Edukhabar
सोमबार, ०६ असोज २०८२
विचार / विमर्श

विद्यालय शिक्षामा गुणस्तर सुधारको नवीनतम उपाय

शिक्षक, विद्यार्थी, अभिभावक र प्रशासनिक निकायहरूको सहकार्य र समन्वय सम्पूर्ण गुणस्तर ब्यवस्थापनको केन्द्रिय आधार हो।

आइतबार, ०५ असोज २०८२

शिक्षामा गुणस्तर सुधार अहिलेको प्रमुख आवश्यकता हो। विद्यालय शिक्षालाई समयानुकूल, प्रभावकारी र सहभागितामूलक बनाउन सम्पूर्ण गुणस्तर व्यवस्थापन (Total Quality Management–TQM) उपयोगी उपायका रूपमा अघि आएको छ। TQM ले केवल परिणाममा मात्र होइन, प्रक्रियामा पनि ध्यान दिँदै निरन्तर सुधारको संस्कृति विकास गर्न मद्दत गर्छ।

सम्पूर्ण गुणस्तर व्यवस्थापन (Total Quality Management TQM)

सम्पूर्ण गुणस्तर व्यवस्थापन (Total Quality Management TQM) ग्राहकको सन्तुष्टिको माध्यमबाट दीर्घकालीन सफलता प्राप्तिको उपागम हो । हामीलाई थाहा छ सत्य परिवर्तनशील हुन्छ । गुणस्तरको कुरा गर्ने हो भने पनि समय र नवप्रवर्तनहरू सँगै गुणस्तरको परिभाषा परिवर्तित हुन्छ । अर्थात् गुणस्तरको परिभाषा निरपेक्ष नभएर सापेक्ष हुन्छ । अन्य समान प्रकारका बस्तु तथा सेवाहरू सँग तुलना गरेर हेर्दा  पाइने स्तर नै त्यस बस्तु वा सेवाको गुणस्तर हो । अर्थात् गुणस्तरले उत्कृष्टताको विन्दुलाई बुझाउँछ ।सम्पूर्ण गुणस्तर व्यवस्थापनको उपागम ले निरन्तर कमजोरीहरूको पहिचान र न्यूनिकरणका माध्यमबाट एउटा सङ्गठनको गुणस्तर सुनिश्चित गर्दछ। गठनलाई ग्राहकको माग अनुसार गुणस्तर कायम राख्नु, कर्मचारीहरूलाई समयसापेक्ष तालिम दिएर अद्यावधिक राख्नु र सिद्धान्तको पालना गर्नु चुनौतिपूर्ण भने अवश्य हुन्छ । 

सम्पूर्ण गुणस्तर व्यवस्थापन खास गरेर सन् १९४० देखि १९५० को दशकमा अमेरिका र जापान जस्ता देशहरूमा औद्योगिक क्षेत्रको गुणस्तर कायम राख्ने उद्देश्यले आएको थियो । डब्ल्यू एडवर्ड्स डेमिंग, जोसेफ जुरान र फिलिप क्रोस्बी जस्ता विद्वानहरूले औद्योगिक गुणस्तर नियन्त्रण र सुधारको लागि यसको आधार लिएका थिए। जापानी कम्पनीहरूले (विशेष गरी टयोटा जस्ता साझा कम्पनीहरूले) यसलाई अपनाएर औद्योगिक गुणस्तरमा ठूलो सुधार गरेका थिए। समय बित्दै जाँदा, TQM का सिद्धान्तहरू सेवा क्षेत्र, स्वास्थ्य सेवा, शिक्षा र सरकारी संस्था जस्ता गैर-औद्योगिक क्षेत्रहरूमा समेत ब्यापक प्रयोगमा ल्याइन थालिएको छ। 

सुधारका लागि केइजेन  चक्र (Kaizen Cycle for Improvement) 

केइजेन जापानिज शब्द हो जसको अर्थ राम्रोका लागि परिवर्तन वा निरन्तर सुधार (Change for the better or continuous improvement) भन्ने हुन्छ । यसलाई PDCA Cycle (Plan-Do-Check-Act) भनेर प्राय: बुझ्ने गरिन्छ ।

TQM_kamal

१. समस्याको पहिचान गर्नु र समाधानका लागि योजना बनाउनु

२. कार्यान्वयन गर्नु वा प्रयोगमा ल्याउनु

३. जाँच्नु वा मूल्याङ्कन गर्नु

४. एक्सन अर्थात कार्यव्यबहारमा उतार्नु र यस कार्यलाई निरन्तर गुणस्तर सुधारका लागि प्रयोगमा ल्याउनु ।

