Edukhabar
आइतबार, २२ भदौ २०८२
विचार / विमर्श

कसैको डर नभएर !

पाठ्यक्रमको एउटा मिटिङमा एक विदेशीले भन्यो : तिमीहरुले “देशभक्त” बनाउने भनेर पाठ्यक्रममा लेखेका छौ, पढ्ने बित्तिकै देशभक्त हुन्छ ? बरु लेख, यति पढेपछि वाईरिङ गर्न जान्ने हुनेछ । यति पढेपछि बिग्रेको धाराको टुटी आफैँ फेर्न सक्ने छ । सानोतिनो वेल्डिङ गर्नेछ । त्यो पो हो लेख्ने !

आइतबार, २२ भदौ २०८२

हजुर बा ! कापी सकियो । कलम बिग्रियो । त्यसमा उहाँ कहिल्यै प्रश्न गर्नु हुन्नथ्यो।  सन्दुस खोल्न जनै तान्न थाल्नु हुन्थो । साँचो जो थियो । जनैमा । के के गम्नुहुन्थ्यो । हजुरबा’को कोठा अगाडि हुन्थेँ । म । गमेको कुरा धमिलो सुन्थेँ । बुझ्दिनथेँ । 

कति लाग्छ ? 

लागेको दिनुहुन्थ्यो । त्यतिबेला हजुरबा “चाईल्ड फ्राईण्ड्ली” लाग्नु हुन्थ्यो । प्यारो देखिनु हुन्थ्यो । अरुले कस्तो पढिरहेका छन् ? हेरेको छस् ? 

सन्दुस खोल्दा खोल्दै भाई बैनीहरुको बारे सोध्नु हुन्थ्यो । 

अस्ति त फलानो पुरस्कार लिन आएको देखिन, के भो ? त्यसले पढ्दैन कि क्या हो ? हेर्ने गर । 

स्कुलको बार्षिक उत्सवमा कक्षामा प्रथम, द्वितिय, तृतिय हुनेलाई व्यवस्थापन समितिको अध्यक्षको नाताले कापी, पेन्सिल सँगै अबिर लगाई दिँदा उहाँको उज्यालो अनुहार झनै खुल्थ्यो । मन्द मुस्कान । देखिन्थ्यो । सन्तुष्टि । मुहारमा झल्किन्थ्यो । उहाँको मुस्कानले मलाई ठुलो शक्ति दिन्थ्यो । जो सुकैले हजुरबाको मुस्कान भट्दैनथ्यो । दुर्लभ थियो । मुल्यवान ।

पुरस्कार वितरणको वेलुका हजुरबा दलानमा तमाखु खाने बेला मलाई बोलाउनु हुन्थ्यो । फलानो किन पुरस्कार लिन आएन ? फलानो किन फष्ट भएन ? के समस्या छ ? तिनीहरुमा ? तँैले हेर्ने गर्दैनस् ? पढ्दैनन् कि क्या हो ? 

मैले जवाफ दिनुपथ्र्यो । घरवाट हामी दाजुभाई दिदिबहिनी गरेर सात आठ जना हुन्थ्यौँ, स्कुल जाने । बर्षको अन्तमा हजुरबाको मुल्याङ्कन हुन्थ्यो । विश्लेषण हुन्थ्यो । पुरस्कार लिन आयो । पढेको छ । अविर लगाई दिन पाईयो । पढेको छ । पुरस्कार लिनपनि नआ’को, अबिर पनि नलाको फस्थ्यो । 

हजुरबाको अगाडि अवाक हुन्थ्यो । भोलि उसको माग पुरा नहुने सम्भावना बढ्थ्यो । 

स्कुल छुट्टि भएर घर पुग्ने बित्तिकै झोला पिँढिमा फालेर हामी गुच्चा खेल्न थाल्थ्यौँ । स्कुल पोशाक मैँ । हजुरबा कतैबाट कामले फर्कँदै गर्दा डहर बाटै देख्नु हुन्थ्यो । हामी खेलेको ।

आवाज आँऊथ्यो “कसैको डर नभएर !”

