Edukhabar
सोमबार, ०३ बैशाख २०८१
अन्तैवाट

असल अभ्यास: सबै पालिकामा स्थानीय पाठ्यक्रम

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका करिब २० हजार बालबालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढिरहेका छन्

शनिबार, २० माघ २०८०

विप्लव महर्जन

सल्यान-  कालिमाटी गाउँपालिका–५, काल्चेको जनसेवा माविमा कक्षा १ देखि ३ सम्मका विद्यार्थी समूहमा बसेका छन् । शिक्षक महेश चौधरीले कक्षाकोठामा प्रवेश गरेर ल्यापटप टेबुलमा बिसाए । विद्यार्थीमा व्यग्रता थियो । त्यही बझुेर उनले ल्यापटपमा राखिएका पर्यटकीयस्थल, मठमन्दिर, नदीनाला, जनजंगल देखाउन थाले । अरु विषय पढाउँदा अल्छी मान्ने बालबालिकाहरु निकै उत्सुकतासाथ ल्यापटपमा भएका अन्य सामग्री हेर्न थाले । दृश्य देखाउने क्रममा शिक्षक चौधरीले सल्यानको रैथाने नृत्य पनि देखाए । विद्यार्थीमा ‘नाचौंला झैं’ गरेर स्फूर्ति देखियो । ‘स्थानीय पाठ्यक्रममा समावेश विषयहरु पढाउँदा विद्यार्थीमात्र होइन, हामीलाई पनि आनन्द लाग्ने गरेको छ,’ शिक्षक चौधरीले भने, ‘आप्mनै वरिपरि रहेका दृश्य, दैनिकजसो भोगिने जीवनशैली र कला–संस्कृतिका कुरा किताबमा देख्दा वास्तविक पढाइको अनुभूति हुन्छ ।’
    कालिमाटीको जनसेवा माविमात्र होइन, अहिले सल्यानका १० वटै पालिकामा स्थानीय पाठ्यक्रममा आधारित पढाइ हुने गरेको छ । पालिकाले कक्षा ५ सम्मको पाठ्यक्रम बनाएर पढाइरहेका छन् । प्रत्येक कक्षामा राष्ट्रिय पाठ्यक्रमका अतिरित्त सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम समावेश गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका अनुसार सल्यानका ४ सय ३५ सामुदायिक विद्यालयमा करिब ६५ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये कक्षा १ देखि ५ सम्मका करिब २० हजार बालबालिकाले स्थानीय पाठ्यक्रममा पढ्ने मौका पाएका छन् । जिल्लाका ५० संस्थागत विद्यालयमध्ये केहीले स्थानीय पाठ्यक्रम निर्माण गरेर पढाउने तयारी गरिरहेका छन् । इकाई कार्यालयका प्रमुख लालबहादुर घर्तीले सरकारले स्थानीय पाठ्क्रयम निर्माण गर्न प्रोत्साहित गरेपछि पालिकाहरुले विज्ञ समूह बनाएर पाठ्यक्रम निर्माण गरेका बताउँछन् । ‘स्थानीय पाठ्यक्रमको प्रभावकारिता बढिरहेको छ, यहाँका सबै पालिकाले सँगसँगै पाठ्यक्रम निर्माण गरेर लागू गर्नु खुसीको कुरा हो,’ उनले भने ।
    सल्यान जिल्लाको शैक्षिक इतिहास १९७१ सालमा भाषा पाठशालाबाट सुरु भएको हो । त्यसपछि २००८ सालमा त्रिभुवन पब्लिक स्कुलको स्थापना भयो । ३५ वर्ष शिक्षणमा बिताएका शिक्षासेवी तथा शारदा नगरपालिकाको पाठयक्रम निर्माणमा सहयोग पुर्याउने बीरबहादुर सेजुवाल सताब्दी पुरानो शैक्षिक इतिहासमा सल्यानमा पहिलोपटक मौलिक पाठ्यक्रमले नयाँ उर्जा दिएको बताउँछन् । ‘स्थानीय पाठ्यक्रम बालबालिकामात्र होइन, हामी सबैको लागि नौलो कुरा हुन्’ भन्छन्, ‘यसले परम्परागत र घोकन्ते शिक्षालाई विस्थापित गरी व्यवहारिक र जीवनोपयगी शिक्षाको जग बसाल्छ ।’ राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयबस्तुलाई समेट्नु स्थानीय पाठ्यक्रमको उद्देश्य रहेको उनले बताए ।
