समय के हो ? समय एक रहस्यमय तत्व हो, जसलाई सबैले हरेक पल अनुभव गर्छन्, तर रोक्न वा समात्न भने सक्दैनन् । जब कोहि खुसी हुन्छ, घण्टौँ समय पनि केही मिनेट जस्तो लाग्छ । अनि जब त्यहि व्यक्ति पर्खाइ वा पीडामा हुन्छ, उसका लागि एक मिनेट पनि घण्टौँ जस्तो लाग्न थाल्छ । समय त आफ्नै गति र स्थिति अनुसार ढिलो वा चाँडो हुने रहेछ । तर समय आफ्नै गतिमा यात्रारत छ ।
हरेक मानिस समयको यात्री मात्र हो । यसले सबैलाई समान गतिमा हिँडाउँछ । मानिसले प्रकृतिका धेरै पक्षमा नियन्त्रण कायम गरिसक्दा पनि समयको यात्रामा हिँड्न भने नतमस्तक छ । कहिलेकाहीँ लाग्छ, समय भनेकै बितेका दिनहरूको ‘सम्झना’ र आगामी दिनहरूको ‘कल्पना’ को एउटा समिश्रण मात्र हो कि ? किन कि हामी वर्तमानको यो सानो विन्दुमा उभिएर पनि कि त विगतका स्मृतिका फाइलहरू पल्टाएर बस्छौँ, कि त भोलिको अनिश्चित आकाशतिर हेरेर टोलाइरहेका हुन्छौँ ।
तर, एकहार्ट टोल जस्ता विद्वानहरूको मत सुन्दा मन झसङ्ग हुन्छ । उनी भन्छन् : 'समय भनेको केवल वर्तमान (Now) मात्र हो ।'
उनका अनुसार विगत त केवल हाम्रो मस्तिष्कमा सञ्चित एउटा ‘स्मृति’ हो, जुन अहिले छैन । अनि भविष्य भनेको केवल एउटा ‘कल्पना’ हो, जुन अझै आएको छैन । हामीले जे भोग्छौँ, जे अनुभूत गर्छौँ र जहाँ काम गर्छौँ, त्यो केवल ‘अहिले’को क्षण मात्र हो । विगत र भविष्य त मनले बुनेका जालाहरू मात्र हुन् जसले हामीलाई वर्तमानको जीवन्तताबाट टाढा लैजान्छन् ।
यहि समयको सन्दर्भमा मेरा ३२ वर्ष १८ दिन सरकारी सेवामा बितेछन् । लोक सेवाको परीक्षापश्चात सम्बत २०५० साल फागुन ६ गते अधिकृतको नियुक्ति पत्र बुझेको दिनबाट आजसम्मको यात्राका दिनहरू ।
पहिलो पटक सरकारी सेवामा प्रवेश गर्दै गर्दा मनमा एक प्रकारको हुटहुटी थियो । अब गर्नु पर्ने कामका बारेमा कौतुहलता बढि थियो । मनमा संशय र अनिश्चितता पनि थिए । सो भन्दा पनि कयौँ गुणा ठूला त ‘धेरै आकाँक्षाहरू’ थिए । मनमा एउटा पवित्र संकल्प त थियो नै ।
विगत सम्झन्छु, हातमा रहेको नियुक्ति पत्र केवल कागजको पाना थिएन, मेरो वर्षौँको मेहनत, आमाको आशीर्वाद र बुबाको गौरवको प्रतीक थियो । मलाई अहिले पनि याद छ, नियुक्ति पत्र हातमा पर्दा मेरा औँलाहरू थोरै कामेका थिए । तर सँगै मनमा एउटा हुटहुटी थियो, अब म केहि गर्छु, घरपरिवारका लागि केहि गर्छु, देशका लागि केहि गर्छु ।
हाजिर हुन जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा पुगेको दिनको अवस्था अझै पनि आँखामा एउटा पुरानो रिल जस्तै घुमिरहन्छ । हातमा एउटा झोला थियो, जसमा मेरो भविष्यको नक्सा अर्थात् ‘नियुक्ति पत्र’ सुरक्षित थियो । त्यसमा लेखिएका अधिकृत पदमा नियुक्ति गरिएको व्यहोरा पटक पटक पढ्दा पनि मन भरिएको थिएन ।