यसरी साना साना परिमाणमा समस्याहरूको पहिचान गर्ने, योजना बनाउने, समस्या समाधानका उपायहरूको कार्यान्वयन गर्ने, तिनीहरुको प्रभावकारीताको जाँच गर्ने, कार्यव्यवहारमा उतार्ने र यस चक्रलाई थप सुधारका लागि निरन्तर प्रयोगमा ल्याएर सङ्गठनको सम्पूर्ण गुणस्तर व्यवस्थापन गर्न सकिन्छ । 

सम्पूर्ण गुणस्तर ब्यवस्थापनका सिद्धान्तहरु (Principals of Total Quality Management) 

सम्पूर्ण गुणस्तर व्यवस्थापन नेत्रित्व, इमानदारीता, सत्यनिष्ठा, उच्च नैतिकता, उपभोक्ता सन्तुष्टि, दुरदृष्टि, समस्या समाधान, योजना र निरन्तर सुधार जस्ता ब्यवहारकुशल अवधारणामा आधारीत छ ।सम्पूर्ण गुणस्तर व्यवस्थापन विभिन्न सिद्धान्तहरुमा आधारीत छन् ।यसका सिद्धान्तहरु : १) ग्राहक प्रति समर्पित २) कर्मचारीद्वारा सुधारको प्रतिवद्धता ३) निरन्तर सुधार र सिकाई ४) विधि/प्रकृयाको पालना ५) रणनीतिक र पद्धतिगत उपागम ६) तथ्य र तथ्याङ्कको उपयोग ७) एकिकृत प्रणाली ८) प्रभावकारी सञ्चार 

शिक्षामा सम्पूर्ण गुणस्तर व्यवस्थापन (Total Quality Management in Education)

सम्पूर्ण गुणस्तर व्यवस्थापनको सिद्धान्त औद्योगिक क्षेत्रको सुधारका लागि विकसित भएको भएतापनि यसको प्रयोग निश्चित तहसम्म कुनैपनि गैरऔद्योगिक संगठनमा गर्न सकिन्छ । यसले सङ्गठनको मक्सद उत्पादन र सेवाको उच्च गुणस्तर तर्फ केन्द्रित गर्ने कुरोलाई जनाउछ ।विद्यालय शिक्षामा सम्पूर्ण गुणस्तर व्यवस्थापनले विद्यार्थीको उच्च उत्तिर्ण प्रतिशत र सिकाइ उपलब्धिलाई मात्र जनाउदैन, बरु यसले त शैक्षिक प्रकृयाको समग्र पक्षलाई प्रभाव पार्दछ, जस्तोकी संगठन, शैक्षिक ब्यवस्थापन, अन्तरबैयक्तिक सम्बन्ध, उपलब्ध स्रोत साधनहरु र मानव संशाधनहरु समेत ।विद्यालय शिक्षामा सम्पूर्ण गुणस्तर व्यवस्थापन कार्यान्वयनका लागि व्यवस्थापकको मनोवृत्ति र गतिविधि, शैक्षिक प्रक्रियाको संगठन र अनुगमन, यसको नतिजाको मूल्याङ्कन, सञ्चार संस्कृतिको विकास, विद्यालयको वातावरण र विशेष गरी अन्तरव्यक्तिगत सम्बन्धको क्षेत्रमा धेरै परिवर्तनहरू आवश्यक पर्दछ। वास्तवमा सम्पूर्ण गुणस्तर ब्यवस्थापनले शिक्षामा उपयूक्त शैक्षिक वातावरण, सहकार्य, निरन्तर सुधार, विश्वास र आपशि सद्भावको माध्यमबाट एउटा शैक्षिक संगठन (विद्यालय) को मार्गदर्शन गर्न सक्दछ । डब्लु एड्वार्ड डेमिङ (सन् १९५०) ले एउटा सङ्गठनको प्रभावकारीता र गुणस्तर सुनिश्चितताका लागि १४ बुँदे आधारभूत सिद्धान्तहरु उल्लेख गरेका छन् ।यि गुणस्तर ब्यवस्थापनका सिद्धान्तहरुको एकिकृत कार्यान्वयन मार्फत मात्र संगठनले गुणस्तर सुनिश्चित गर्न सक्दछ । ति आधारभूत सिद्धान्तहरुलाई विद्यालयको शैक्षिक गुणस्तर व्यवस्थापनमा देहाय बमोजिम प्रयोगमा ल्यार्न सकिन्छ ।

