथमिक तहकै विद्यालय विस्थापन गर्नु आफैमा नराम्रो कार्य हो,’ उनले भने,‘यो कदम नगरपालिकाले सच्चाउनै पर्छ।’

घोडाघोडी नगरपालिकाले पहिलो त्रैमासिक परीक्षापछि नगरपालिका क्षेत्रभित्रका १६ वटा सामुदायिक विद्यालय समायोजन तथा तह घटुवा गरेको छ। शैक्षिक सत्रको बीचमा आएर विद्यालय समायोजन तथा तह घटुवा गरिएको विषयमा जानकारी लिन नागरिक संवाददाताले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन्।

नागरिकमा पुष्पराज जोशीले लेखेका छन् ।

प्रतिक्रिया