Edukhabar
शुक्रबार, २४ असोज २०८२
विचार / विमर्श

यत्ति बुझ्ने हो भने कत्ति हुन्थ्यो

प्रविधि, पहुँच र प्रणालीकै कारण शिक्षा क्षेत्रमा जारी असमानता हटाउने तर्फ जेन जीको बिद्रोह केन्द्रित हुन सक्नु पर्छ ।

विहीबार, २३ असोज २०८२

वृहत्तर रुपमा विश्लेषण गर्ने हो भने समय र अनुभव अनुशासन, तालिम, निर्देशन,  हुर्काइ र सिकाइ संस्कार आदि स्कुलिङका आधार हुन् । कक्षामा पढाइ, परीक्षा, शिक्षक–विद्यार्थीको अन्तरक्रिया, पाठ्यक्रम विद्यालयमा हुने विविध गतिविधिहरू समेत सामेल हुन्छन् ।

जेन जी पुस्ताको स्कुलिङ विशेष र फरक किसिमको छ । जेन जीलाई “डिजिटल नेटिभ” पनि भनिन्छ किन भने उनीहरूले बाल्यकालदेखि इण्टरनेट, स्मार्टफोन, कम्प्युटर र सामाजिक सञ्जाल प्रयोग गरेका छन् । उनीहरु किताबसँगै अनलाइन लर्निङ, गूगल, युट्युब, ई लर्निङ प्लेटफर्म बढी प्रयोग गर्छन् । 

अहिलेको सिकाइ शैली खास प्रकारको हुन्छ ।

उनीहरू दृश्य र अन्तरकृयात्मक सिकाइ बढी मन पराउँछन् । छोटो समयमा धेरै जानकारी ग्रहण गर्ने बानी भएकाले सुक्ष्म सिकाइ प्रभावकारी हुन्छ । स्वअध्ययन  र गूगल गर्ने बानी प्रवल छ । 

सामाजिक र भावनात्मक पक्ष पनि अति महत्वपूर्ण हुन्छ । समूहगत काम, परियोजनामा आधारित प्रायोगिक शिक्षा मन पराउँछन् । मानसिक स्वास्थ्य, आत्मविश्वास र जीवन कौशललाई ध्यान दिनुपर्ने पुस्ता हो यो ।

देशमा केही गर्ने वातावरण नहुनु, विदेश जान चर्को खर्च लाग्नु, धेरै स्क्रिन टाइमले ध्यान विचलित गर्ने समस्या र तत्कालै परिणाम चाहने प्रवृत्ति जेन जीका चुनैती हुन् ।

नेपालको सन्दर्भमा धेरै ठाउँमा अझै परम्परागत पद्दति चलिरहेको छ, जसले जेन जीलाई कम आकर्षित गर्छ । निजी विद्यालयहरुमा डिजिटल बोर्ड, कम्प्युटर, इण्टरनेटमा पठन पाठन बढ्दै गएको छ । ग्रामीण विद्यालयमा भने साधन श्रोत अभावका कारण उनीहरूको क्षमता अनुसार आधुनिक शिक्षा दिन कठिनाइ भैरहेको छ । तथापि आकांक्षा भने तीव्र छ । प्रविधि, पहुँच र प्रणालीकै कारण शिक्षा क्षेत्रमा जारी  असमानता हटाउने तर्फ जेन जीको बिद्रोह केन्द्रित हुन सक्नु पर्छ । 

जेन जीको स्कुलिङ प्राविधिक, अन्तरकृयात्मक र स्वअध्ययनमुखी छ । नेपालमा पनि डिजिटल र व्यवहारिक शिक्षाको पहुँच अझ बढाउने हो भने यो पुस्ता अझै सिर्जनशील, नवप्रवर्तनशील र विश्वस्तरको प्रतिस्पर्धी बन्न सक्छ ।

नेपालमा भएको जेन जी बिद्रोहलाई हेर्दा ज्ञान गुगल हो । प्रविधिको हिसाबले युग हो । अजेण्डाको हिसाबले भ्रष्टाचारीहरूको लागि बाढी हो । 

नेपाल र नेपालीको अनुहारमा खुसी ल्याउने एक कडी हो ।  

पूँजीवादले विश्व नै खाइरहेको बेला युवाहरूमा आएको एउटा विशाल जागरण हो । 

व्यक्तिवादी, पूँजीवादी निरंकुशता, सिमित मानिसहरूको स्वेच्छाचारिकता, व्यापक असमानता वृद्धिको कारण संसारभरि नै उठेको ज्वाला हो  । 

नेपो बेबी र एण्टि करप्सन विरुद्ध युवाहरूको आवाज तथा अभियानले नेपालको राजनीतिलाई उथलपुथल बनाइदियो ।