पहिलो पटक सरकारी सेवामा प्रवेश गर्दै गर्दा मनमा एक प्रकारको हुटहुटी थियो । भर्खरै सिलाएको लुगा, जो कता कता शरीरमा नमिले जस्तो, कता कता बिझाए जस्तो भइरहेको थियो । शायद, त्यो लुगा मात्र नमिलेको होइन, एउटा साधारण नागरिकबाट ‘शासकीय ओहोदा’मा रुपान्तरण हुँदाको त्यो मानसिक छटपटी पनि थियो कि । नयाँ जुत्ताले खुट्टा अलि बढि अट्ठयाउला कि भन्ने डर एकातिर थियो भने, अर्को तिर जिल्ला शिक्षा कार्यालयको त्यो ढोकाभित्र पस्दा मेरो योग्यताले ‘न्याय’ पाउला कि नपाउला भन्ने संशय पनि सँगै थियो ।
मनमा एकातिर ‘थोरै डर’ थियो । नयाँ काम कस्तो होला ? कस्ता होलान् हाकिम ? कस्तो होला कुर्सी र कार्यस्थल ? के काम गर्नुपर्ने होला ? शिक्षक पेशाबाट आएको हुनाले अब गर्नु पर्ने कामका बारेमा कौतुहलता बढि थियो । मनमा संशय र अनिश्चितता पनि थिए । सोभन्दा पनि कयौँ गुणा ठूला त ‘धेरै आकाँक्षाहरू’ थिए । मनमा एउटा पवित्र संकल्प त थियो नै ।
आज ३२ वर्ष १८ दिनपछि सचिव पदबाट बिदाइ हुदैँ गर्दा लाग्छ, त्यो दिनको ‘बिझाउने लुगा’ र ‘अट्ठयाउने जुत्ता’ ले मलाई धेरै कुरा सिकाएछन् । ती असजिलाहरूले नै मलाई भुइँ मान्छेका सास्तीहरू बुझ्न सिकाए । आज त्यो नियुक्ति पत्रको रङ पहेँलो भइसक्यो, तर मेरो मानसपटलमा त्यो दिनको बिहान अझै पनि उत्तिकै ताजा र उज्यालो छ ।
हिजोसम्मका पद, ओहोदा, कुर्सी र भेटघाट आजबाट पूर्व हुनेछन् । सरकारी अफिसका भित्ताहरूको नाता पनि विगत भइसक्नेछ । आज पदबाट सेवानिवृत्त हुदैँ गर्दा मलाइ लाग्दैछ, म एउटा कोठा मात्र छोड्दै छैन, आफ्नो जीवनको ठूलो हिस्सा यहीँ छोडेर जाँदैछु । साँच्चै भन्ने हो भने जवानी पनि यहिँ कतै छोडेर जाँदैछु । हिजो अधिकृतको नियुक्ति पाइ हाजिर हुदाँका ती कलिला सपनाहरू आज सचिवको यो ‘नेमप्लेट’ सम्म आइपुग्दा कति फेरिए होलान्, कति कति त मेटिए पनि होलान् ।
मलाइ थाहा छ, भोलिदेखि मेरो घर अगाडि सरकारी गाडी आएर कुरेर बस्ने छैन । कार्यालयमा, हाकिम कतिबेला आइपुग्नु हुन्छ भनेर सोध्नेहरू पनि हुने छैनन् । शायद मोबायलमा फोन पनि आउने छैनन्, सेवा निवृत्त भएको थाहा नपाएकाहरूको बाहेक । मलाइ यो पनि थाहा छ कि हिजोसम्म मैले अरूको फोन उठाउन आनाकानी गरेँ होला, अब आजबाट मैले फोन गर्दा अरूबाट यस्तै व्यवहार हुनसक्छ । यसलाइ मैले विधिको विधान भनेर चित्त बुझाउनु पर्नेछ । यो चक्र हो भनेर मन बुझाउनु पर्नेछ ।
मानिसहरू भन्छन्, ‘रिटायर्ड लाइफ’ आनन्दको हुन्छ । तर, के यो साच्चै आनन्दपूर्ण हुन्छ त ? अहिलेसम्म त अरूका कुरा सुनियो । विगतका ३२ वर्षसम्म फाइलको चाङमा हराएको मान्छेलाई अब आउने शून्यताले कतै थिच्ने त होइन ? अब आफूले गरेको अनुभव अरूलाइ बताउनु पर्ला ‘रिटायर्ड लाइफ’ कस्तो हुनेरहेछ भनेर ।
अहिले मनमा कता कता एउटा डर पनि छ : मानिसहरूले मलाई कसरी हेर्लान् ?
