Edukhabar
बुधबार, २८ माघ २०८२
गतिविधि

शिक्षा ऐन जारी गर्न संसदको पहिलो बैठकमै संकल्प प्रस्ताव

शिक्षा प्रणाली सुधारका लागि गुणस्तरीय, समावेशी, रोजगारमुखी तथा संघीय संरचनासँग सुसंगत बनाउन आमूल सुधार गर्ने

मंगलबार, २७ माघ २०८२

काठमाडौ - आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शिक्षा ऐन जारी गर्न संसदको पहिलो बैठकमै संकल्प प्रस्ताव पेश गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार पार्टीका संयोजक पुष्पकमल दाहालद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा विभिन्न ६ शिर्षकमा शिक्षाका विषय उल्लेख गरिएको छ । पहिलो नम्बरमा उल्लेख संरचनात्मक र नीतिगत सुधार शिर्षकको बुँदामा शिक्षा ऐन जारी गर्न संकल्प प्रस्ताव पेश गर्ने उल्लेख छ । 

‘संघीयताको मर्म अनुरुप संघीय शिक्षा ऐन जारी गर्न संसदको पहिलो बैठकमा संकल्प प्रस्ताव पेश गरी पारित गरिने छ’ प्रतिवद्धता पत्रमा भनिएको छ । 

नयाँ संविधान जारी भएको झण्डै एक दशक सम्म पनि शिक्षाको कानून निर्माण नहुँदा संघीयता अनुकुल शिक्षाको शासकीय प्रवन्धमा अवरोध हुँदै आएको छ । विद्यालय शिक्षामा जारी निजी लगानीकर्ता र विद्यालय तहका शिक्षकको विरोधले शिक्षा ऐन जारी हुन सकस पर्दै आएको हो । संविधानले शिक्षालाई अधिकारका रुपमा गरेको व्यवस्था कार्यान्वयन गर्न विद्यालय तहमा जारी नाफामूलक निजी लगानीलाई निरुत्साहित गर्नु पर्ने छ । यस्तै, नजिकको सरकारको रेखदेखबाट मात्रै विद्यालय शिक्षाको नियमन प्रभावकारी हुने संघीयताको मान्यता अनुसार विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था छ । यी दुबै मुल विषयको  कार्यान्वयन गर्ने गरी ऐन निर्माण गर्नु पर्ने छ । राजनीतिक दलका नेताहरु यी दुबै पक्षको स्वार्थमा पर्दा संविधान जारी भएको एक दशक सम्म पनि ऐन निर्माण हुन नसकेको हो । आगामी निर्वाचन पछि आफ्नो सरकार बनेमा ऐनलाई प्राथमिकतामा राख्ने नेकपाको प्रतिवद्धता छ । 

विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरू गरी २२ वटा दल र समूहसँग एकीकरण गरिएको नेकपाको मुल हाँगो तत्कालिन माओवादी केन्द्र यस अघि पटक पटक सत्तामा पुगेको थियो । आफ्नै दलका नेताहरु पटक पटक शिक्षा मन्त्री भएका थिए । 

यसैगरी उक्त प्रतिवद्धता पत्रमा सामुदायिक विद्यालय सुधार, जनशक्ति व्यवस्थापन तथा समुदाय सहभागिता, पाठ्यक्रम सीप विकास तथा डिजिटल एकिकरण, निगरानी, पारदर्शिता तथा जवाफदेहिता र उच्च शिक्षा, प्राविधिक तथा स्वास्थ्य विज्ञान विकासका छुट्टा छुट्टै बुँदामा व्याख्या गरिएको छ । शिक्षकहरुको पुनर्वितरण गर्ने, विद्यार्थीको नतिजाका आधारमा शिक्षकको कार्यसम्पादन मूल्याँकन गर्ने, निजी विद्यालयको शुल्कमा अधिकतम सीमा निर्धारण गर्ने, एक पालिका एक स्मार्ट विद्यालय स्थापना गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ । यसैगरी राजनीतिक हस्तक्षेप रहित उच्च शिक्षा आयोग गठन गर्ने, शिक्षकको निगरानीका लागि डिजिटल प्रविधि उपयोग गर्ने, कक्षा ४ – ८ मा नैतिक शिक्षा अनिवार्य, मावि तहमा इतिहास विषय थप गर्ने, सीटिईभिटीलाई प्राविधिक शिक्षा विश्वविद्यालय बनाउने लगायतका विषय उक्त प्रतिवद्धता पत्रमा उल्लेख छ । 

प्रतिवद्धता पत्रमा समाजवादको आधार निर्माणको अध्यायमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिने बुँदा उल्लेख छ । शिक्षालाई सेवा मूलक व्यवसायमा विकसित गरिने पनि भनिएको छ । 

प्रतिवद्धता पत्रमा उल्लेख शिक्षाका विषय विस्तृतमा पढ्नुहोस् :

विभिन्न पाँच अध्यायमा तयार नेकपाको प्रतिवद्धता पत्रमा सुशासन, रोजगारी, समाजवाद, राष्ट्रियता र लोकतन्त्रको रक्षा, सामाजिक न्याय सहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ । विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दावी गर्दै अब आर्थिक र सामाजिक अवस्था बदल्ने काममा पनि आफ्नै दलले नेतृत्व गर्ने संकल्प प्रतिवद्धता पत्रमा गरिएको छ । राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधारका विषयलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया