पाठ अध्ययन ( Lesson Study) शिक्षकको सहयोगात्मक व्यावहारिक अनुसन्धान प्रक्रिया हो । शिक्षक समूहले साझा शैक्षिक लक्ष्य निर्धारण गरी पाठ योजना बनाउँछन् । त्यसलाई कक्षामा कार्यान्वयन गर्छन् । अवलोकन गर्छन् र प्रतिबिम्बन गरेर सामुहिक प्रयासबाट समस्याको पहिचान गरी शिक्षण प्रक्रियामा सुधार गर्छन् । सहपाठी शिक्षकहरुको स्वप्रयासबाट तत्कालीन शैक्षिक समस्यामा आधारित रहेर कक्षा शिक्षणमा निरन्तर सुधारको कार्य गरिन्छ । यस प्रक्रियाले शिक्षकको पेशागत विकास र विद्यार्थीको सिकाइ उपलब्धिको गुणस्तर पनि बढाउँछ ।
राष्ट्रिय शिक्षा नीति २०७६ ले शिक्षक समूह र सहयोगात्मक शिक्षणलाई प्राथमिकता दिएको छ । यसको मुख्य उद्देश्य शिक्षकको पेशागत विकासको लागि विद्यार्थीको सिकाइ उपलब्धिको गुणस्तरमा वृद्धि गर्नुपर्दछ भन्ने हो । पाठ अध्ययन प्रकृयामा शिक्षकको पेशागत विकास र विद्यार्थीको सिकाइ उपलब्धिलाई केन्द्रमा राखेर अनुसन्धानात्मक शिक्षण योजना बनाइन्छ । शिक्षण सिकाइ प्रक्रियालाई सहपाठी शिक्षकहरुको सामुहिक प्रयासबाट निरन्तर सुधार गर्न सकिने भएकाले पाठ अध्यनले शिक्षकहरूलाई पेशागत रूपमा सक्षम र विद्यार्थीको सिकाइ उपलब्धिलाई गहन, अर्थपूर्ण र प्रभावकारी बनाउँछ ।
शिक्षक पेशागत विकास प्रारूप २०८० ले उल्लेख गरेको शिक्षकको पेशागत विकासका विधिहरु मध्ये एक महिने सेवा प्रवेश तालिम, प्रमाणीकरण तालिम र छोटो अवधिको कस्टमाइज तालिम कार्यक्रमहरू तालिम केन्द्र तथा विज्ञ प्रशिक्षकमा आधारित छन् । यस्तै शिक्षक मेण्टरिङ, पाठ अध्ययन, स्वनिर्देशित सिकाइ, कार्यमूलक अनुसन्धान, सिकाइ सञ्जाल, सहपाठी कक्षा अवलोकन र स्वमूल्याङ्कन जस्ता विधिहरु सहपाठी शिक्षककै समन्वय र सहकार्यमा प्रभावकारी रूपबाट कार्यान्वयन हुने देखिन्छ ।
सहकर्मी शिक्षकको अनुभव आदान प्रदान र समस्यामा आधारित भएर व्यक्तिगत खोज अनुसन्धानबाट शिक्षण सहकार्यको विकास गरी कक्षा कोठामै समस्याको समाधान निकालिने भएकाले व्यवहारिक र नतिजामूलक हुने देखिन्छ । सेवा प्रवेश, प्रमाणीकरण र कस्टमाइज तालिम बाहेकका अन्य पेशागत विकासका विधि पाठ अध्ययनमा आधारित भएर सहकार्यत्मक संस्कृतिको विकास गरी सञ्चालन गर्न सहज हुने देखिन्छ ।
शिक्षकको शिक्षण कार्य नतिजामूलक र विद्यार्थीको सिकाइ प्रक्रिया उपलब्धिमूलक भए मात्र गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्छ । विद्यालय तहको शिक्षण सिकाइ प्रक्रियामा शिक्षकको सहकार्यात्मक संस्कृतिको अभाव, विद्यार्थी केन्द्रित शिक्षण प्रकृयाको प्रभाव र पाठ्यक्रम कार्यान्वयनमा हुने ढिलाइ जस्ता समस्याहरुले शिक्षकको पेशागत विकासमा समेत असर पार्ने गरेको छ । यी समस्याहरुको समाधानका लागि पाठ अध्ययन प्रक्रियाको माध्यमबाट सहयोगात्मक, व्यावहारिक र विद्यार्थी केन्द्रित शिक्षण पद्दति अपनाएर शैक्षिक सहकार्यलाई शिक्षकको पेशागत विकासको माध्यमबाट व्यवस्थिति गर्न सकिन्छ ।