जब म पदमा थिएँ, म व्यक्ति थिइनँ, म एउटा ‘ओहोदा’ थिएँ, ‘पद’ थिएँ । मानिसहरूले मलाई नमस्कार गर्नुमा मेरो व्यक्तित्व भन्दा बढी मेरो कुर्सीको वजन थियो । जब त्यो कुर्सी नै मसँग छैन भने उनीहरूको आँखामा कस्तो भाव आउला ? कि म उनीहरूका लागि ‘एउटा भूतपूर्व हाकिम’ मात्र हुनेछु, जसको फोन उठाउन पनि उनीहरूलाई अल्छी लाग्नेछ ? कुरा गर्न पनि मन कम लाग्नेछ ?
अर्को अचम्म त के पनि हुन सक्छ भने, अब मैले सार्वजनिक क्षेत्र वा समाजका विसंगति वा सुधारका बारेमा बोल्न थाल्दा मानिसहरूले ओठ लेप्र्याउँदै भन्लान् : पदमा हुँदा त सिन्को भाँचेनन्, अहिले कुर्सीबाट ओर्लिएपछि ठूला कुरा गर्छन् !
मैले ३२ वर्षमा बुझेको एउटा सत्य रहेछ, काम व्यक्तिले मात्र होइन, प्रणालीले गर्ने रहेछ । कुनै एक हिरो वा हिरोइनले जादुको छडीको रूपमा गर्ने होइन रहेछ, बरू यो त एउटा संयन्त्र रहेछ, समग्रता रहेछ ।
तर, यी सबैलाइ मैले कसरी बुझाउनु कि पदमा रहदाँ सधैँ ‘शक्तिशाली’ नभइने रहेछ, कतिपय सन्दर्भमा ‘बाँधिन’ पनि पर्ने रहेछ । त्यहाँभित्र पनि आरोह अवरोह हुने रहेछ, शक्तिको सङ्घर्ष र दाउपेच चल्ने रहेछ । बाहिरबाट हेर्नेलाई लाग्नसक्छ, कलम चलाइदिएको भए भइहाल्थ्यो नि त । तर भित्रको सत्य अर्कै हुने रहेछ । पटक पटक साङ्लोमा बाँधिनु पर्ने बाध्यता आइलाग्ने रहेछ । कानुनको अक्षर, राजनीतिको दाउपेच र प्रक्रियाको झण्झटले कतिपय पटक म स्वयम बाँधिएको कसलाई कसरी बुझाउन सकुलाँ र !