    सल्यानमा पालिकापिच्छे फरक–फरक स्थानीय पाठ्यक्रम बनाइएका छन् । पालिकाले आप्mनो क्षेत्रभित्र रहेका पर्यटकीयस्थल, भौगोलिक अवस्था, रितिरिवाज, खोलानाला, तालको बारेमा समावेश गरेका छन् । संस्कृित, भूगोल, संस्कार, व्यवसाय, हाम्रो पालिका, व्यवहारिक सिप, विपद, स्वास्थ्य तथा सरसफाई, प्रविधि, सक्षमता, व्यवहारिक लेखनलगायत पाठहरु राखिएका छन् । कक्षा १ देखि ८ सम्म संस्कृतिअन्तर्गत मेला–पर्व, पोसाक, भूगोलअन्तर्गत खोलानाला, ताल, जिमिजग्गा, संस्कारअन्तर्गत विवाह, ब्रतबन्ध, व्यवसायअन्तर्गत स्थानीय उत्पादन, बस्तु, उद्योग, हाम्रो पालिकाअन्तर्गत जनप्रतिनिधिको नाम, प्रशासनिक कामकाज, व्यवहारिक सिपअन्तर्गत अभिवादन, उद्घोषण, नैतिक आचरण, व्यवहार परिवर्तन र लेखनअन्तर्गत लेखनशैली, निवेदन, चिठीपत्र विषयबस्तु समेटिएका छन् । कक्षाको तहअन्तर्गत सामान्यदेखि विस्तृत जानकारी राखिएका छन् ।Salyan 2
    राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका विषयबस्तुलाई समेट्नको लागि सरकारले २०७६ मा स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयन गर्ने नीति ल्याएपछि स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरेका हुन् । अहिले सल्यानका ३ नगरपालिका र ७ गाउँपालिकाले कक्षा ५ सम्म स्थानीय पाठ्क्रयम लागू गरेका छन् । क्रमशः माथिल्लो कक्षामा पनि पाठ्यक्रम विस्तार गर्दै लैजाने तयारी भएको पालिकाहरुको भनाइ भनाइ छ । ‘स्थानीय पाठ्यक्रमले बालबालिकालाई बोझ हुन्छ कि भन्ने लागेको थियो, तर बोझ होइन झन् हल्का बनाएको छ,’ कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले भने, ‘अब संविधानले निर्दिष्ट गरेअनुसार कक्षा ८ सम्मै पाठ्यक्रम निर्माण गरेर लागू गर्नेतर्फ लाग्छौं ।’ स्थानीय पाठ्यक्रमले बालबालिकालाई पालिकाको भूगोल, इतिहास, कला–संस्कृतिबारे जानकारी दिने भएकाले जन्मभूमिप्रति माया बढ्ने उनले बताए । शिक्षकहरुले पाठ्यक्रममा उल्लेख भए अनुसारका शैक्षिक सामग्री बनाएर देखाउँदा थप प्रभावकारी भएको उनको भनाइ छ ।
    राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७६ ले स्थानीय तहमा आधारभूत तह (१–८) सम्म स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेअनुसार सल्यानमा सबैभन्दा पहिले २०७७ मा त्रिबेणी गाउ“पालिकाले स्थानीय पाठयक्रम निर्माण गरी पुस्तक छापेको थियो । पालिकाहरु पठ्यक्रम निर्माण तथा पुस्तक छपाइमा ३ लाखदेखि ३० लाखसम्म खर्च गरेका छन् । जनसेवा माविका प्रधानाध्यापक डम्मरबहादुर थापा पालिकाहरुले आर्थिक लगानी गरेअनुसार बालबालिकामा शिक्षाले गुणात्मक उपलब्धी दिएको बताउँछन् । ‘पहिले बालबालिकाहरु बत्तिमुनिको अँध्यारो झैं थिए, आप्mनै पालिकाको भूगोल, यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकार थिएनन्,’ उनले भने, ‘पाठ्यपुस्तकमा यसबारे उल्लेख भएपछि महत्व बढेको छ, बालबालिकाले चाख लिएर पढ्ने गरेका छन् ।’ आप्mनो गाउँठाउँ, रितिरिबाज, चालचलन, कला–संस्कृतिबारे जानकारी नभई अरुको बारेमा जानकारी लिन कठिन हुने भएकाले पनि स्थानीय पाठ्यक्रमले बालबालिकालाई सहज बनाएको उनले बताए । पालिकाले बनाएको पाठ्यक्रमअनुसार शिक्षकले कम्प्युटरमै पाठ्यसामग्री बनाएर पढाउँदा बालबालिका थप उत्साहित हुने गरेका उनको भनाइ छ । ‘बिगतमा बालबालिकाहरु पढ्नमा खासै रुची देखाउँदैनथे, अहिले देखे–भोगेकै कुराहरु पुस्तकमा भएपछि रमाउँदै पढ्ने गरेका छन्,’ प्रधानाध्यापक थापाले भने, ‘आप्mनो पालिकाको अध्यक्षको नाम भन्न नसक्ने बालबालिकाले अहिले अन्य जनप्रतिनिधिको नाम पनि फटाफट भन्न सक्छन् ।’
    जिल्ला सदरमुकाम खलंगासमेत अवस्थित रहेको शारदा नगरपालिकाले २०७७ मा ‘शारदा सेरोफेरो’ पाठयक्रम प्रकाशन गरी पढाइ सुरु गरेको छ । यो पाठयक्रम अहिले विद्यार्थीको हातमा नभई विद्यालयको शिक्षकको हातहातमा पुगेको छ ।  कक्षागत तहअनुसार पाठ्यबस्तु फरक–फरक रहेका छन् । कक्षा १ को शारदा सेरोफेरोमा मेरो नगरपालिका, वन–जंगल, नदी–खोला, मेरो चाडपर्व, पानीको उपयोग, शारीरिक तथा घर–आँगन सरसफाई, घर वरपर तथा विद्यालय वरपर हुने विपद तथा दुर्घटना, करेसाबारी, नगदेबाली, रैथाने प्रविधि, घरेलु उद्योग, परम्परागत नापतौलका सामग्री, अभिभावकको पेशा शीर्षकमा पाठ्यबस्तु रहेका छन् । कक्षा ५ को शारदा सेरोफेरोमा नगरपालिकाको इतिहास, वन–जंगलको उपयोगिता, मुहान संरक्षण, नदीनालाको फाइदा, चुडाकर्म, संस्कार, वातावरण, सरसफाई, स्वस्थ भोजन, पहिचान, विद्यालय खाजा, योगको महत्व, विपद न्यूनीकरणका उपाय, स्थानीय सिप र प्रविधि, घरेलु सामग्री निर्माण, बाली पकेट क्षेत्र, व्यावसायिक कृषि, बालीमा लाग्ने रोग र नियन्त्रण, रासायनिक मलको प्रयोग, प्राङ्गारिक मलको महत्व, बहुबाली, घुम्ती बाली, आधुनिक तथा रैथाने प्रविधि शीर्षकमा पाठ्यबस्तु रहेका छन् । स्थानीय पाठ्यक्रमअनुसार तयार भएका पाठ्यपुस्तक अहिले शारदा नगरपालिकाका ३ हजार ५ सय बालबालिकाको पहुँचमा पुगेका छन् । नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले यही शैक्षिक सत्रदेखि कक्षा ६ देखि ८ सम्मको पुस्तक तयारी गरी पढाइ सुरु गर्ने जानकारी दिइन् । उनका अनुसार २०७६ मा २ लाख ३० हजार रुपैयाँमा पाठ्यक्रम निर्माण गरी पुस्तक छापिएको थियो । यस वर्ष नयाँ पुस्तक छपाइको लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिइन् । ‘बालबालिकालाई विद्यालयबाटै आप्mनो गाउँठाउँबारे परिचित गराउनुका साथै प्रेमभाव जगाउनु पर्दछ, स्थानीय पाठ्यक्रमले यसमा टेवा पु¥याएका छन्,’ उनले भनिन् ।
    जिल्लाका सबै पालिकाले स्थानीय पाठ्यक्रम बनाए पनि कार्यान्वयनको क्रममा भने केही कमजोरी देखिएका छन् । कुनै पालिकाका सबै विद्यालयले पाठ्यक्रम अनुसार पढाइलाई नियमित गर्न सकेका छैनन् । बन्गाड कुपिण्डे नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले आगामी साउनदेखि सबै विद्यालयमा स्थानीय पाठ्क्रम लागू गर्ने बताए । कुमाख गाउँपालिकाले गत वर्ष नै पाठ्यक्रम निर्माण गरे पनि पुस्तक छपाइमा ढिलाइ हुँदा पठनपाठन प्रभावित भएको छ । गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले पाठ्यक्रम निर्माण भए पनि बजेट अभावमा पुस्तक छाप्न ढिलाइ भएको बताए । ‘अब यही वर्षबाट पुस्तक छपाइ गरेर स्थानीय पाठ्क्रमअनुसार पढाइलाई निरन्तरता दिइनेछ,’ उनले भने ।
    दार्मा गाउँपालिकाले भने पाठ्यपुस्तकमात्र होइन, सन्दर्भ पुस्तक छपाउने तयारी गरेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले २०७७ देखि सबै विद्यालयमा स्थानीय पाठ्यक्रमअनुसार पढाउन थालिएको बताए । उनका अनुसार पालिकाका करिब २ हजार बालबालिका स्थानीय पाठ्यक्रमको पहुँमा पुगेका छन् । बाग्चौर नगरपालिकाले पनि करिब ५ लाख रुपैयाँमा ‘बागचौर सेरोफेरो’ प्रकाशन गरेको छ । शिक्षा शाखा प्रमुख टेकबहादुर डिसीका अनुसार पाठ्यक्रम निर्माणको लागि करिब ५ लाख रुपैयाँ खर्च भएको छ । पालिकाका करिब ३ हजार बालबालिकाले उक्त पुस्तक अध्ययनको मौका पाएका छन् ।