अब हाम्रो सातोपुत्लो उड्थ्यो । गुच्चै छोडेर, झोलै छोडेर भागा भाग हुन्थ्यो । हाम्रो। आआफ्ना कोठातिर । स्कुल पोशाक फेरेपछि बाहिरि वातावरण कान थापेर सुन्थ्यौँ । शान्त जस्तो महशुस गरेपछि सुटुक्क सुटुक्क एक एक गरेर हजुरमाँको अगाडि पुग्थ्यौँ । अर्नी खान । अर्नी (खाजा) खाईरहेको बेला गाली खाँईदैनथ्यो। केहि परे हजुरमाँले जवाफ दिनुहुन्थ्यो। त्यसले काम गथ्र्यो । हामी हजुरबा’को आँखा छलेर हजुरमाँ’सँग मुस्काँउदै खाजा खान्थ्यौँ । कोहि काम सघाई रहेको छ । ठिक छ । पढिरहेको छ । ठिक छ । तर गफ गरेको छ । त्यो भएन । खेलेको छ । त्यो भएन । त्यसै  बरालिएको छ भने हजुरबा’को गर्जन आईहाल्थ्यो “कसैको डर नभएर ! ”  हजुरबा हिटलर लाग्नुहुन्थ्यो । त्यतिबेला ।

हजुरबा जुत्ता किन्नु पर्यो, सुनेको नसुन्यै ! आफ्नै धुनमा लाग्नु हुन्थ्यो । नयाँ लुगा र जुत्ता किन्ने भनेको बर्षमा एकदिन । दशैँमा । घर एउटा नियममा चलेको थियो । अनुशासन थियो ।

हिजो हजुरबा’को “कसैको डर नभएर !” को मतलव बुझेको थिईन । नपढेको बेला गाली खाईन्छ । गफ गरेर बसे गाली खाईन्छ । कुनै काममा हुनुपर्यो । बस ।

हजुरबाको “कसैको डर नभएर !” को बृहत अर्थ आज बुझ्दैछु ।

आफ्नो व्यवहारले अरुलाई असर पर्नुहुँदैन । यो चेत आफैमा हुनुपर्छ । अरुले भन्नु पर्ने कुरा हैन ।  मनन् गर्ने कुरा हो । नियममा हिँड्न । हिँडाउन । समाजलाई सुसँस्कृत बनाउन । सबैको जिम्मेवारी छ । तर यहाँ शिक्षक डराउँदैन । कर्मचारी डराउँदैन । विद्यार्थी डराउँदैन । घरमा बच्चाले अभिभावकलाइ टेर्दैन । सुनेको नसुनै गर्छ । नेताले कहिल्यै जिम्मेवारी महशुस गर्दैन । उल्टो दास सम्झन्छ ! जनतालाई !

एउटा युटुवरले देशको कार्यकारीलाई तथानाम बक्छ ! भद्दा मजाक गर्छ । उसलाई टिआरपी बढे पुग्छ ! असभ्यताको पराकाष्ठा छ । त्यहाँ । व्यक्तिगत लान्छना लगाएर चर्को आवाजमा बोले ठुलो नेता भईन्छ ! भन्ने भाष्यले ठाँउ लिँदो छ । बिरोधको पनि त शैली हुन्छ ! योग्यता हुन्छ । गुणस्तर हुन्छ । त्यहाँ तर्क छैन । शालिनता छैन । सँस्कार छैन । भोलि आफु कार्यकारी हुँदा अरुले त्यहि रुपमा प्रस्तुत हुँदा के हुन्छ ? उसले सोचेकै छैन ! समाज एकै दिनमा परिष्कृत हुँदैन । सनैसनै बन्ने कुरा हो । यो । समाज कता जाँदैछ ? प्रजातन्त्र नै अपच भए जस्तो देखिन्छ ! घरीघरी ।

फलेको हाँगो त नुग्छ नी ! मपाँई गर्नै पर्दैन । सँस्कारका लागि कसैको डर चाहिने रहेछ । ३० प्रतिशत साक्षरता भएको बेला भन्दा आज ८० प्रतिशत साक्षरता हुँदा समाज विछिप्त छ । उत्ताउलो छ । कपटी छ ।
एउटा पाठ्यक्रमको मिटिङमा एक विदेशीले भन्यो तिमीहरुले “देशभक्त” बनाउने भनेर पाठ्यक्रममा लेखेका छौ, पढ्ने बित्तिकै देशभक्त हुन्छ ? 

