काठमाडौ - संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनको नाम तय भएको छ । विभिन्न संसदीय समितिका सभापतिहरुको नाम तय गर्न बसेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार बसेको संसदीय दलको बैठकले सभापतिहरुको उम्मेदवार टुङ्गो लगाएको को ।
जेन जी बिद्रोहको जगमा भएको निर्वाचन पछि बनेको संसदमा झण्डै दुई तिहाई मत सहित पहिलो दल बनेको रास्वपाको उम्मेद्वार वा उसले समर्थन गरेको उम्मेद्वार स्वत: विजयी हुने अंक गणितका कारण शेरचन समिति सभापति हुने पक्का छ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले पनि समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।*
वायोकेमेष्ट्री विषयमा अध्यापन एवं अनुसन्धानमा सकृय शेरचन समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेकी उनले लामो समय प्रतिष्ठान सहित नेपाल मेडिकल कलेजमा काम गरेकी थिईन् । दुई दशकभन्दा बढी समय चिकित्सा विज्ञानको क्षेत्रमा संलग्न उनी संसदमा पनि मुख्यतया स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरूका बारेमा बोल्दै आएकी थिइन् ।
शिक्षाको विषयलाई समेत हेर्ने गरी संसदमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेको छ । संसदीय समितिलाई मिनि संसद समेत भनिन्छ । सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरी टुङ्गो लगाउने जिम्मेवारी समितिलाई हुन्छ । उक्त समितिमा २७ सदस्य रहेका छन् ।
समितिमा रहेका सदस्यहरुका नामावली पढ्नुहोस् : २७ सांसद सहितको शिक्षा समिति गठन
संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । अन्य समितिका लागि रास्वपाले तय गरेका उम्मेद्वार यस प्रकार छन् :
- कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
- पूर्वाधार विकास समिति– आशिष गजुरेल
- महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
- राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
- संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास
- अर्थ समिति– कृष्णहरि बुढाथोकी
- उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहवर अन्सारी
सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिएको छ । उक्त पदमा कांग्रेसले डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्कालाई उम्मेद्वार बनाएको छ ।
फोटो : शेरचनको फेसबुक
* अपडेट
प्रतिक्रिया