डेमिङका आधारभूत सिद्धान्तको विद्यालय शैक्षिक गुणस्तर ब्यवस्थापनमा प्रयोग

१. उद्देश्य प्रति अडिग रहनुहोस् (Create Constancy of Purpose) 

विद्यार्थीको उत्तीर्ण प्रतिशत र सिकाइ उपलब्धिलाई मध्यनजर गर्नका साथै उनीहरूको सर्वाङ्गीण विकास गर्न सकिने गरि शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरू सँगको आपसी छलफल समन्वयको आधारमा स्पष्ट लक्ष/उद्देश्य र दुरदृष्टि सहितको पञ्चवर्षीय विद्यालय सुधार योजना निर्माण गरेर कार्यान्वयन गर्नुहोस् । प्रत्येक वर्ष अघिल्लो वर्षको प्रगति समीक्षा सहित विद्यालय सुधार योजना अद्यावधिक गर्नुहोस् । 

२. नवीनतम दर्शन एवं सिद्धान्तहरू अपनाउनुहोस् (Adopt the New Philosophy) 
परम्परागत सुन्ने सुनाउने, घोक्ने घोकाउने जस्ता शिक्षण निधिहरूलाई नवीनतम विद्यार्थी केन्द्रित विधिमा रूपान्तरण गर्नुहोस् ।शिक्षक सहजकर्ताको भूमिकामा रहेर विद्यार्थीहरूलाई सक्रिय राख्नुहोस् ।कक्षा क्रियाकलापहरूमा समालोचनात्मक सोच, समस्या समाधान र सहकार्यात्मक कार्यहरूमा जोड दिनुहोस् ।आफूलाई आधुनिक र नवीनतम शिक्षण विधि र विषयवस्तुहरू सँग अद्यावधिक गरिरहनुहोस् । 

३. गुणस्तर प्राप्तिका लागि निरीक्षण/ मूल्याङ्कनमा मात्रै भर नपर्नुहोस् । (Cease Dependence on Inspection to achieve quality) 

अन्त्यमा मात्र गरिने निरीक्षण वा जाँच (जस्तै: अन्तिम परीक्षा, आकस्मिक निरीक्षण मा मात्र भर नपर्नुहोस्। सुरुदेखि नै शिक्षण–सिकाइ प्रक्रियामा गुणस्तर कायम गर्नुपर्छ ताकि त्रुटि र कमीहरू रोक्न सकियोस्। निरन्तर मूल्याकंन, प्रतिक्रिया र सुधार मार्फत गुणस्तर प्राप्त गर्नुपर्छ। जस्तो कक्षा कक्षा १-३, ४-५ र ६-७ मा लागू भएको निरन्तर मूल्याङ्कन वास्तवमा नै गर्नुहोस् । TQM ले इमान्दारिता, सत्यनिष्ठा, जिम्मेवारी प्रतिको प्रतिवद्धता शिक्षकहरुलाई गराएको हुन्छ । 

४. मूल्यलाई मात्र आधार नबनाउनुहोस् (End the Practice of Awarding Business on the Basis of Price Tag)
विद्यालयमा आवश्यक स्रोतसाधन, शैक्षिक सामग्री र जनशक्ति व्यवस्थापन गर्दा न्यून मूल्यलाई मात्र आधार नबनाएर त्यसका लागि गुणस्तरको मापदण्ड तय गर्नुहोस् ।उपलब्ध स्रोत साधनको गुणस्तरका पक्ष जाँच गर्नुहोस् । सम्भव भए सम्म स्थानीय र स्व निर्मित सामग्री प्रयोग गर्नुहोस् जसमा आवश्यक गुणस्तर तपाई स्वयम् तय गर्न सक्नु हुन्छ । 

५) निरन्तर र सधैँ सुधार गरिरहनुहोस् (Improve Constantly and Forever)