तँ देशभक्त हो ? के गरेको छस् देश भक्तिको ? जागिर खाएर देशभक्त भँईदैन । देशका लागि तैँले के त्याग गरेको छस् ? त्यो त महान कुरा हो । नपढेकाले पनि गर्न सक्छ त्यो त व्यवहारले देखाउने हो । अनुशासनले हुने हो । कोहि पनि पढ्ने बित्तिकै देशभक्त हुन्छ भन्ने हुँदैन । 

उसले गहन कुरा भन्थ्यो ।

बरु लेख, यति पढेपछि वाईरिङ गर्न जान्ने हुनेछ । यति पढे पछि बिग्रेको धाराको टुटी आफँै फेर्न सक्ने छ । सानोतिनो वेल्डिङ गर्नेछ । त्यो पो हो लेख्ने ! 

यस्तो क्लिष्ट नलेख, सिधा लेख । 

पढेर मात्र देशभक्त हुँदैन । आज बुझ्दैछु ।

म पढेको बेरोजगार भनेर चौतारोमा घण्टौँ गफिएको छ । विश्वविद्यालयको ढोकामा लात बजार्छ ! आमा बा’को हात बटाँउदैन । सानो काम गर्दैन । ठुलो जाँन्दैन । माष्टर डिग्री गरेको फुर्ति लगाउँछ । थेसिस फोटो कपि सेण्टरमा बनाउन लगाउँछ ! थेसिस लेख्न सक्ने भनेको त खोज्न जान्ने । भनेको हो नी ! खै खोजेको ? एउटा शुद्ध निवेदन लेख्न सक्दैन ! नम्बरका लागि मेहनेत गर्दैन । आन्दोलन गर्छ । प्रोफेसरको ढोका फोड्छ ! लेक्चरर पनि बढुवा हुन पिएचडिको थेसिस अर्कैको कपि गर्छ ! त्यति गर्न सकेपछि भिसि नै पड्काउन बेर मान्दैन ! कर्मचारी स्वतःबढुवा माग्छ । लेक्चरर स्वतः स्थायी माग्छ ! यस्तोले कहाँ पुर्याउँछ ?
साँच्चै पढेको त एउटा पनि बेरोजगार छैन । नपत्याए खोजे हुन्छ ।

सत्यमोहन जोशी पाटनबाट हिडेरै त्रिचन्द्र कलेज जान्थे । दिनहुँ । बस सुबिधा थिएन । हिडेरै जुम्लाको सिँजा पुगे । भाषा र सँस्कृति खोजे । तिन तिन वटा मदन पुरस्कार कृति लेख्ने उनको पालामा कम्प्युटर थिएन । पुस्तकालय थिएन । शैक्षिक सामग्रीको कुरै नगरौँ । खोज्नलाई मन चाहिन्छ । काले राई ८ बर्षमा कखरा पढेका । कसरी स्वामी प्रपन्नाचार्य भए ? कृष्ण प्रसाद पराजुलीको चोरेको पिएचडि थिएन । सबैको मुखैमा झुण्डिने “राम्रो रचना मिठो नेपाली” अहिले पनि छ । आज उनीहरु छैनन् । अमर कृति अनगिन्ति छन् ।

सिंहदरवारमा कसैको गल्तिले आगो लाग्यो । प्रधानमन्त्री किर्तिनिधि विष्टले राजिनामा दिए । रँगशालामा हुल हुज्जत हुँदा जिम्मेदारले ढोका खोलेन । मान्छे हताहत भए । तालुकवाला मन्त्री केशरबहादुर विष्टले राजिनामा दिए । डर र जिम्मेदारी त मनमा न हुन्छ ! हुनुपर्छ । तर यहाँ तालुकवाला मन्त्रीको बिभागमा दिन दहाडै देखा देखै बदमासी हुँदा मन्त्रीले जिम्मेदारी लिँदैन । सुनेको नसुनै गर्छ । फेरि आफुलाई ठुलो लोकतन्त्रवादी भन्छ ! कसैको डर नभएर !