शिक्षकको पेशागत विकास सहयोग, सहकार्य र सामूहिक चिन्तनबाट हुन्छ । पाठ अध्ययन यही सिद्धान्तमा आधारित छ । शिक्षकहरू समूह बनाएर पाठ योजना बनाउँछन्, अवलोकन गर्छन् र प्रतिबिम्बन निकाल्छन् ।
जापानबाट सुरु भएको पाठ अध्ययन प्रक्रियाले जापानलाई विश्वकै उच्च सिकाइ उपलब्धि (PISA) हासिल गर्न मद्दत गरेको छ । १९९० को दशकदेखि यो अमेरिका, युरोप र एसियाका धेरै देशहरूमा फैलिएको छ । नेपालमा पनि शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरु, सामुदायिक विद्यालय सवलीकरणका कार्यक्रमहरु र शिक्षक प्रशिक्षणका कार्यक्रमहरू मार्फत शैक्षिक सुधारका लागि पाठ अध्ययनको महत्व बढ्दै गएको छ । पाठ अध्ययन प्रक्रियाले शिक्षकलाई समूहमा काम गर्न, आफ्नो शिक्षण कार्यको प्रतिबिम्बन गर्न र विद्यार्थीको सिकाइलाई केन्द्रमा राखेर निरन्तर सुधार गर्न प्रेरित गर्छ ।
जापानमा पाठ अध्ययन विद्यालयको सामान्य शैक्षिक संस्कृति बनेको छ । अमेरिकामा Lesson Study Alliance ले शिक्षकलाई प्रशिक्षण दिन्छ । थाइल्याण्ड, भारत, इण्डोनेशियाले पनि आफ्नो शैक्षिक सन्दर्भमा पाठ अध्ययन प्रक्रिया अपनाएका छन् । नेपालमा पनि पाठ अध्ययन प्रक्रियालाई शैक्षिक गुणस्तर वृद्धिका लागि सहपाठी शिक्षकको समन्वय र सहकार्यत्मक सहयोग निरन्तर रहने गरी शिक्षण विधि र प्रविधिको रुपमा विकास गरिनु पर्दछ ।
नेपालमा पाठ अध्ययन प्रक्रियाको महत्व
नेपालमा उच्च तहको शिक्षा अन्तर्गतको शिक्षक शिक्षा प्रक्रिया नै बहुरूपको छ । विश्वविद्यालयहरुले प्रतिपादित कठोर सिद्धान्त र नियमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सकिरहेको छैन । उच्च शिक्षाका शिक्षक उत्पादन गर्ने स्नातक तथा स्नातकोत्तर तहका शिक्षाशास्त्र संकायका शिक्षक लक्षित पाठ्यक्रम परीक्षा केन्द्रित बृहत सूचनामूलक मात्र छन् । ती पाठ्यक्रमले दिने सूचना भन्दा आर्टिफिसियल इण्टलिजेन्सबाट प्राप्त गरिने सूचनाहरू झनै स्तरीय, छिटो प्राप्त हुने र अझ व्यवस्थित छन् । ती पाठ्यक्रमहरूले भविष्य र वर्तमानलाई छुट्याउन सकिरहेका छैनन् । परम्परागत दर्शन, कठोर नियम र सिद्धान्तलाई मात्र महत्व दिँदा पाठ्यक्रमहरू अव्यवहारिक भए । प्रयोगात्मक र परियोजनात्मक कार्यहरू सैद्धान्तिक ज्ञानका भरिया भए । विश्वविद्यालयहरूमा विद्यार्थीले बुझाउने अनुसन्धानात्मक थेसिसहरु शिक्षकले विद्यार्थीबाट सलामी प्राप्त गर्ने आत्मकेन्द्रित सिद्धान्तको चाङ बनिरहँदा शैक्षिक रूपान्तरणको नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेन । लामो समयसम्म पाठ्यक्रम परिवर्तन नगरिनु र शिक्षकको सहजताको लागि कठोर सैद्धान्तिक परीक्षालाई महत्व दिइरहँदा उच्च तहदेखि नै विद्यालय तह सम्मका परीक्षामा अत्यधिक अनियमितता हुने गरेको पाइन्छ । वार्षिक परीक्षा र त्यसमा पनि परीक्षाको गलत धारणा र प्रयोगले विद्यार्थीको पठन संस्कृतिको नै अन्त्य हुने सम्भावना बढी रहेको छ । विद्यालय तहको परीक्षामा समेत फरक पन हुन नसक्नु चिन्ताको विषय भएको छ ।
