Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

प्रश्नपत्र फिर्ता

शुक्रबार, ०७ चैत्र २०७६

काठमाडौं ७ चैत / माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) स्थगित भएपछि चौकीसम्म पु¥याइएका प्रश्नपत्र फिर्ता गरी जिल्ला प्रहरी कार्यालय वा ‘क’ श्रेणी इलाका प्रहरी कार्यालयमा राखिने भएको छ ।
नयाँ पत्रिकामा एसइईका प्रश्नपत्र चौकीबाट फिर्ता गरी जिल्ला प्रहरी कार्यालयमा राखिने शिर्षकमा लेखिएको खबर अनुसार  शिक्षा सचिवको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समन्वय समितिको बिहीबारको बैठकले प्रश्नपत्र सुरक्षित राख्नका लागि कम्तीमा प्रहरी निरीक्षकको नेतृत्व रहेको प्रहरी कार्यालयमा प्रश्नपत्र राख्ने निर्णय गरेको हो ।

बिहीबारबाट हुने भनिएको एसइईको प्रश्नपत्र परीक्षा केन्द्रनजिकैको प्रहरी चौकीमा पुगिसकेका थिए । शिक्षाका अधिकारीका अनुसार चौकीका भवन कमजोर हुने र जनशक्ति पनि कम हुने भएकाले जिल्ला प्रहरी कार्यालय वा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा राख्ने निर्णय भएको हो । शिक्षा सचिवको नेतृत्वमा भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । 

यस वर्षको एसइईमा एक हजार नौ सय ९५ केन्द्र र कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी सहभागी हुँदै थिए । ती विद्यार्थीका लागि ५१ लाख थान प्रश्नपत्र तयार भएका थिए । एसइईका सबै प्रश्नपत्रको उचित सुरक्षा व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । 

त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले बताए । त्रिविका विभिन्न संकाय र अध्ययन संस्थानअन्तर्गत परीक्षा सञ्चालन भइरहेका थिए । भइरहेका र सुरु हुन लागेका सबै परीक्षा स्थगित गरेको उपकुलपति बाँस्कोटाको भनाइ छ ।

सरकारले बुधबार नै एसइई, सिटिइभिटी तथा विश्वविद्यालयको पठनपाठन बन्द गर्न र परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । तर, त्रिविले बिहीबारको परीक्षा सञ्चालन गरी ७ चैतदेखिको सबै संकाय, अध्ययन संस्थानअन्तर्गतका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बिहीबारको इन्जिनियरिङको परीक्षासमेत स्थगित गर्ने निर्णय गरेको थियो । केही विद्यार्थी परीक्षा केन्द्रमा पुगेर फर्किएका थिए । सरकारले २५ जनाभन्दा बढी भेला नहुनसमेत आग्रह गरेको छ । त्रिविले छात्रावासमा समेत त्यहीअनुसार व्यवस्था मिलाउन आग्रह गरेको छ । 

कोरोना भाइरसको जोखिम बढेपछि शैक्षिक परामर्श केन्द्रहरूसमेत बन्द हुने भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले प्रेस विज्ञप्ति जारी गरी सबै सदस्य संस्थाहरूलाई चैत मसान्तसम्म बन्द गर्न आह्वान गरेको हो । सरकारले सबै शैक्षिक संस्थालगायत चहलपहल हुन क्षेत्रहरूलाई आगामी चैत्र मसान्तसम्मको लागि बन्द गर्ने तथा शैक्षिक परामर्श केन्द्रसमेतलाई बन्द गर्न आह्वान गरेको थियो । 

संघका अध्यक्ष प्रकाश पाण्डेले विज्ञप्ति जारी गरी इक्यान आबद्ध सबै संस्था कार्यालयलाई बन्द गर्न आह्वान गरेका हुन् । शिक्षा मन्त्रालयले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ दिनसमेत बन्द गरिसकेको छ । 

प्रश्नपत्र सुरक्षाका लागि टिनको बाकसमा राखिने भएको छ । केन्द्रअनुसार टिनको बाकसमा दुईवटा ताल्चा लगाउने र एउटाको चाबी सम्बन्धित केन्द्राध्यक्ष र अर्कोको चाबी सुरक्षा इन्चार्जसँग रहने व्यवस्था गरेको छ । टिनको बाकस किन्न राष्ट्रिय परीक्षा बोर्डले बजेटको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया