कुनै पनि देशको वर्तमान र भविष्य त्यस देशको शिक्षाको अवस्थाले देखाउँछ । शिक्षा व्यक्ति भित्र रहेको सम्भावनालाई उजागर गर्ने, विवेकशील सोच विकास गर्ने र जिम्मेवार नागरिक निर्माण गर्ने सामाजिक प्रकृया हो । यो प्रकृयामा शिक्षालाई पाठ्यक्रमको सीमा भित्र मात्र सिमित गरिनु हुँदैन । शिक्षा विद्यार्थीको सोच बदल्ने, आत्मविश्वास जगाउने, र जीवनसंग मेलखाने खालको हुनु पर्दछ ।
अहिले विज्ञान र प्रविधिमा भइरहेको तीव्र विकासले समाज बदलिएको छ । यस सन्दर्भमा आजको विद्यालय शिक्षाले समयको वेगलाई पच्छ्याउनु पर्दछ । शिक्षाविद् मारिया मण्टेसरीको शब्दमा ‘बच्चालाई पाठ्यक्रममा होइन, समय र समाजको आवश्यकता अनुसार तयार पार्नु पर्दछ, भन्ने छ ।’ समय र समाजको आवश्यकता अनुसार शिक्षित जनशक्ति उत्पादन गर्न राज्यले शिक्षामा ठुलो लगानी गरेको छ, तापनि त्यसको प्रतिफल समाज र राष्ट्रले अनुभूति गर्न सकेको अवस्था छैन । हाम्रा विद्यालयहरु समय सापेक्ष रुपान्तरण हुन सकेका छैनन् ।
समय सापेक्ष विद्यालयको कुरा गर्दा विद्यार्थीमा सोच्ने क्षमताको विकास, प्रश्न गर्ने तार्किक क्षमताशक्ति, समस्या समाधान गर्ने सीप तथा सहकार्यको संस्कार जस्ता गुणहरु भएका विद्यार्थी उत्पादन भए की भएनन् भन्ने बिषयसंग जोडिन पुग्दछ । अमेरीकी शिक्षाविद् जोन डिवे भन्छन्, ‘हिजोको तरिकाले आजका विद्यार्थीलाई पढायौँ भने हामीले उनीहरुको भोलि खोसिरहेका हुन्छौँ ।’ डिवेको यो भनाईले हाम्रो वर्तमान शिक्षण पद्दतिका बारेमा गम्भीर प्रश्न उठाउँछ । आजका विद्यार्थी डिजीटल युगमा हुर्कीईरहेका छन्, जहाँ सोच्ने तरिका, सिक्ने शैली र आवश्यक सीपहरु पहिले भन्दा फरक भैईसकेका छन् ।
विद्यालय शिक्षामा सुधार हुनु पर्ने कुरा धेरै अगाडिदेखि वहसको बिषय बनेको छ । परन्तु सुधार गर्ने वैज्ञानिक तथा व्यबहारिक पक्षहरु प्रष्ट रुपमा आउन सकेको छैन । कुनै पनि समस्याको जरो नभेटाईकन उपचार सम्भव हुँदैन । विद्यालयको शिक्षा अब्बल हुन नसक्नुका धेरै कारणहरु मध्ये राज्यको भूमिका, शिक्षक क्षमता र अभिभावकको उदासिनता प्रमुख रुपमा रहेको विज्ञहरु बताउँछन् ।
उल्लेखित कारणहरुका अतिरिक्त विद्यालयहरुमा पूर्वाधारको कमी, समय सापेक्ष पाठ्यक्रमको अभाव, अवैज्ञानिक मूल्याङ्कन प्रणाली, कमजोर नियमन, नियन्त्रण र निर्देशन जस्ता कुराहरुले पनि काम गरेको पाइन्छ । विज्ञहरुले भने झंै सामुदायिक विद्यालयहरुको अवस्था उकास्नको लागि राज्य, शिक्षक तथा अभिभावले प्रभावकारी भूमिका खेलेमा यही त्रिपक्षीय प्रयासले अन्य समस्याहरु समाधान हुनसक्ने देखिन्छ ।
शिक्षा कुनै साधारण प्रकृया होइन, यो राष्ट्र निर्माणको आधार हो । विद्यालय शिक्षालाई समय सापेक्ष बनाउन राज्यको पहल, दृढ सङ्कल्प, प्रष्ट दृष्किोण तथा जवाफदेहीता चाहिन्छ । राज्यको कर्तव्य केवल बजेट छुट्याउने र नियम बनाउने काममा मात्र सिमित हुनु हुुँदैन । राज्यको कार्यशैली परिणाममुखी हुनु पर्दछ । आज कक्षा कोठामा दिइने शिक्षाले भोलिको समाज, शासन र राष्ट्रिय चरित्रको दिशा तय गर्दछ । यस सन्दर्भमा वेलायती राजनितिज्ञ तथा लेखक विन्स्टन चर्चिल भन्छन्, कुनै पनि राष्ट्रको भविष्य उसका कक्षा कोठमै निर्माण हुन्छ ।’ उनको भनाइको आशयले समाजका विद्यालयहरु कमजोर भएमा राष्ट्रको भविष्य उज्वल हुन सक्दैन, भन्ने दृष्टिकोण राख्दछ ।
विद्यालयहरु केवल पाठ्यपुस्तक पढाउने संस्था मात्र होइनन् । मानव मष्तिष्कमा सोच्न सक्ने, प्रश्न गर्न सक्ने र विवेकपूर्ण निर्णय लिनसक्ने नागरिक उत्पादन गर्ने प्रयोगशाला हुन् । यी प्रयोगशालाहरुमा बालबालिकाहरुको मगजमा ज्ञान मात्र होइन, सामाजिक मूल्य, अनुशासन, सहअस्तित्व र सिर्जनशीलताको बिउ रोप्न सक्नु पर्दछ । यसको लागि राज्यले गुणस्तरीय शिक्षक व्यवस्थापन, नियमित तालिम, विद्यालयमा जवाफदेही शैक्षिक नेतृत्व, भौतिक पूर्वाधारको विकास लगायतका क्षेत्रमा दुरदृष्टिका साथ काम गर्नु पर्ने देखिन्छ ।
शिक्षा कागजी ज्ञान र प्रमाणपत्र वितरणमा सिमित हुनु हुँदैन । गान्धीका शब्दमा ‘साँचो शिक्षा समाजको परिवेश र पेशासंग मेल खाने हुनु पर्दछ, भन्ने छ ।’ हाम्रो देशको सन्दर्भमा शिक्षा गान्धीको भनाईसंग मेल खाँदैन । जब विद्यार्थीले विद्यालयमा जीवन उपयोगी सीप सिक्ने अवसर प्राप्त गर्दछन्, तब शिक्षा रोजगारमैत्री बन्न सक्दछ । तहगत पाठ्यक्रम तथा पाठ्यपुस्तकमा सैद्धान्तिक ज्ञानसंगै पेशागत ज्ञान, सीप र व्यवहारिक अभ्यासलाई प्राथमिकता दिनु पर्दछ । यसको लागि समय सापेक्ष पाठ्यक्रम, व्यवहारिक सिकाइ, प्रयोगात्मक अभ्यास आवश्यक ठानिन्छ ।
राज्यको भूमिकाको अतिरिक्त विद्यालय शिक्षा सुधारमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण ठानिन्छ । शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइनन्,उनीहरु विद्यार्थीका सोच, चरित्र, सीप र भविष्य निर्माण गर्ने व्यक्ति हुन् । कार्ल मेनिङ्गरका शब्दमा शिक्षकको व्यक्तित्व र दृष्टिकोण शिक्षकले दिने पाठ भन्दा महत्वपूर्ण हुन्छ ।
शिक्षक प्राज्ञिक व्यक्ति भएकोले उसमा आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, असल चरित्र, आत्म विश्वास, नेतृत्व सीप, विनोद प्रियता, स्पष्टवक्ता, सहयोगी, विनयशील तथा शिक्षण कलामा प्रवीण जस्ता व्यक्तिगत तथा पेशागत गुणहरु आवश्यक ठानिन्छ ।
शिक्षण सिकाइको सन्दर्भमा पाउलो फ्रेरे भन्छन्, ‘शिक्षण प्रेमको कार्य हो ।’ प्रेम व्यबहारसंग जोडिन्छ । शिक्षण केवल पाठय्वस्तु हस्तान्तरण गर्ने कार्य मात्र होइन, शिक्षक र विद्याार्थी बीचको मानवीय सम्बन्ध पनि हो । जब शिक्षकले विद्यार्थीलाई सम्मान र विश्वासका साथ शिक्षण गर्दछन् , तब विद्यार्थीमा प्रश्न गर्ने शाहस, सोच्ने स्वतन्त्रता र आत्मविश्वासमा बृद्धि हुन्छ । प्रेम विहिन शिक्षण यान्त्रिक बन्दछ भने प्रेम सहितको शिक्षणले व्यक्तित्व निर्माण गर्दछ । पढाई लेखाईप्रति रुची बढाउँछ । प्रेरणा जगाउँछ ।
हाम्रो शिक्षण सिकाइ पद्दती रटान गर्ने, परीक्षामुखी र शिक्षक केन्द्रीत ढाँचाबाट बाहिर आउन सकेको छैन । शिक्षण सिकाइलाई समय सापेक्ष बनाउनको लागि राज्यले ठूलो लगानी गरेर बिषयगत शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । तर तालिममा सिकेका ज्ञान तथा सीपहरु कक्षा कोठामा लागु हुन नसकेको तथ्याङ्कहरुले बताउँछन् । अहिलेको डिजिटल युगका विद्यार्थीलाई पुरानो पाठ्यक्रम र शास्त्रीय शैलीको शिक्षण विधिमा बाँध्दा उनीहरु सिर्जनशील तथा प्रतिष्पर्धी बन्न सक्दैनन् । यसर्थ शिक्षण विधि विद्यार्थी केन्द्रीत, व्यवहारिक र प्रविधि मैत्री हुनु पर्दछ ।
अमेरिकन शिक्षाविद् ब्राड हेनरीले एक उत्कृष्ट शिक्षकले आशा जगाउँछ, कल्पनाशीलता प्रज्वलित गर्छ र अध्ययन प्रति प्रेम जगाउँछ, भन्छन् । विद्यालय शिक्षा कलिला बालबालिकाहरुका लागि सूचनात्मक जानकारी संकलन गर्ने माध्यम मात्र बन्नु हुँदैन । जीवनलाई प्रेरित गर्ने एक उत्साहप्रद यात्रा बन्नु पर्दछ । जसको नेतृत्व शिक्षकहरुले गर्नु पर्दछ । जब शिक्षकले आशा जगाउँछन्, तब विद्यार्थीमा शिक्षा आर्जन गर्ने प्रेरणा जाग्दछ । उत्साह थपिन्छ । सिर्जनशीलता जन्मिन्छ । सिर्जनशीलताले व्यक्तिलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा अनुकुलन हुन सिकाउँछ ।
विद्यालयले बालमन र आचरणलाई समाजसँग परिचत गराउँदै सत्य, असत्य छुट्याउन, अधिकार र कर्तव्य बुझ्न र सामुहिक जीवनका मूल्य र मान्यतालाई आत्मसात् गर्न सहयोग मात्र होइन, मार्ग निर्देश गर्नु पर्दछ । कार्ल मेनिङ्गरका शब्दमा शिक्षकको व्यक्तित्व र दृष्टिकोण शिक्षकले दिने पाठ भन्दा महत्वपूर्ण हुन्छ, भन्ने छ । शिक्षण भनेको केवल बिषय पढाउनु मात्र होइन, सकारात्मक, संवेदनशील र प्रेरणादायी दृष्टिकोण भएका शिक्षकहरुले कक्षा जीवन्त बनाउन सक्छन् ।
आइन्सटाइनले शिक्षा तथ्य कठस्थ गर्न होइन, यसले सोच्न सक्ने मस्तिष्क निर्माण गर्नु हो, भन्छन् । शिक्षकले आइन्सटाइनको उल्लेखित भनाइलार्ई विद्यालयका कक्षा कोठाहरुमा लागु गर्नु पर्दछ । त्यसो त विद्यालय शिक्षाको सुधारमा शिक्षकहरुको प्रयत्न मात्र पर्याप्त हुँदैन । यस कार्यमा अभिभावकहरुको भूमिका पनि त्यत्ति कै महत्वपूर्ण छ । अमेरिकी शिक्षाविद् जोयस एपस्टिन भन्छन्, ‘विद्यालयले एक्लै सुधार गर्न सक्दैन, अभिभावक सिकाइका साझेदार हुनु पर्दछ ।’ जोयसको भनाईसँग मेल खाने मरिया मण्टेसरीको पनि भनाइ छ । उनी भन्छिन्,‘घर नै बालवालिकाको प्राकृतिक सिकाइ वातावरणको पहिलो स्थान भएकोले घरलाई पहिलो विद्यालय र अभिभावकलाई पहिलो शिक्षकको रुपमा लिइन्छ ।’
जोयस र मण्टेसरीको भनाईलाई आधार मानेर हेर्दा शिक्षा विद्यालयमा मात्र आर्जन हुन सक्दैन । अभिभावकको महत्वलाई बाल मनोचिकित्सक जेम्स पि कोमर भन्छन,‘शिक्षामा अभिभावकको संलग्नताले बालबालिकाको शैक्षिक सफलतामा गहिरो र निार्णायक प्रभाव पार्दछ ।’ कोमरको भनाईसंग मेल खाने शिक्षाविद् जोन डिबेको पनि भनाई छ । उनी भन्छन्, ‘बालकको शिक्षा विद्यालय र परिवारको साझा जिम्मेवारी हो ।’
उल्लेखित भनाईहरु हाम्रो समाजको सन्दर्भमा मेल खाएको छ त ?
विद्यालय समाजको ऐना हो भने यो ऐनालाई उज्यालो बनाउने जिम्मेवारी राज्य, शिक्षक र अभिभावकको हो । राज्यले नीति, स्रोत र न्यायपूर्ण वातावरण बनाउनु पर्दछ भने शिक्षकले विद्यार्थीलाई ज्ञान, मूल्य र जीवनदृष्टि दिनु पर्दछ । अभिभावकले विद्यालय र बालबालिकाहरुसंग सहकार्य गर्नु पर्दछ । यी तीनै पक्ष एक अर्काबाट टुटे भने शिक्षा लथालिङ्ग हुन्छ । विद्यालय समाजको विकृति देखाउने ऐना बन्दछ । त्यसैले विद्यालय सुधार गर्न राज्य, शिक्षक र अभिभावकको त्रिपक्षीय सहकार्य अनिवार्य शर्त हो ।
प्रतिक्रिया