पदमा रहदाँ ‘मौनता’ रोज्नु शायद व्यक्तिगत स्वार्थले मात्र नहोला, त्यो त पदीय मर्यादा र ‘सिष्टम’ प्रतिको निष्ठा थियो भनेर बुझाउन पक्कै पनि त्यति सजिलो छैन । आज म सेवानिवृत्त भएपछि बोल्न खोज्नु चाँहि कुनै ‘ठूला कुरा’ गर्न होइन, बरु त्यो अनुभव सुनाउन हो, जुन कुर्सीमा बस्दा सुनाउन त्यति सजिलो नहुन सक्थ्यो । म अब किन पनि बोल्नुपर्छ भने मेरो ठाउँमा आउने नयाँ पुस्ताले मैले गरेका गल्ती नदोर्होयाऊन्, जुन मैले चाहेर पनि सुधार्न सकिन ।
मानिसहरूले मलाई ‘काम नगरेको’ आरोप लगाउन पनि सक्छन् । तर मेरो आत्मालाई साक्षी राखेर भन्न सक्छु, मैले इमान्दार भएर प्रयास गरेकै हो । तर कहिले विधि मिलेन होला त कहिले ढँग नपुगेको पनि हुनसक्छ । अब बोल्दा अरूको कुरामात्र नभएर आफ्नै कामको समीक्षा पनि हुनसक्छ ।
मैले ३२ वर्षमा बुझेको एउटा सत्य रहेछ, काम व्यक्तिले मात्र होइन, प्रणालीले गर्ने रहेछ । कुनै एक हिरो वा हिरोइनले जादुको छडीको रूपमा गर्ने होइन रहेछ, बरू यो त एउटा संयन्त्र रहेछ, समग्रता रहेछ । एउटा व्यक्ति जतिसुकै इमानदार वा ऊर्जावान् किन नहोस्, ऊ त्यो विशाल मेसिनको एउटा सानो पुर्जामात्र बन्ने रहेछ । उक्त पुर्जा बिग्रे वा खिया लागे मेसिनको कार्यसम्पादनमा समस्या आउन त सक्छ तर यो पुर्जा एक्लैले सबै काम गर्न सक्छ भन्ने होइन रहेछ । बरू मेसिनले राम्रोसँग काम गर्न सबै पार्टपुर्जाहरू ठिकठाक हुनुपर्ने रहेछ ।
मैले बुझेको अर्को सत्य समग्र प्रणाली र त्यसभित्रको कर्मचारीतन्त्र त एउटा चक्रब्युह जस्तो रहेछ, जहाँ एउटा व्यक्तिको भूमिका हुन्छ तर निजले चाहेर मात्र सबैथोक हुन सम्भव छैन । कति सन्दर्भमा राजनीतिक दाउपेच र प्रकृयागत झण्झटले कामहरू नहुने रहेछन् जसलाइ मैले अहिले पनि भन्न सक्दिन र शायद मिल्दैन पनि होला । मैले कसरी बुझाउने होला ती मानिसहरूलाई कि म कति पटक लाचार भएको थिएँ भनेर ? कसरी भनूँ कि मलाई पनि कति पटक ‘सिष्टम’ सँग विद्रोह गर्न मन लागेको थियो, तर सकिन । किनकी मेरा वाध्यताका पहाडहरू धेरै अग्ला थिए ।
भगवान् कृष्णले अर्जुनलाई भने झैँ, मैले पनि यो ३२ वर्ष १८ दिन एउटा ‘कुरुक्षेत्र’ मानेर लडेँ । कहिले नीतिसँग लडेँ, कहिले विधिसँग, त कहिले आफ्नै मनका द्वन्द्वसँग । आज यो मैदान छोड्दै गर्दा मैले कसैबाट ताली वा कसैबाट गाली पाउँला । मैले पूर्णरूपमा निष्काम कर्म त गर्न सकिन होला, तर मेरो प्रयास निष्काम कर्मतर्फ नै प्रेरित थियो । किनकी मैले गीताको ‘आफ्नो कर्म गर, फलको चिन्ता नगर ।’ भन्ने वाक्यलाइ मूलमन्त्र मानिरहेको थिएँ र आजपर्यन्त पनि मानिरहेको छु ।
शायद अब म बोल्छु । एउटा स्वतन्त्र नागरिक भएर बोल्छु । तर विगतको गोपनियता सपथको प्रतिकुल हुने गरि बोल्ने छैन । पुरै ‘सरकारी मर्यादा’ को साङ्लोमा बाँधिनु पर्ने पनि छैन । कतिले यसलाई पनि ‘पद बाहिरको विलाप’ भन्लान् । तर म भन्छु, यो विलाप होइन, यो त मेरो ३२ वर्षको अनुभवको निचोड हो । कहिलेकाँही अनुभव सुनाएर आफूलाइ रित्तो वा खाली बनाउन पनि सकिन्छ । जब खाली हुन्छ नयाँ चिज राख्नका लागि सहज हुन्छ ।
अबको जीवन कस्तो होला त ?
