Edukhabar
शनिबार, १० माघ २०८२
गतिविधि

बालबालिकाले खिचेका फोटा : संकटमा पनि सिकाइ निरन्तरताको प्रयास

संकटका कारण विक्षिप्त भएका बालबालिकालाई निरन्तर सिकाइमा संलग्न गराउन एवं संकट पछिको अवस्थामा पनि सिकाइ निरन्तर राख्ने अवधारणा

शुक्रबार, ०९ माघ २०८२

ललितपुर - भुकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति पछि विद्यालय बन्द हुन्छन्, कक्षा कोठामा हुने औपचारिक सिकाइ अवरुद्ध हुन्छ । तर, के विद्यालय बन्द हुँदैमा सिकाइ पनि बन्द हुन्छ त ? यस्तो अवस्थामा बालबालिकाको सिकाइलाई कसरी निरन्तरता दिने ? 

विपत्ति पछि निरन्तर सिकाइका लागि संसारमा विभिन्न अभ्यास भएका छन् । श्रोत, साधन, भौगोलिक अवस्था र सिकाइका क्षेत्रमा कार्यरत सरकारी एवं गैर सरकारी संस्थाहरुका दृष्टिकोण अनुसार विभिन्न अवधारणा तयार पारि लागू गरिएको पाईन्छ । दुई बर्ष अघि भएको जाजरकोट भुकम्पका कारण प्रभावित विद्यार्थीको सिकाइलाई निरन्तरता दिन युनिसेफ र नेपाल स्थित फिनल्याण्ड दुतावासले नौलो शैली अपनाएको थियो – भुकम्प प्रभावित क्षेत्रका विद्यालयका बालबालिकालाई फोटो खिच्न लगाउने ! 

संकटका कारण विक्षिप्त भएका बालबालिकालाई निरन्तर सिकाइमा संलग्न गराउन एवं संकट पछिको अवस्थामा पनि सिकाइ निरन्तर राख्ने अवधारणा अनुसार उक्त कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ । उक्त कार्यक्रमको उद्देश्य आपतकालबाट प्रभावित बालबालिकाका लागि शिक्षाको निरन्तरता सुनिश्चित गर्नु भएको यूनिसेफले जनाएको छ । 

UNICEF_jhalko_edukhabar_cover
झल्को.....

भूकम्पको एक बर्ष पछि सञ्चालित कार्यक्रम अवधिमा पश्चिम रुकुमको श्री भेरी दोभान माध्यमिक विद्यालयका विद्यार्थीलाई तीन दिने फोटोग्राफी कार्यशाला आयोजना गरेर फोटो खिच्ने कला समेत सिकाइएको थियो । कार्यक्रममा सहभागी ११ देखि १६ बर्ष उमेर समूहका १५ विद्यार्थीले खिचेका फोटोहरुलाई ललितपुरमा प्रदर्शनमा राखिएको छ ।

UNICEF_jhalko_photographer_edukhabar
कार्यक्रममा सहभागी १५ विद्यार्थी

युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गा र नेपालस्थित फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शुक्रबार उक्त प्रदर्शनीको उद्घाटन गरेका छन् ।

UNICEF_jhalko_edukhabar
युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गा र नेपालस्थित फिनल्याण्डका राजदूत पेट्री पुहाक्का प्रदर्शनी अवलोकन गर्दै

प्रदर्शनीलाई 'झल्को : पश्चिम रुकुमका झलकहरू' नाम दिईएको छ ।

बालबालिकाले खिचेका फोटो अवलोकन गर्दा कक्षा कोठा बाहिर पनि सिकाइ हुन सक्ने तथ्य मात्रै हैन विद्यार्थीको सृजनात्मक दृष्टिकोण पनि स्पष्ट देखिन्छ । विद्यार्थीले आआफ्ना सोच र सृजनशीलता अनुसार घर, गाउँ, समाज, वातावरण, जीवनशैली, प्रकृती आदी विषयलाई केन्द्रित गरि फोटो खिचेका छन् ।

UNICEF_jhalko_photo_02_edukhabar
प्रदर्शनीमा राखिएका केही फोटो

बालबालिकाले खिचेका मध्ये ५० वटा फोटोहरुलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आउँदो आईतबार सम्म पाटन दरबार क्षेत्रमा खुला  प्रदर्शनीमा राखिने जनाईएको छ ।

UNICEF_jhalko_photo_03_edukhabar
प्रदर्शनीमा राखिएका केही फोटो

प्रदर्शनीको उद्घाटन गर्दै एलिसले आपतकाल पछि शिक्षा भनेको केवल पढाइ मात्र नभई, स्थिरता, सुरक्षा र आशाको बाटो भएको उल्लेख गरिन् । ‘बालबालिकालाई केन्द्रमा राखेर उनीहरूको अनुभव सुन्दा मात्र दिगो पुनःस्थापना सम्भव हुन्छ’ उनले भनिन् । 

UNICEF_jhalko_children_edukhabar
शुक्रबार फोटो प्रदर्शनी हेर्दै कीर्तिपुर स्थित बाघ भैरव माविका विद्यार्थी 

यस्तै राजदुत पेट्रीले भूकम्प, बाढी जस्ता प्राकृतिक विपद्का बाबजुद पनि बालबालिकाको सिकाइ निरन्तर राख्न नेपालले गरेको प्रतिवद्धतालाई सरहाना गर्दै सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा नेपाल सरकार र साझेदारहरूसँग काम गर्न पाउँदा गर्व महशुस भएको उल्लेख गरे । 

‘जब संकट आउँछ र विद्यालयहरू क्षतिग्रस्त हुन्छन्, शिक्षा जीवन जोगाउने माध्यम बन्छ, यस्ता कार्यक्रमले बालबालिकालाई सुरक्षा, नियमितता, मानसिक सहयोग र सामान्य जीवनतर्फ फर्किने अनुभूति दिन्छ ।’ उनले भने ।  

२०८० कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलब ४ रेक्टरको भूकम्प भएको थियो । भुकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा मात्रै २५ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो । भुकम्पले चार सय ३३ विद्यालय पूर्ण रुपमा क्षति भएको र एक हजार तीन सय १८ विद्यालयमा आंशिक रुपमा क्षति भएको शिक्षा मन्त्रालयसँग तथ्याँङ छ ।  भुकम्पले एक हजार दुई सय ८८ कक्षाकोठा पूर्ण रुपमा क्षति भएका र तीन हजार आठ सय ९९ कक्षाकोठा आंशिक क्षति भएको मन्त्रालयको तथ्याँङ छ । मन्त्रालयको विवरण अनुसार भुकम्पले विद्यालयको संरचना भत्किएपछि जाजरकोट, रुकुम पश्चिममा मात्रै एक लाख ३३ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका थिए ।

प्रतिक्रिया