काठमाडौ - संसदको पाँचौ दल श्रम संस्कृति पार्टीले किताब घोकाउने शिक्षाको अन्त्य गर्न प्रस्ताव गरेको छ । उत्पादन गर्न नसक्ने, निर्माण गर्न नजान्ने र आविष्कार गर्न नचाहने शिक्षाले सकारात्मक परिवर्तन नल्याउने ठहर गर्दै उक्त दलले साताको तीन दिन मात्रै किताब पढाउन प्रस्ताव गरेको हो । उक्त दलका अध्यक्ष हर्कराज राईद्वारा मंगलबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक समग्र विकास, सुशासन र स्वाधीनताका ३३ बुँदे सुझाव सहितको प्रतिबद्धता पत्रमा उक्त प्रस्ताव समेटिएको छ । बाँकी चार दिन श्रम, सीप र सृजना सिकाएर उत्पादन, निर्माण, सृजना र आविष्कार गर्न सिकाउने शिक्षाको परिकल्पना गरिएको छ ।
'श्रम, श्रमदान, उत्पादन, निर्माण आविष्कार अन्वेषण नै शिक्षा हो भन्ने मूल मान्यता स्थापित गर्दै शिक्षामा तात्विक परिवर्तन ल्याउने । उत्पादन गर्न नसक्ने शिक्षा, निर्माण गर्न नजान्ने शिक्षा र आविष्कार गर्न नचाहने शिक्षाले जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने हुँदा हप्ताको तीन दिन भन्दा बढि किताब घोकाउने शिक्षाको अन्त्य गरी व्यहारिक शिक्षामा जाने लाने' उक्त प्रतिवद्धता पत्रमा भनिएको छ 'हप्ताको तीन दिन किताब बाँकीको चार दिन श्रम, सीप र सृजना सिकाएर उत्पादन, निर्माण, सृजना र आविष्कार गर्न सिकाउने ।'
यो विषय उक्त पार्टिले आफ्नो चुनावी घोषणापत्रमा पनि उल्लेख गरेको थियो । कृषिलाई नै शिक्षाको आधार मान्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । कृषि क्रान्तिलाई सिंहदरबार र विश्वविद्यालयको कागजमा मात्र सीमित नराखी सिधै किसानको खेतबारीसम्म पुर्याउनुपर्ने उक्त दलको प्रस्ताव छ ।
राईले शिक्षा सहित परराष्ट्र नीति, श्रम, र आर्थिक विकासका क्षेत्रमा आमूल परिवर्तनको खाका प्रस्तुत गरेका छन् । नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकता सुझावको मुख्य प्राथमिकतामा रहेको छ । एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिसँग जोडिन सक्ने सम्झौताहरू खारेज गर्नुपर्ने र देशलाई कुनै पनि विदेशी हस्तक्षेपबाट मुक्त राख्नुपर्ने प्रतिवद्धतापत्रमा समेटिएको छ । सीमा रक्षाका लागि सेना परिचालन गर्नुपर्ने र छिमेकी मुलुकसँगका सीमा विवादलाई कूटनीतिक माध्यमबाट हल गरी अवैध निर्माण तत्काल रोक्नुपर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । काठमाडौँ केन्द्रित विकासको अन्त्य हुनुपर्ने, सङ्घीयतालाई व्यवहारिक रूपमा लागू गर्दै प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनुपर्ने, वैदेशिक ऋण र अनुदानको भर पर्नुको साटो आफ्नै प्राकृतिक स्रोत र जनशक्ति परिचालन गरी स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । कामचोर, भ्रष्ट र घुसखोर कर्मचारीलाई सरुवा मात्र नभई सिधै बर्खास्त गर्ने कानुन बनाउनुपर्ने, सहकारी ठगी प्रकरणका आरोपित जीबी राई लगायतलाई तत्काल पक्राउ गरी उनीहरुकै सम्पत्तिबाट पीडितको बचत फिर्ता गर्नु पर्ने लगायतमा बुँदा उक्त प्रतिवद्धतापत्रमा समेटिएको छ । विदेशी हस्तक्षेप बढाउने आईएनजीओहरु खारेज गर्ने उक्त दलको प्रतिवद्धता छ ।
प्रतिक्रिया