प्रारम्भिक बाल विकास तथा हेरचाह (Early Childhood Development and care - ECD) बालबालिकाको जीवनको सबैभन्दा महत्वपूर्ण आधार हो । गर्भावस्था देखि आठ बर्षसम्मको उमेर बाल मस्तिष्क विकास, भावनात्मक स्थिरता, सामाजिक व्यवहार र सिकाइ क्षमताको निर्माणका लागि निर्णायक हुन्छ । नेपाल जस्तो भौगोलिक, सांस्कृतिक र सामाजिक रुपमा विविधता भएको देशमा प्रभावकारी प्रारम्भिक बाल विकास तथा हेरचाह कार्यक्रम सञ्चालन गर्न स्थानीय सन्दर्भ अनुसार फरक रणनीति अपनाउनु अनिवार्य हुन्छ ।
नेपालको हिमाल, पहाड र तराई क्षेत्रमा बालबालिकाको जीवनशैली, सेवामा पहुँच, पारिवारिक संरचना र विकासका अवसर फरक फरक छन् । त्यसैले 'सबैका लागि एउटै मोडेल' भन्दा पनि सन्दर्भ अनुकुल समान अधिकार र अवसर सुनिश्चित गर्ने प्रारम्भिक बाल विकास तथा हेरचाह आवश्यक देखिन्छ ।
प्रारम्भिक बाल्यकालको महत्व
शिशु तथा प्रारम्भिक बाल्यावस्थाका उमेरमा प्राप्त माया, पोषण, स्वास्थ्य सेवा, उत्तरदायी तथा जिम्मेवार हेरचाह र खेलमा आधिरित सिकाइले बालबालिकाको सम्पूर्ण जीवन यात्रालाई नै प्रभावित पार्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् । यस चरणमा गरिएको लगानी तथा हेरचाहले सिकाइ क्षमतामा सुधार ल्याउँछ । यसले बालबालिकाको भावनात्मक सन्तुलन र स्वनियन्त्रणमा सहयोग पुर्याउँछ । बालबालिकामा नैतिक विकास र सामाजिक सिपको सहजीकरण गर्छ । सहि समयको सहि बाल स्याहार तथा सिकाइले बालबालिकाको भविष्यको स्वास्थ्य र उत्पादकत्वमा सकारात्मकता ल्याउँछ ।
नेपालमा बालबालिकाको संख्या कूल जनसंख्याको १८ देखि २० प्रतिशत हाराहरीमा रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ । त्यसैले बालबिकासमा गरिएको लगानी खर्च होइन यो त सुनिश्चित भविष्य निर्माणका लागि गरिएको लगानी हो ।
भौगोलिक विविधता र बालबिकासमा देखिएका चुनौतिहरुः
१. हिमाली क्षेत्र
हिमाली क्षेत्र सुन्दर भएपनि दुर्गम र कठिन भूभागका कारण जनघनत्व कम छ, बालबालिकाको संख्या पनि कम छ । सोही कारण बालबिकास तथा शिक्षाको क्षेत्रमा पनि विविध चुनौतिहरु छन्
यी र यस्तै विविध कारणले बालबालिकाको औपचारिक सिकाइ ढिलो सुरु हुने, सहभागितामूलक खेल तथा समान उमेर समूहका साथ सामाजिक अन्तक्र्रियाको अवसर समेत कम पाउने अवस्था देखिन्छ । यस्तो अवस्थामा घर तथा समुदायमा आधारित मोबाइल सेवा र समुदायमा स्वयंसेवकको भूमिका बालविकासलाई निरन्तर राख्नका लागि महत्वपूर्ण हुन्छ । समुदायलाई शिक्षाको मूल प्रवाहमा जोड्न सकेमा मात्र दिगो तथा प्रभावकारी बालविकास सम्भव हुन्छ ।
२. पहाडी क्षेत्र
क्षेत्रगत हिसाबले पहाडी क्षेत्रको विकासमा एकरुपता देखिदैन त्यस्तै चुनौति पनि फरक फरक छन् । कुनै भागमा शहरी क्षेत्र पर्छ जहाँ सम्पूर्ण सुविधा तथा अवसरहरु केन्द्रित छन् भने कुनै भूभाग दुर्गम र कठिन छन् । पहाडी क्षेत्र जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण छ । यस क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई यसरी हेर्न सकिन्छ ः
