Edukhabar
शनिबार, ०५ बैशाख २०८३
गतिविधि

कक्षा १० को अन्तिम परीक्षा : सामूहिक अनुगमनमा रोक

कक्षा १० को अन्तिम परीक्षा पनि अन्य कक्षाहरुको बार्षिक परीक्षा जस्तो मात्रै हो भन्ने गरी सामान्यकृत गर्न नसक्दा परीक्षाको बोझ र तामझाम निरन्तर छ ।

विहीबार, १९ चैत्र २०८२

भक्तपुर - अनुगमनका नाममा परीक्षा हलमा हुने अनावश्यक भिडलाई निरुत्साहित गर्न राष्ट्रिय परीक्षा बोर्डले यसवर्ष कक्षा १० को अन्तिम परीक्षा (एसईई) को सामूहिक अनुगमनमा रोक लगाएको छ । अनुगमनका नाममा विद्यार्थीलाई अवरोध पुग्ने गरी गतिविधि हुन थालेपछि उक्त कार्य रोकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । आवश्यकता अनुसार प्रदेश र परीक्षा समन्वय समितिले अनुगमनको काम गर्ने तर त्यसो गर्दा पनि हुल सहित कक्षा कोठामा प्रवेश गर्ने शैली नअपनाउने उनले बताए । 

'विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुग्छ त्यसैले यसपटक सामूहिक अनुगमनमा रोक लगाईएको छ' उनले भने 'पत्रकारले पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन सक्नेछन्, कक्षामा प्रवेश गर्न पाउने छैनन् ।'

कक्षा कोठामा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । 

२०७३ साल असार १५ गते भएको शिक्षा ऐनको आठौं संशोधनले संरचना बदलेर कक्षा १२ सम्मलाई विद्यालय शिक्षा हुने व्यवस्था गरे पनि कक्षा १० को अन्तिम परीक्षा र नतिजा प्रकाशनलाई साविकको एसएलसीकै शैलीमा निरन्तरता दिईदैं आएको छ । जसले गर्दा विद्यार्थी अभिभावकमा एक प्रकारको तनाव जारी छ । कक्षा १० को अन्तिम परीक्षा पनि अन्य कक्षाहरुको बार्षिक परीक्षा जस्तो मात्रै हो भन्ने गरी सामान्यकृत गर्न नसक्दा परीक्षाको बोझ र तामझाम निरन्तर छ । 

यसैबिच कक्षा १० को अन्तिम परीक्षा एसईई बिहीबारबाट शुरु भएको छ । यस बर्षको परीक्षामा सहभागी हुन पाँच लाख १२ हजार चार सय २१ विद्यार्थीले फारम भरेको नियन्त्रक अधिकारीले जानकारी दिए ।जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उनले बताए । 

परीक्षामा नियमित तर्फ चार लाख ४१ हजार पाँच सय ६६ र ग्रेडवृद्धि तर्फ ७० हजार आठ सय ५५ जनाले परीक्षा दिने छन् । यी मध्ये दुई लाख ५७ हजार छ सय १३ जना छात्रा र दुई लाख ५४ हजार आठ सय सात जना छात्र रहेका छन् । अन्य समूहका सात जना परीक्षार्थी रहेका बोर्डले जनाएको छ । 

परीक्षाका लागि देशभरमा एक हजार नौ सय ६६ केन्द्र निर्धारण गरिएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हो । परीक्षा चैत २९ गते सकिने छ । 

कापी परीक्षणको काम चाँडै सकेर एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । परीक्षणको कामलाई व्यविस्थित बनाउन जहाँ परीक्षा केन्द्र छ त्यहीँ नै कापी परीक्षण गर्ने अथवा परीक्षा केन्द्रमा सम्बन्धित विषय शिक्षक नपाईने वा सुरक्षाको चुनौती देखिएमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइले वैकल्पिक व्यवस्था गरेर अर्को सुरक्षित ठाउँमा गर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था सहितको निर्देशिका शिक्षा मन्त्रालयले बुधबार जारी गरेको छ । उक्त निर्देशिकामा प्रदेशगत रुपमा नतिजा सार्वजनिक गर्न सकिने व्यवस्था समेत समेटिएको छ ।

एसईई नतिजा प्रदेशगत रुपमा गर्ने निर्देशिका जारी

फोटो : एआई 

प्रतिक्रिया