विद्यालय तहको शिक्षक व्यवस्थापनमा पनि कोही करार तथा अस्थाई प्रक्रियाबाट प्रवेश गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने, कोही खुल्ला र कोटा प्रणालीबाट स्थायी बने भने अझै पनि कसैको कोटा तथा प्राथमिकतामा पर्न नसकेका धेरै शिक्षक विभिन्न नामका अस्थायी तथा करार शिक्षकको रूपमा कार्यरत छन् । विद्यालय शिक्षामा पनि शिक्षक व्यवस्थापनमा समेत एकरूपता कायम हुन सकेन ।
विद्यालय शिक्षामा गुणात्मक परिवर्तन ल्याउन पाठ अध्ययन अत्यन्तै प्रभावकारी, व्यावहारिक र सन्दर्भगत शैक्षिक उपाय हो । विद्यालयलाई सहयोगात्मक सिकाइ संस्कृतिको केन्द्र बनाउन मद्दत गर्छ ।
शिक्षा क्षेत्रमा रहेका नीतिगत,संस्थागत र व्यावहारजन्य कमजोरीले विद्यमान समस्याहरु जटिल बन्दै छन् । वैज्ञानिक, व्यवहारिक र सीपमूलक शिक्षा विभिन्न स्वार्थ समूह र शैक्षिक माफियाहरूको कारण सहज छैन । शैक्षिक रूपान्तरण हुने धरातल अत्यन्तै कमजोर छ । यी समस्याहरूलाई सामुदायिक विद्यालयमा राजनीतिसँग जोडेर जटिल बनाइएको छ । नीतिगत अस्पष्टताले उत्पन्न गरेको कमजोर विद्यालय नेतृत्वले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सक्ने अवस्था अत्यन्त न्यून छ । नेपाल जस्तो कमजोर शैक्षिक धरातल र बलियो सामाजिक द्वन्द्वले उत्पन्न गरेको नकारात्मक चिन्तन र आलोचनात्मक सोचमा परिवर्तन गरी समन्वय, सहयोग र सहकार्यत्मक संस्कृतिको विकास गर्न पाठ अध्ययन उपयोगी र महत्वपूर्ण हुने देखिन्छ ।
सैद्धान्तिक उपयोग
शिक्षकको पेशागत विकास सहयोग, सहकार्य र सामूहिक चिन्तनबाट हुन्छ । पाठ अध्ययन यही सिद्धान्तमा आधारित छ । शिक्षकहरू समूह बनाएर पाठ योजना बनाउँछन्, अवलोकन गर्छन् र प्रतिबिम्बन निकाल्छन् । यसको लागि निम्न सैद्धान्तिक अवस्थाको उपयोग गरिन्छ ।
(१) सहकार्यात्मक शिक्षण सिद्धान्त : (Collaborative Learning Theory) Vygotsky, Johnson &Johnson ले प्रभावकारी सिकाइ सहकार्यबाट हुन्छ भनी उल्लेख गरे । शिक्षकको सामूहिक प्रयासले सिकाइ समस्या समाधान र रणनीतिक सुधारलाई सहज बनाउँछ । नेपालको विद्यालय सुधार योजना (SIP), शिक्षक अभिमुखीकरण कार्यक्रमहरू, र School as Learning Community अवधारणा सहकार्यात्मक सिकाइ दृष्टिकोण हुन् ।
(२) विद्यार्थी केन्द्रित शिक्षण सिद्धान्त : (Learner-CenteredPedagogy) शिक्षण प्रक्रिया विद्यार्थीको अनुभव, रुचि, क्षमता र सिकाइ शैलीमा केन्द्रित हुनुपर्छ । पाठ अध्ययनमा अवलोकनकर्ताले शिक्षकलाई होइन, विद्यार्थीलाई अवलोकन गर्छन् । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले विद्यार्थी केन्द्रित, अनुभवमूलक र समावेशी शिक्षणलाई महत्व दिएको छ । पाठ अध्ययन यही दिशालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने उपकरण हो ।
(३) अनुभववादी शिक्षण सिद्धान्त : David Kolb -1984 ले सिकाइ अनुभव, प्रतिबिम्बन, अमूर्त अवधारणा र सक्रिय परीक्षणको चक्रबाट हुन्छ भनी व्याख्या गरेका छन् । पाठ अध्ययनले यही चक्रलाई अपनाउँछ ।