यो क्षेत्रमा समुदायबिचको आपसी सहयोग, परम्परागत ज्ञान, सिप र सामाजिक सम्बन्ध बालबिकासको प्रवर्धनका महत्वपूर्ण आधार बन्न सक्छन् । साथै समुदायमा सहकार्यका लागि आमा समूह, युवा समूह तथा क्लबहरु, जेष्ठ नागरिक समाज तथा अन्य समूहहरुको सहभागिता तथा सहयोगले बालविकास प्रवर्धनका लागि बलियो आधार प्रदान गर्ने सम्भावनालाई हामीले बिर्सन हुँदैन ।
३. तराई क्षेत्र
हिमाली र पहाडी क्षेत्रको तुलनामा भौगोलिक चुनौति कम र सेवा सुविधाको पहुँच सहज हुँदाहुँदै पनि यहाँका आफ्नै चुनौति छन् ।
यहाँका बालविकासका लागि समुदायमा चेतना, गुणस्तरीय सेवा, समावेशिता र समुदायको संलग्नता मुख्य प्राथमिकताको विषय हुनुपर्छ ।
गुणस्तरीय प्रारम्भिक बालविकासका आधार
प्रारम्भिक बालविकास भन्नाले गर्भावस्था देखि आठ बर्षसम्मको स्याहार तथा विकासलाई जनाउने भएकोले यसको अध्ययन तथा विकासका लागि यसका आधारहरु स्पष्ट हुन आवश्यक छ ।
१. स्वास्थ्य तथा पोषण
गर्भावस्था देखि नै आमाको स्वास्थ्य संरक्षण, खोप तथा तौल र उचाइको नियमित अनुगमन, स्तनपान र पुरक आहारको प्रवर्धन, कुपोषण, रक्तअल्पता र शुक्ष्म पोषक तत्वको कमीमा न्युनिकरण जस्ता अति आवश्यक आधारहरु बालविकासका स्वास्थ्य सम्बन्धी आधारहरु हुन् । स्वस्थ बालबालिकाहरु नै भविष्यका स्वस्थ जनशक्ति हुन् जो शारीरिक, मानसिक तथा संवेगात्मक रुपमा सबल बन्न सक्छन् ।
२. उत्तरदायी तथा जिम्मेवार हेरचाह
बालबालिकाको प्रारम्भिक सिकाइ तथा विकासलाई उनीहरुको भाषाको विकास हुनु पूर्वदेखि नै संकेत बुझ्ने, सुन्ने, खेल्ने, कुराकानी गर्ने तथा प्रेमपूर्वक प्रतिक्रिया दिने हेरचाहले अझ बलियो बनाउँछ । नेपालका अधिकांश भागहरुमा बालबालिकाको रेखदेख आमाबुबा मात्र नभई हजुरबा हजुरआमा, दाजु दिदी वा परिवारका अन्य सदस्यले समेत गर्ने परम्परा तथा चलन छ । सबैलाई बालविकास र प्रारम्भिक उत्प्रेरणा (early stimulation) का बारेमा जानकारी नहुँदा समेत बालविकास प्रभावित बन्न सक्छ । ब्यापक जनचेतना तथा सचेतना कार्यक्रम मार्फत समुदायका आमा समूह तथा स्वयंसेवकहरुका माध्यमबाट अभिभावक शिक्षालाई समेत अघि बढाउनुपर्छ ।
३. खेल मार्फत प्रारम्भिक सिकाइ
खेल बालबालिकाको प्राकृतिक सिकाइ माध्यम हो । यहाँ खेल भन्नाले सामान्य खेल, गीत, कथा, अभिनय, आदि बुझुनुपर्छ जहाँ पढाइ र लेखाइ प्राथमिकतामा पर्दैन ।
खेल र गीतमा आधारित सिकाइबाट भाषा, सामाजिक विकास तथा समस्या समाधान क्षमताको विकास हुन्छ ।
४. सुरक्षित र संरक्षणयुक्त वातावरण