जेन जी युवाहरू भनेको आशा, भरोसा, सम्भावना र भविष्य हो । सुन्दर भविष्य कोर्न र प्रत्येक नेपालीलाई बस्न योग्य देश बनाउन लागि परेका युवाहरूको जोस हो । उनीहरुले चालेको यस अभियानमा के बुद्धिजीवी, के शिक्षाविद, के विज्ञहरु, के नागरिक समाज हरेकले सहयोग गर्नु अनिवार्य छ । जेन जीलाई नैतिकता, दिशानिर्देश, इमान्दारिता, विवेक र धैर्यता भर्ने काम अब जेन एक्स र जेन वाईको हो । न कि आलाकाँचा भन्दै खिसिट्युरी !

जेन जी नेपालको आशा र सम्भावनाको पुस्ता हो । यो बिद्रोहबाट प्राप्त म्याण्डेट अनुसार भ्रष्टाचार, असमानता र कुशासन हटाएर उनीहरूको ऊर्जालाई सकारात्मक दिशामा प्रवाह गर्नु नै नेपालको उज्ज्वल भविष्यको आधार हुने कुरामा अरू पुस्ताले सन्देह गर्नुपर्ने काम छैन । 

ढिलो चाँडो होला देश त बन्नैपर्छ । तर, अहिले देशमा भएको कुसंस्कार, नातावाद, भ्रष्टाचार, कुशासन असमानता, दण्डहिनता, बेरोजगारी, अशिक्षा, गरिबी, अस्वस्थतालाई जरैदेखि उखलेर हटाउन आचरण, विधि, प्रणालीमा सुधार र परिवर्तन गर्न विद्यालय तहको शिक्षामा ध्यान दिनु जरुरी छ । विद्यालय तहको पाठ्यक्रमले विद्यार्थीका आकांक्षा, मनोविज्ञान, आवश्यकता र सोचलाई सम्बोधन गर्न नसक्दा नै अहिलेको आक्रोश छताछुल्ल भएको हो । यो पुस्तालाई स्कुलिङ गर्न न त राजनीतिक दलका नेताहरूले, न त कर्मचारी संयन्त्रले, न त शिक्षकहरूले, न त समाजका अगुवाहरुले नै चासो दिए । जन्मे देखि नै प्रयोग गर्दै आएका डिजिटल अथवा भर्चुअल आवश्यकताहरुका बारेमा हेक्का नराख्दा यो अवस्थासम्म आइपुग्न बाध्य भयो । 

जेन जी बिद्रोहले राजनीति मात्र होइन शिक्षा, स्वास्थ्य, लगायत सार्वजनिक सामाजिक, रोजगार, उत्पादन, व्यापारका क्षेत्रहरूमा व्यापक रुपान्तरणको मौका ल्याईदिएको छ । यो मौकालाई संस्थागत र दिगो गर्न विद्यालय र विश्वविद्यालयले  अगुवाइ गरुन् ।  
विद्यालय शिक्षाको पढाइलाई सीपलाई श्रमसँग, बजारसँग, दैनिक जीवनसँग, समस्यासँग, बालबालिकाका दिनचर्यासँग, व्यवहारसँग, जोडेर उनीहरुलाई आत्मानिर्भरता, उत्पादनशीलता र सृजनशीलता तर्फ क्रियाशील नगराउने हो भने केही हुन्न भन्ने निराशाको सीमा अझ चुलिएर जान्छ । 

यसको उदाहरण जेन जी बिद्रोहको भोलिपल्ट गरिएको ध्वंस हो ।  बेलैदेखि जेन जी पुस्तालाई सचेत, आलोचनात्मक र प्रविधिमैत्री बनाउने शिक्षा, यो पछिको जेन अल्फा र जेन बिटा पुस्तालाई   सृजनशील, प्रायोगिक र वातावरणमैत्री नैतिक, वैश्विक दृष्टि भएको र पूर्ण रूपमा प्रविधिसँग एकीकृत शिक्षा नदिने हो र असल स्कुलिङ नगर्ने हो भने उनीहरुको आवरणमा यो भन्दा डरलाग्दा ध्वसं नहोला भन्न सकिन्न ।

मुराकामी भन्छन् - “हामीमध्ये हरेकले, हरेक पल, आफ्नो केही मूल्यवान समय गुमाइरहेका हुन्छौँ । अवसरहरू, सम्भावनाहरू र फिर्ता पाउनै नसकिने भावनाहरू, मान्छेहरु...सायद यही त हो, बाँच्नु भनेको ।” 

यत्ति बुझ्ने हो भने कत्ति हुन्थ्यो । 

पाण्डे, सुनपुकुवा मावि उर्लावारी २ मोरङका शिक्षक हुन् । 

प्रतिक्रिया