विद्यालयको गतिविधिहरूमा कुन पक्षमा गुणस्तर खच्कन लाग्यो वा कुन क्षेत्रमा गुणस्तर सुधार गर्न आवश्यक छ भनेर निरन्तर जाँच बुझ गर्ने संयन्त्र/ समिति बनाउनुहोस । यसकालागि शिक्षाका त्रिपक्षहरु शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जोड्न सक्नु हुन्छ ।हरेक दिन विद्यालय छुट्टी पश्चात शिक्षकहरु विच १०/१५ मिनेटको रिभिउ मिटिङ बस्नुहोस् । दिनभरीमा देखिएका समस्याहरु केलाएर सुधारका योजनाहरु बनाई कार्यान्वयन गर्नुहोस् ।समस्या समाधानका लागि स-साना शोधकार्य (कार्यमूलक अनुसन्धान) मा जोड दिनुहोस् । 

६) कार्यस्थलमै नै प्रशिक्षण दिने व्यवस्था गर्नुहोस् (Institute Training on the Job)

विद्यालयमा नै शिक्षक विकासका कार्यक्रमहरु संचालन गर्नुहोस् । जसकालागि तालिम प्राप्त शिक्षकले मेन्टरको रुपमा नवप्रवेशी वा तालिम प्राप्त नगरेका शिक्षकहरूलाई सहजिकरण गर्न सकिन्छ।कुनै शैक्षिक विषयमा उच्च तहको अनुसन्धान गरेका शिक्षकहरुले अन्य शिक्षकहरु विच फाइन्डिङस् हरु साझा गर्नुहोस् । अध्ययन खोज जस्ता कार्यमार्फत आफ्नो क्षमता अब्बल राख्ने प्रयास गरिरहनुहोस् । 

७) नेतृत्व संस्थागत गर्नुहोस् (Institute Leadership) 

शैक्षिक नेतृत्वले उत्प्रेरक र सहजकर्तको रुपमा कार्य गर्नुहोस् । आवश्कता अनुसार सामूहिक नेतृत्वको अभ्यास गर्नु राम्रो हुन्छ । जिम्मेवारीको बाँडफाड मार्फत सबैलाई नेतृत्व दिनाले स्वचालित रुपमा कार्यसम्पादन हुन गई गुणस्तर कायममा सहजा हुन्छ ।जस्तो कि शिक्षकहरूलाई खेलकुद, अतिरिक्त क्रियाकलाप संयोजक, परीक्षा ब्यवस्थापन, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी, स्वास्थ्य तथा पोषण फोकल शिक्षक आदि । त्यसै गरि विद्यार्थीहरूलाई समेत कक्षा तथा विद्यालयका शैक्षिक वातावरण सिर्जना गर्न विभिन्न नेतृत्व प्रदान गर्न सकिन्छ । 

८) भयमुक्त कार्यवातावरण तयार गर्नुहोस् ।(Drive Out Fear) 

विश्वासमा आधारीत विद्यालयीय वाताववरण बनाउनुहोस । प्रधानाध्यापक सँग शिक्षकहरुले डराउनु पर्ने र शिक्षकहरु सँग विद्यार्थीले डराउनु पर्ने, त्यस्तै अभिभावक र शिक्षकहरु विच समेत द्वन्दको स्थिति भएमा त्यस संगठनमा सम्पूर्ण गुणस्तर ब्यवस्थापनको कल्पना गर्न सकिदैन । शिक्षकहरु सरुवा भएर अन्यत्र जाने, विद्यार्थीको ड्रपआउट रेट बढ्ने हुन जान्छ । 

९) अन्तर तह र अन्तर विषयहरुविच सहकार्य बढाउनुहोस् ।(Break Down Barriers Between Departments)

विद्यालयहरुमा फरक फरक तहका शिक्षकहरु कार्यरत रहने हुँदा समान विषयका माथिल्ला र तल्ला तहका शिक्षकहरुले शैक्षिक गुणस्तर अभृद्धिका लागि सहकार्य र समन्वय गर्न सक्नुहुन्छ भने थिमेटिक लर्निङमा जोड दिदै अन्तरविषयक समस्याहरुको समाधानमा समेत सहकार्य प्रभावकारी हुन्छ । जस्तो भाषा विषयहरुका शिक्षक विच सहकार्य, गणित र अन्य विषयविचको सहकार्य, अन्तर विषयक परियोजना कार्य, विज्ञान र कला प्रदर्शनी आदि । 

१०) शिक्षकमाथि अनावश्यक नारा र बेकारको लक्ष्य नथोपर्नुहोस् (Eliminate Slogans, Exhortations, and Targets for the Workforce) 