बालबालिकाको सर्वाङ्गिण विकासका लागि शारीरिक र भावनात्मक सुरक्षाको प्रत्याभुति अत्यन्त आवश्यक हुन्छ । विकासका लागि जोखिमुक्त तथा डरमुक्त वातावरण प्रेरणादायी र सहयोगी हुन्छ । यसका लागि हिंसा, दुव्र्यवहार र शोषणबाट संरक्षण, सुरक्षित खेलमैदान र सिकाइ स्थल, बालअधिकार सम्बन्धी सचेतना समुदायमा सहज रुपमा उपलब्ध भएमा बालविकास सहज र सबल बन्छ ।
५. परिवार र समुदायको सहभागिता
बालबालिकाको हेरचाह र विकासका लागि विद्यालय वा केन्द्र जति जिम्मेवार हुन्छन्, त्यति नै जिम्मेवारी परिवार तथा समुदायको पनि हुन्छ । यसका लागि अभिभावक शिक्षा कार्यक्रम, समुदायमा आधारित बाल स्याहार केन्द्र, स्थानीय सरकार, स्वास्थ्य संस्था र विद्यालयबिच सहकार्य अपरिहार्य हुन्छ ।
६. अवसरमा समावेशिता र समानता
बिना कुनै भेदभाव सबै बालबालिकाले विकासका लागि समान अवसर पाउनुपर्छ । बालबालिका आफैँमा फरक क्षमता र दक्षताका सम्भावना सहित हुन्छन् । हरेक समुदाय तथा बालविकास संस्थाहरुमा अपाङ्गता भएका बालिकाका लागि समावेशी सेवा (ष्लअगिकष्खभ कभचखष्अभ) हुनुपर्छ । बहुभाषिक र बहुसांस्कृतिक रुपमा संवेदनशील पाठ्यसामाग्री र सिकाइ वातावरण हुनुपर्छ । सीमान्तकृत समुदाय र त्यहाँका बालबालिकाहरुमा विशेष ध्यान पुर्याउन स्थानीय निकाय तथा संघसंस्थाहरुले विशेष सकृयता बढाउनुपर्छ ।
स्थानीय अभ्यास र सम्भावनाका रुपमा समुदाय
हाम्रो समाज लोककथा, लोकगीत, स्थानीय खेल तथा स्थानीय चाडपर्वहरुले सम्पन्न छ । यसको सही प्रयोग र बालबालिका केन्द्रित अभ्यासले बालविकासमा टेवा पुर्याउँछ । हाम्रो समाजमा अन्तरपुस्ता (inter-generational) हेरचाह गर्ने चलन नै छ। हजुरबा हजुरआमाले नातिनातिनी हुर्काउन सहयोग गर्ने प्रचलनले एक पुस्ताबाट अर्को पुस्तासम्म आपसी मेलका लागि सहयोग गर्छ । समाजमा भएका आमा समूह, सहकारी, समुदायका स्थानीय संगठनहरुले समेत बालबिकासका लागि खेलमैदान, सामुदायिक पुस्तकालय आदि सञ्चालन गर्न सक्छन् । यी स्थानीय अभ्यासहरुलाई प्रारम्भिक बालविकाससंग जोड्न सकेमा बालविकासका कार्यक्रम दिगो तथा प्रभावकारी हुने कुरामा दुई मत छैन ।
बालबालिकाको सर्वाङ्गिण विकास र सबल भविष्यका लागि साझा दृष्टिकोण
जुनसुकै भूगोल, भाषा, संस्कृतिका भए पनि हरेक बालबालिकाले विकासका लागि समान अवसर पाउनुपर्छ । अपाङ्गता वा बौद्धिक विविधताका कारण कुनै पनि बालबालिकालाई शिक्षा तथा विकासको अवसरबाट बञ्चित गर्न मिल्दैन । त्यसका लागि,
अन्त्यमा, बाल्यकाल समयावधिका आधारमा छोटो समय भए पनि उसको प्रभावकारिता जीवन पर्यन्त रहन्छ । आज बालबालिकामा गरिएको लगानी सही भयो भने भोलि स्वस्थ, सक्षम र समावेशी नेपाल बनाउने सक्षम युवा तयार हुन्छन् । सक्षम युवाहरुले नै सक्षमताको प्रणाली निर्माण गर्न सक्नेछन् ।
(चाँगुनारायण नगरपालिका - २, भक्तपुरकी ढुङ्गाना, प्रारम्भिक बालविकासको क्षेत्रमा कार्यरत एवं अनुसन्धानरत छिन् ।)
प्रतिक्रिया