शिक्षामै फर्कौँ 

दुर्गममा विज्ञान पढाउन जाने हो भने आजै ५० हजार महिनाको जागिर पाउँछ । तुरुन्तै । अँग्रेजीले पाउँछ । गणितले पाउँछ । राम्रो अनुसन्धानको विद्यार्थी छ भने शोधका क्षेत्र यत्रतत्र छन् । अनगिन्ति छन् । खानाको खोजिनै भएको छैन । भाषाको । संगीतको खोजी भएको छैन । नाँच त कति हो कति ! अथाह छन् । रैथाने खेल त्यस्तै छ । विदेशी भाषा सिकेर पर्यटक घुमाउन सकिन्छ । मन्दिर र गुम्बा छन् । तिनका कथा भन्नेहरु नै छैनन् । चैत्य र बिहार छन् । तिनका मर्मज्ञहरु हराँउदाछन् । अशोक स्तम्भ स्तम्भ मात्र हैन । धरोहर हो । संस्कृति हो । त्यो बुझेर बुझाउनेहरु छैनन् । दन्त्य कथाको पनि त मर्म छ नि ! खै खोजेको ? चरा पर्यटन छ । जरा पर्यटन त कति हो कति ! खोजी शुरु नै भएको छैन । विश्वविद्यालयले जवाफ दिनुपर्छ । कसले खोजेको छ ? यी क्षेत्र विद्यार्थीका हैनन् ?

आखाँ खोले न देखिन्छ ! त्यसको लागि म बेरोजगार भएँ भन्नेले सोचेकै छैन । किनकि उसले के पढेको छ ? उसैलाई थाहा छैन ! देखाउने दाँतले चपाउँदैन । मासु खाने हो भने सक्कली दाँत चाहिन्छ ! नक्कली प्रमाणपत्र लिन लाज हुनु पर्ने हो । डर हुनुपर्ने हो । खै डर ? खै लाज ? 

कसैलाई कसैको डर भएन !

डर त अनुशासन हो । नियम हो । संस्कार हो । आज हाम्रो शिक्षा त्यहीँ चुक्यो । बुढापाका भन्थे “भित्ताको पनि कान हुन्छ ।” यहाँ त नबोल्ने भित्ताको कुरा छोडौँ । माइक पनि नसुन्दो भो, समाज । 

आज हजुरबा’ सम्झेको छु । “कसैको डर नभएर !”को बृहत अर्थ सम्झेको छु । कसैलाई कसैको डर नभएर घर भाँडियो । अर्काको सिकोले समाज भाँडियो । छिमेकी टाढियो । 

“अर्काको कराँउदो आफ्नो हराँउदो” भयो । गफै मात्र गर्न जान्दो भो । समाज । डिजिटल सुविधालाई गलत प्रयोग गर्दो छ । सतही छ । कसैको डर नभएर ! 

डिजिटल सुविधाका नाममा यसरी छाडा हुने हो भने भिरबाट लडिने हो । त्यतिबेला काँध थाप्न कोहि आँउदैन । राम राम मात्रै हो । बलेको आगो न तापिन्छ ! नेपाल शिक्षाको खुट्किलो चढ्दै गर्दा सँसारका धेरै देशमा अनएराईभल भिसा व्यवस्था थियो । सम्मान थियो । आज त्यो स्तर झण्डै शुन्यको नजिक हुँदो छ । नेपाल मजदुरको देश भएको छ ! नेपाली राहदानीलाई घृणाको दृष्टिले हेरिन्छ । भर्खरै साथीले एउटा मार्मिक घटना सामाजिक सञ्जालमा राख्यो । उसको आईटि विज्ञ छोरी बैँककबाट सेमिनारमा लाओस जाने क्रममा अपमानित भएर एयरपोर्टबाट फिर्ता हुनुपर्यो । असभ्य जमातका कारणले शभ्यको शीर झुक्दो भो ! यो सानो घटना हैन । शासक जनता सँग डराउनु पर्छ । जिम्मेदार कुम्भ कर्ण निद्रामा छ ! शासक किन चेत्दैन ? सबै कुरा भएर पनि केही नभए जस्तो ! समाज दिनानुदिन भासिँदो भो !  डर त बुझ्नेलाई श्रीखण्ड हो, नबुझ्नेलाई खुर्पाको बिँड !” 

बस्याल, शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् । 

प्रतिक्रिया