    कपुरकोट गाउँपालिकाले पाठ्यक्रम निर्माण गरे पनि पुस्तक छपाइ गरिसकेको छैन । यद्यपि पालिकाका विद्यालयमा शिक्षकहरुले पाठ्यक्रमअनुसारका शैक्षिक सामग्री बनाएर पढाउन थालिसकेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले आगामी वर्षदेखि पुस्तक छपाएर पढाउने तयारी भइरहेको बताए । पाठ्यक्रम निर्माणको लागि ५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । ‘मुख्य कुरा पाठ्यक्रम निर्माण गर्नु थियो, त्यो काम सम्पन्न भइसकको छ,’ उनले भने, ‘अब पुस्तक छापेर पठनपाठन थप सहज बनाउने छौं ।’
    स्थानीय तहहरुले शिक्षाविद्का साथै लामो समय शिक्षण पेशमा बिताएका अनुभवी शिक्षकहरुको सयोगमा पाठ्यक्रम निर्माण गरेका छन् । त्रिवेणी गाउँपालिकाको पाठ्यक्रम निर्माणमा संलग्न रहेका दामोदर शर्मा २५ वर्षदेखि शिक्षण पेशमा छन् । नेपाल राष्ट्रिय माविका प्रधानाध्यापकसमेत रहेका उनले पछिल्लो पुस्ताले आप्mनै गाउँमा खेतीपाती वा श्रम गर्न बिर्सेकाले उनीहरुलाई लक्षिण गरी स्थानीय पाठ्यक्रम बनाइएको बताए । ‘किसानकै छोराछोरीहरु पढेपछि कृषि होइन अन्य पेशामा लाग्नुपर्छ भन्ने सोच्छन्, हामीले स्थानीय पाठ्यक्रममा यो सोंचलाई परिवर्तन गर्ने प्रयास गरेका छौं,’ उनले भने ।
    स्थानीय पाठ्यक्रममा आप्mनै वरिपरि रहेका विषयबस्तु र आप्mनो गाउँठाउँको बारेमा जान्ने मौका पाएपछि बालबालिकाहरु पनि दंग छन् । उनीहरुले उक्त विषय रुचीपूर्वक पढ्ने गरेका छन् । ४ कक्षामा अध्ययनरत जनसेवा मावि काल्चेकी १० वर्षीया निर्मला बुढाथोकीले पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलका साथै पालिकाले गर्ने काम, जनप्रतिनिधिको परिचयबारे जान्ने मौका पाएको बताइन् । ‘हाम्रै पालिकाभित्र यति राम्रो सिम्ले झरना रहेछ, मलाई त थाहै थिएन,’ उनले भनिन्, ‘सरले ल्यापटपमा फोटो देखउँदै पढाएपछि खुसी लाग्यो ।’ पालिकाभित्रका अन्य ठाउँको बारेका पनि जान्ने मौका मिलेको उनले बताइन् । त्यस्तै कक्षा ५ मा अध्ययनरत त्रिवेणी गाउँपालिका–१ स्थित जनता माविका रमेश सुनारले जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला, पर्वका साथै सोरठी, भ्mयाउरे, टप्पा, सिंगारु नचबारे जान्ने अवसर पाएको बताए । ‘स्थानीय पाठ्यक्रमले हामीलाई कला–संस्कृतिबारे सिकाएको छ, त्रिबेणी तीर्थशाला धामको बारेमा पनि किताबमै जान्ने मौका पायौं,’ उनले भने, ‘हाम्रा किताबमा हाम्रै बारेमा लेखिएको छ, पढ्दा पनि आनन्द आउँछ ।’
    सल्यानमा अझै पनि विद्यालय उमेरका करिब २ हजार बालबालिका शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् । स्थानीय सरकारलाई स्थानीय पाठ्यक्रम कार्यान्वयनसँगै ती बालबालिकालाई विद्यालयमा प्रवेश गराउनुपर्ने चुनौती पनि उत्तिकै रहेको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले पाठ्क्रयमलाई व्यवस्थित गर्दै बालबालिकाको भविष्यसँग जोड्नुपर्ने बताए । ‘विभिन्न कारणले विद्यालयबाहिर रहेका बालबालिकालाई पनि शिक्षाको पहुँचमा पु¥याउनुपर्ने दायित्व पनि उत्तिकै टड्कारो रहेको छ,’ उनले भने, ‘यसको लागि हामीले गहन अध्ययन गरी कार्ययोजना बनाउने छौं ।’

यो सामाग्री सामाजिक विकास मन्त्रालय कर्णालीको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले  प्रकाशन गरेको कर्णाली शिक्षापत्रबाट लिइएको हो ।  

प्रतिक्रिया