प्रणालिगत सुधारमा ध्यान दिनुहोस् ।समग्र प्रणालिमा सुधार ल्याउन सकेमा मात्र गुणस्तर सुधार सम्भव हुन्छ । अनावश्यक टार्गेट दिएर शिक्षकलाई दवाबमा राख्नाले गुणस्तरमा सुधार ल्याउन सम्भव हुँदैन । 

११) संख्यात्मक कोटाहरू हटाउनुहोस् (Eliminate Numerical Quotas) 

औद्योगीक वा उत्पादनका क्षेत्रमा कर्मचारी वा कामदारहरुलाई खास संख्यामा कार्यसंपादन गर्न लगाउने वा सामान उत्पादन वा विक्रि गर्न बाध्य पारिने कार्य हटाउनु पर्ने यो सिद्धान्तको मान्यता हो । विद्यालयमा पनि संख्यामा उपलब्धि खोज्नु हुँदैन । जस्तो गणित विषयको शिक्षकले औसत सिकाइ उपलब्ध ८० प्रतिशत पुर्याउनै पर्ने वा उत्तिर्ण प्रतिशत ९८ कटाउनै पर्ने भन्ने जस्ता लक्ष दिनु भन्दा समग्र प्रणालीगत सुधारमा ध्यान दिनाले सम्पूर्ण गुणस्तर व्यवस्थापन गर्न सकिन्छ ।यो सिद्धान्त शिक्षण सिकाइ प्रक्रयामा पनि लागू हुन्छ । 

१२) काम प्रतिको गौरवमा रोक लगाउने कुराहरू हटाउनुहोस् (Remove Barriers to Pride of Workmanship) 

शिक्षकहरूलाई आवश्यक स्रोतसाधन (शैक्षिक सामग्री, प्रशिक्षण) उपलब्ध गराएर राम्रो काम गर्न मौका दिनुहोस्।वाँहाहरूको राम्रो प्रदर्शनको तुरुन्त कदर गर्ने र गर्व अनुभव गर्न सक्ने वातावरण बनाउनुहोस्। यसले शिक्षकहरुमा उत्प्रेरणा बढाउँछ र गुणस्तर सुधार्छ। 

१३) अध्ययनशिल बन्न र स्व-सुधारका लागि सशक्त कार्यक्रमहरु संस्थागत गर्नुहोस् । (Institute a Vigorous Program of Education and Self-Improvement) 

पाठ्यक्रमका उद्देश्य पुरा गर्न शिक्षकहरुले नवप्रवर्तन एवं ज्ञानको विष्पोटहरु सँग अद्यावधिक रहनु पर्ने हुन्छ । यसका लागि खोजमूलक अध्ययन, शोधकार्य, विचारको आदान प्रदान जस्ता कार्यहरु गर्न विद्यालयले प्लेटफम तयार गरिदिनु पर्दछ। 

१४) विद्यालयका सबैलाई रुपान्तरणमा सहभागी गराउनुहोस् । (Put Everybody in the School to Work to Accomplish the Transformation)

प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरू समेतलाई आ-आफ्नो जिम्मेवारीमा उत्तरदायी बनाएर शैक्षिक गुणस्तरको रुपान्तरणमा सहभागी गराउनुहोस् ।

निष्कर्ष

सम्पूर्ण गुणस्तर व्यवस्थापन (TQM) को सिद्धान्त विद्यालयहरूमा पूर्ण रूपमा लागू गर्न सकिन्छ। यसको कार्यान्वयनको लागि विद्यालयले दीर्घकालीन लक्ष्य निर्धारण, निरन्तर सुधार, र सहभागीतामा आधारित पद्धतीगत पूनरसंरचना लागू गर्नुपर्छ। शिक्षक, विद्यार्थी, अभिभावक र प्रशासनिक निकायहरूको सहकार्य र समन्वय TQM को केन्द्रिय आधार हो। PDCA चक्र (योजना, कार्यान्वयन, मूल्याङ्कन, सुधार) अपनाएर शैक्षिक प्रक्रियालाई निरन्तर मूल्याङ्कन र सुधार गर्न सकिन्छ। यसरी TQM ले विद्यालयलाई गुणस्तरमा आधारित सिकाइ संस्थाको रूपमा विकास गर्न मार्ग प्रशस्त गर्दछ।

गौतम, चैनपुर नगरपालिका, संखुवासभाका शिक्षा अधिकृत हुन् । 

प्रतिक्रिया