(४) प्रतिबिम्बात्मक अभ्यास सिद्धान्त : Donald Schon 1983 अनुसार शिक्षकले आफ्नै व्यवहार, निर्णय र शिक्षण अभ्यासमाथि निरन्तर तर्क, वितर्क र पुनरावलोकन गर्नुपर्छ । पाठ अध्ययनमा प्रत्येक चरणपछि प्रतिबिम्बन हुन्छ । शिक्षकको पेशागत विकास प्रारूप २०८० मा शिक्षकको पेशागत विकासको लागि प्रतिबिम्बनलाई जोड दिएको छ ।
यी सिद्धान्तहरूको एकीकृत प्रयोगले शिक्षक र विद्यार्थी दुबैमा सक्रिय, समालोचनात्मक र सहकार्यात्मक सिकाइको संस्कार निर्माण गर्न सहयोग पुर्याउँछ । नेपालको शिक्षण प्रणाली सक्षमतामा आधारित, सिकारू केन्द्रित, प्रतिविम्बनात्मक र सहकार्यात्मक प्रकृतिको भएकाले शैक्षिक रूपान्तरणको चरणमा पाठ अध्ययन प्रक्रिया उपलब्धिमूलक हुने देखिन्छ । राष्ट्रिय शिक्षा नीति २०७६ र विद्यालय क्षेत्र शिक्षा योजना (SSEP) दुबैमा शिक्षकको निरन्तर पेशागत विकासलाई प्राथमिकता दिइएको छ । पाठ अध्ययनले यी नीतिगत प्रयोजनहरूलाई व्यवहारमा उतार्ने सशक्त माध्यम प्रदान गर्छ ।
पाठ अध्ययनको प्रक्रिया
पाठ अध्ययन एउटा चक्रीय (cyclic) र सहयोगात्मक प्रक्रिया हो । समस्याको समाधान नभएसम्म सहपाठी शिक्षकको सहयोगमा शिक्षण सुधारको लागि चक्र दोहोर्याईन्छ ।
पाठ अध्ययन निरन्तर शिक्षण सिकाइ सुधार र शिक्षकको पेशागत विकासको चक्र हो । शिक्षकले एकअर्काको पाठ अवलोकन गरेर नयाँ शिक्षण रणनीति, विधि, प्रक्रिया, तरिका र कक्षा व्यवस्थापन आदि सिक्छन् । आफ्नो शिक्षण प्रति आत्मसचेतना बढ्छ । शिक्षकबीच विश्वास, सहयोग र साझा जिम्मेवारीको भावना विकसित हुन्छ । म एक्लै शिक्षक होइन, हामी सबै शिक्षक हौँ भन्ने मानसिकताको विकास हुन्छ ।
पाठ अध्ययन पुनरावृत्ति प्रक्रिया भएकाले शिक्षण कार्यलाई निरन्तर सुधारको प्रक्रियामा राख्छ । यसलाई कुनै विशेष प्रविधि वा बृहत बजेटको आवश्यकता नहुने भएकाले शिक्षकले अनुसन्धानकर्ताको भूमिका निर्माण गर्छन् ।
निष्कर्ष
विद्यालय शिक्षामा गुणात्मक परिवर्तन ल्याउन पाठ अध्ययन अत्यन्तै प्रभावकारी, व्यावहारिक र सन्दर्भगत शैक्षिक उपाय हो । विद्यालयलाई सहयोगात्मक सिकाइ संस्कृतिको केन्द्र बनाउन मद्दत गर्छ । पाठ अध्ययन शिक्षण विधि मात्र होइन यो शिक्षा प्रतिको दर्शन पनि हो । शिक्षण भनेको विद्यार्थीलाई के सिकाउने होइन र विद्यार्थीले के सिक्यो भन्नेले मात्र पनि सिकाइको चक्र पूरा हुँदैन । यसको लागि समन्वय र सहकार्यत्मक कार्यबाट हुने सिकाइको आदानप्रदानले मात्र सिकाइ जीवन्त बन्छ ।
– सिकाइमा दोहोरो सञ्चारको लागि विद्यार्थी किताब पढ्ने र शिक्षक पनि त्यही किताब पढाउने परम्परागत मान्यताबाट परिवर्तन गर्ने ।
– शिक्षकले विद्यार्थीको सिर्जनात्मकता पढ्ने र परियोजनामा आधारित समस्यामूलक वातावरण तयार गर्ने ।
– विद्यार्थीले समस्याको समाधान गरी आफ्नो क्षमताको निरन्तर परीक्षण गरी सिकाइलाई जीवन्त बनाउने ।
यसका लागि शिक्षा प्रणालीमा पाठ अध्ययनलाई शिक्षण गतिविधिको रूपमा मात्र सीमित नगरी शैक्षिक सुधारको मूल आधार को रूपमा समेत अपनाउन सकिन्छ ।
सिङ्गापुरले आफ्नो विकासोन्मुख अर्थतन्त्रलाई शिक्षासँग जोडेको छ भने फिनल्याण्डले आधुनिक समाज निर्माणमा शिक्षाको भूमिकालाई प्राथमिकता दिएको छ । नेपालमा पनि शिक्षामा आमूल परिवर्तन गर्न दिगो राजनीतिक नेतृत्व र दीर्घकालीन योजना आवश्यक छ । क्यानाडाको ओण्टारियो जस्ता स्थानहरूमा सबै सरोकारवालाहरूलाई समेटेर शैक्षिक योजना निर्माण र कार्यान्वयन गरिन्छ । विकसित तथा विकासउन्मुख देशहरूले राष्ट्रिय आवश्यकतालाई महत्व दिएर विश्वव्यापी र स्पष्ट शैक्षिक मापदण्ड तय गरेका छन् । शैक्षिक सुधार दीर्घकालीन प्रक्रिया हो । यो आजको भोलि वा एकै वर्षमा हुने र पाइने परिवर्तन होइन । शैक्षिक रुपान्तरणको लागि स्पष्ट दूरदृष्टि भएको दिगो राजनीतिक, शैक्षिक तथा प्रशासनिक नेतृत्वको इच्छा शक्ति निरन्तर आवश्यक हुन्छ । तसर्थ सरोकारवालाहरूको सहकार्यात्मक शैक्षिक समन्वय तथा सहयोगबाट मात्र शैक्षिक सुधार सम्भव हुने भएकोले यसको लागि पाठ अध्ययनलाई प्रभावकारी शैक्षिक साधनको रुपमा निरन्तर उपयोग गर्न सकिन्छ ।
नेपाली शिक्षकहरू प्रायः एक्लै कार्य गर्न रुचाउने, समूहमा कार्य गर्न नचाहने र परम्परागत शिक्षाको दम्भले अफूलाई सर्वगुण सम्पन्न मान्ने प्रवृत्तिले गर्दा शिक्षण सहकार्यको संस्कृति कमजोर छ । त्यसैले सहपाठी सहयोगको आदन प्रदानबाट शैक्षिक प्रक्रियामा गुणात्मक परिवर्तनको लागि पाठ अध्ययन प्रभावकारी साधन बन्न सक्छ ।
शिक्षकलाई परम्परावादी र विद्यार्थीलाई किताबको भरिया मात्र बनाउने परम्परागत कठोर प्रकृतिका वर्तमान पाठ्यक्रमहरूले विद्यार्थीको रचनात्मक र सिर्जनात्मक क्षमताको मूल्याङ्कन गर्न सकेन । विज्ञानलाई सिद्धान्तसँग, गणितलाई सूत्रसँग, भाषालाई व्याकरणसँग र समाजलाई शक्तिसँग मात्र तुलना गरी तयार गरिएको सक्षमतामा आधारित पाठ्यक्रमले सीप बिहीन शैक्षिक वेरोजगार जनशक्ति उत्पादन गर्यो ।
पारिवारिक तथा सामुदायिक स्वास्थ्य, अर्थतन्त्र, कृषि, पशुपालन व्यवसाय र स्थानीय बजार जस्ता अति सामान्य विषयको व्यवहारिक ज्ञान दिएर प्रयोगात्मक सीपको विकास हाम्रा पाठ्यक्रमहरूले गर्न सकेको देखिँदैन । विद्यालयका सैद्धान्तिक किताबका भारीले थिचिएर उठ्नै नदिने सिपविहीन शिक्षा र अव्यवहारिक सैद्धान्तिक ज्ञानहरु निश्चित तह पार गरेपछि विस्मरण लक्षित मात्र छन् । कामको बजारसँग नजोडिएको पाठ्यक्रमले ठूलो संख्यामा सीप विहीन शिक्षित बेरोजगार उत्पादन गरिरहेको छ । सैद्धान्तिक पाठ्यक्रमको कारण पाठ अध्ययन जस्ता स्वप्रयत्नमा आधारित शिक्षण प्रक्रिया उपलब्धिमूलक हुन सक्ने अवस्था छैन । तर पनि सहकर्मी शिक्षकहरुको आपसी समन्वय र सहकार्यबाट शैक्षिक प्रक्रियाको रुपमा पाठ अध्ययनलाई उपयोग गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न सकिने सम्भावना छ ।
माध्यमिक तहका शिक्षक कोइराला, नेपाल शिक्षक महासंघ - गोलञ्जोर गाउँपालिका, सिन्धुलीका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया