Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

सरकारको निर्णयलाई चुनौती दिँदै परीक्षा सञ्चालन, घरघरमा पुर्‍याइयोे एसईई दिने परीक्षार्थी

शुक्रबार, ०७ चैत्र २०७६

काठमाडौं ७ चैत / कोरोना भाइरसको सम्भावित संक्रमणबाट हुने जोखिमबाट बच्न पूर्व सतर्कताका लागि सरकारले बिहीबारबाट एसईईसमेत स्थगन गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालयलगायत बन्द गर्ने निर्णय गरेको थियो।

तर, एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले विद्यार्थी बोलाई परीक्षा सञ्चालन गरेको छ। 
अन्नपूर्ण पोष्टमा रवीन्द्र गौतमले दोलखामा बन्द भएनन् विद्यालय शिर्षकमा लेखिएको खबर अनुसार सरकारको निर्णयलाई चुनौती दिँदै एकीकृत विद्यालयस्तरीय परीक्षा समितिले जिल्लाका वटा स्थानीय तहका विद्यालयमा परीक्षा सञ्चालन गरेको छ। समितिले बिहीबार कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रम, कक्षा ६, ७ र ८ को पेसा व्यवसाय तथा कक्षा ९ को स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन गरेको हो।

कक्षा ८ बाहेक जिल्लामा निजी तथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने सो समिति, प्याब्सन र एनप्याब्सनले विद्यालयमा परीक्षा सञ्चालन गरेर सरकार र कोरोना भाइरसको संक्रमणलाई चुनौती दिएका हुन्। जिल्लाका निजी विद्यालयले समेत बिहीबार विद्यालय खोलेर परीक्षा सञ्चालन गरेका थिए।

९ वटा स्थानीय तहमध्ये जिरी नगरपालिकाले बुधबार सम्पूर्ण परीक्षा सम्पन्न गरेर बिहीबारबाट विद्यालय बन्द गरेको छ। गौरीशंकर गाउँपालिकाले बिहीबारदेखिकै सम्पूर्ण परीक्षा स्थगन गरेको छ। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले विद्यालय बन्द नगरेकोबारे जानकारी आएकाले शिक्षा समितिको बैठक बोलाएर शुक्रबार देखि बन्द गर्ने बताए।

बिहीबारबाट सञ्चालन गर्ने तयारी भएको माध्यमिक विद्यालय परीक्षा (एसईई) स्थगन भएपछि बिचल्लीमा परेका विभिन्न ९ वडाका १ सय २९ विद्यार्थीलाई गाउँपालिकाले घरघरमा पुर्‍याइदिएको छ। परीक्षा केन्द्र पुगिसकेका विद्यार्थीलाई घर फर्कन समस्या भएपछि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेर आ–आफ्ना घर फर्काइएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए।

सार्वजनिक यातायातको व्यवस्था नभएका कारण विद्यार्थीलाई घर जाने व्यवस्था मिलाइएको उनले बताए। गौरीशंकर गाउँपालिकाका ५ वटा विद्यालयको एसईई केन्द्र हलेश्वर मावि सुरी परेको थियो। सुरीबाट झ्याँकु, जुँगु, चंखु, मार्बु र खारेका विद्यार्थीलाई जिप र बसको व्यवस्था गरी घरघरमा पठाइएको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खड्काले जानकारी दिए।

प्रतिक्रिया