अब मलाइ हरेक दिनको बिहान अफिस जाने हतारो हुनेछैन । प्रश्न उठ्छ, ३२ वर्षसम्मको आदत एकै पटक छुट्दा सहजै होला र ? शायद अबका दिनमा म पनि अरू रिटायर्ड कर्मचारी जस्तै चोकको चिया पसलमा बसेर ‘हाम्रो पालामा यस्तो हुन्थ्यो’ भन्दै पुराना किस्सा सुनाउनेमा दर्ज हुनेछु ।
म अब नकारात्मक कुरा गरेर बस्ने छैन । दिनभर मोबायलमा आँखा लगाएर पनि बस्ने छैन । किन की मोबाईल लतका कारण धेरै बालबालिकाको पढाइ बिग्रियो भनेर लेखहरू लेखेको छु । यसबाट छुटकारा दिलाउनु पर्छ भनेको छु ।
अहिले सम्झन्छु, कहिलेकाहीँ समयको हिसाबकिताब केवल फाइलका पाना र वर्षहरूले मात्र गर्दा रहेनछन् । ३२ वर्षको यो यात्रामा मैले कति धेरै व्यक्तिगत पलहरू गुमाएछु भन्ने कुरा मेरी कान्छी छोरीको त्यो एउटा वाक्यले ऐना झैँ देखाइदिन्छ ।
मलाई याद छ, पुसको चिसो कुनै एउटा बिदाको दिन । म सधैँ झैँ आफ्नो झोला कसेर घरबाट निस्कन लागेको थिएँ । त्यतिबेला छोरीले कौसीको घामतिर हेर्दै आफ्नो आमालाई सोधेकी थिइ - 'मम्मी, मेरो साथीको बाबा त दिउँसो छतमा बसेर कस्तो आनन्दले घाम ताप्नुहुन्छ, सुन्तला खानुहुन्छ । तर हाम्रो बाबा किन बिदाको दिन पनि सधैँ यो झोला बोकेर हिँड्नुपर्ने ? के हाम्रो बाबा र उनीहरूको जागिर उस्तै होइन र ?'
त्यो सानो बाल मनले बुझ्न सकेन कि ‘सबै जागिर उस्तै हुन् तर जिम्मेवारीको बोझ फरक हुन्छ ।’
उसले त केवल आफ्नो बाबुसँग घाम ताप्न र सुन्तला छोडाएर खान खोजेकी थिइ ।
आज ३२ वर्ष १८ दिनपछि सेवा निवृत्त हुदैँ गर्दा मलाई लाग्दैछ, अब छोरीको त्यो प्रश्न मेरो हकमा लागू हुने छैन । भोलिदेखि म पनि त्यही ‘छतमा बसेर घाम ताप्ने बाबा’ बन्न पाउनेछु । भोलिदेखि मेरो काँधमा त्यो झोला हुने छैन, जसले मलाई परिवारको न्यानोपनबाट टाढा लैजान्थ्यो ।
तर, मनमा एउटा नमीठो प्रश्न अझै बाँकी छ, के अब मैले त्यो घाम र सुन्तलामा त्यही स्वाद पाउँला, जुन छोरीले त्यतिबेला खोजेकी थिइ ? के मैले गुमाएको त्यो समयको पूर्ति अबको अवकाशले गर्न सक्ला ?शायद सक्दैन । तर अब म कोसिस गर्नेछु । ३२ वर्षसम्म सरकारी सेवालाइ दिएको मेरो समयको बाँकी अंश अब आफ्ना सन्तान र परिवारको नाममा नामसारी गरिदिनेछु । हिजो म देशको सचिव थिएँ, आजदेखि म केवल आफ्नी छोरीको त्यो ‘घाम ताप्ने बाबा’ बन्न चाहन्छु ।
मलाइ पछुतो पनि छ म विदाको दिनमा दिउँसो काममा वा पुस्तकालयमा अध्ययनका लागि जान्छु भनेर छोरीलाइ नबताएकोमा । विधिको बिडम्बना म अब दिउँसो घरमा हुनेछु तर मलाइ प्रश्न सोध्ने छोरी आफ्नै कामले दिउँसो घरमा बस्न पाउने छैन । शायद यस्तै चक्रमा यसरी नै सबै पिसिनु पर्ने होला । अब म प्रश्न सोध्ने ठाँउमा छु र छोरी उत्तर दिने ठाँउमा पुगी ।
म अब नकारात्मक कुरा गरेर बस्ने छैन । दिनभर मोबाईलमा आँखा लगाएर पनि बस्ने छैन । किन की मोबाईल लतका कारण धेरै बालबालिकाको पढाइ बिग्रियो भनेर लेखहरू लेखेको छु । यसबाट छुटकारा दिलाउनु पर्छ भनेको छु । मैले ३२ वर्ष १८ दिन जागीरलाइ दिएँ । अबको बाँकी जीवन म आफैँलाई दिनेछु । म त्यो मान्छे खोज्नेछु, जो ३२ वर्षअघि लोकसेवा भिड्न जाँदा कतै हराएको थियो । म कविता लेखूँला, म घुमूँला, म स–साना बालबालिकाहरूलाई पढाऊँला, यस्तै यस्तै सोच्दैछु ।
मलाई कसैले ‘नमस्कार’ नगरे पनि वा कसैले ‘सर’ भनेर नसोधे पनि खासै फरक नपर्ने बन्छु । आत्मालाई साक्षी राखेर काम गर्ने प्रयास गरेँ, थाहा पाएर कसैको नराम्रो गरिनँ । मैले जे जति गरेँ, इमानदार भएर गरेँ । कतिपय कामहरू इच्छा हुँदाहुँदै पनि गर्न सकिनँ, त्यसको बोझ मेरो चितासम्म पुग्ने छ र शायद त्यहीँ अन्त्य हुने छ । तर ती असफलताहरू मेरो नियतका कारण होइन, परिस्थितिको उपज थिए ।
सेवा निवृत्त हुदैँ गर्दा एउटा कुरा मात्र भन्न मन छ, पद भनेको घामपानी जस्तै हो, आउँछ जान्छ । तर मान्छेको इमान सधैँ साथमा रहिरहन्छ । ३२ वर्षपछि म आज निस्कँदै छु, तर मेरो मन भरी अनुभवको एउटा ठूलो भण्डार छ ।
र अन्तमा, सेवानिवृत्त हुनु भनेको विश्राम होइन, नयाँ सुरुवात पनि हो । यसो सोच्छु, यो समयमा केहि लेख्न सकिन्छ । सामाजिक काममा लगाउन सकिन्छ । यतिका वर्षको मानसिक तनाव पछि अब शरीर र मनलाई ध्यान, योग वा भ्रमणमा लगाउन सकिन्छ । पदमा हुँदा टाढिएका आफन्त र समाजसँग फेरि जोडिन सकिन्छ ।
अलविदा सरकारी सेवा !
तिमीले मलाई धेरै दियौ । र मैले पनि तिम्रो लागि आफ्नो जवानी सुम्पिएँ । अब हाम्रो नाता एउटा सम्झना मात्र हुनेछ ।
- निजामती प्रवेशसँगै लामो समय शिक्षा सेवामा विताएका लम्साल, राष्ट्रपति कार्यालयका सचिवका रुपमा कार्यरत रहँदै गर्दा आईतबार देखि अवकास भएका हुन् ।
प्रतिक्रिया