Edukhabar
मंगलबार, ११ कार्तिक २०८२
शिक्षामा गत साता

मन्त्रीका निर्णयको भविष्य ?!

संस्थागत स्मरणमा नहुने काम कुरा केही दिन हल्लाखल्ला गर्न त काम लाग्छ तर दीर्घकालको नीतिगत दृष्टिका लागि खास केही अर्थ हुँदैन, प्रणाली बनाउन पनि हितकर शैली हैन ।

मंगलबार, ११ कार्तिक २०८२

मन्त्री बनेको एक महिना पुग्दा शिक्षामन्त्रीले मन्त्रालय बाहिर खुला ठाउँमा गरेको पत्रकार सम्मेलनमा मन्त्रींले माईकको मुठो समातेको र शरीरभरी क्लिक वाला माईक लगाएको फोटो गत साता सञ्चार माध्यममा प्राथामिकता रह्यो । 

काठमाडौं - शिक्षामन्त्री महावीर पुनले पत्रकार सम्मेलन गरी आफ्नो एक महिने अवधिमा गरेका कामका बारेमा उल्लेख गरेको समाचार छ । सो अवसरमा मन्त्री पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), विद्यालय तथा पाठ्यक्रम, उच्च शिक्षा तथा विश्वविद्यालय सम्बन्धी तथा संस्थागत सुधार र व्यवस्थापनबारे गरेको निर्णयका विषयमा चर्चा गरे । 

सीटीईभीटीको समस्या समाधान गर्ने, विद्यालयहरूमा प्रधानाध्यापक चयनमा लागि कार्यविधि बनाइरहेको र कार्यविधि बनेपछि राजनीतिक दबाबको आधारमा जथाभाबी प्रधानाध्यापक चयन गर्ने काम नियन्त्रण हुने, अपाङगता भएका र बिरामी शिक्षकलाई सहज ठाउँमा सरुवा गर्न सकिने व्यवस्था गर्नेगरी शिक्षक सरुवाको कार्यविधि परिमार्जनको निर्णय गरेको, पाठ्यक्रममा समावेश गर्न नसकिने विषयहरू योग, जीवन विज्ञान, विपद् व्यवस्थापन लगायत अतिरिक्त क्रियाकलाप अतिरिक्त क्रियाकलाप सम्बन्धी गाइडलाइनमा  समेटी अनिवार्य रूपमा लागू गर्ने, विश्वविद्यालयहरूलाई दलगत राजनीतिकरणबाट मुक्त राख्न बोर्ड अफ ट्रष्टी गठन गर्ने र सोही ट्रष्टीमार्फत निष्पक्ष रूपमा कुलपति चयन गर्न कानूनी व्यवस्था गर्ने तथा त्रिविले परीक्षा भएको तीन महिना भित्र नतिजा सार्वजनिक नगरे अनुदान रोक्का गर्ने निर्णय गरेको कुरा पत्रकार सम्मलेनमा सार्वजनिक गरेको समाचारमा जनाइएको छ । 

निर्णयको जानकारी मन्त्रालयको प्रवक्तालाई हुँदैन र उनले गरेका मन्त्री स्तरीय निर्णयको जानकारी मन्त्रालयको वेवसाइटमा सार्वजनिक भएको छैन तर मन्त्री पुनको सामाजिक सञ्जालमा आउँछ । मन्त्रीले पत्रकार सम्मेलनमा उल्लेख गरेका काम मन्त्रालयको वेवसाइटमा भने छैन । निर्वाचन गर्ने मुख्य म्याण्डेड सहित गठित सरकारका मन्त्री भएकै कारण कर्मचारीको अविश्वास र असहयोगले मन्त्रीले आफ्नो सामाजिक सञ्जालको प्रयोग गरेका हुन कि ? भएका निर्णय मन्त्रालयको रेकर्डमा रहनको लागि पनि मन्त्रालयको वेवसाइट वा सामाजिक सञ्जालबाट सार्वजनिक हुनु जरुरी छ । मन्त्रीले मात्रै सार्वजनिक गर्दा कार्यकाल सकिएसंगै निर्णय पनि सकिने अवस्था आउन सक्छ । संस्थागत स्मरणमा नहुने काम कुरा केही दिन हल्लाखल्ला गर्न त काम लाग्छ तर दीर्घकालको नीतिगत दृष्टिका लागि खास केही अर्थ हुँदैन, प्रणाली बनाउन पनि हितकर शैली हैन । 

यस अघिका सरकारमा भागबण्डा नमिलेर रिक्त रहेका विश्वविद्यालय (विवि)को पदाधिकारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै मन्त्री पुनले कुनै पनि पदमा भनसुन नचल्ने भनेको समाचार छ । नेपाल खुला विविमा रिक्त १० जना र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विविमा ७ जना सिनेटर बिना कुनै राजनीतिक दवावमा नियुक्त गरिएको समाचारमा जनाइएको छ । 

शिक्षामन्त्री पुनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउन छलफल सुरु गरेका छन् । विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाइदाबारे छलफल भएको समाचारमा उल्लेख छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग नेपाल शिक्षक महासंघको  प्रतिनिधिमण्डलले विगतमा आफूहरूबिच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको रातोपाटीमा समाचार छ । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयले सार्वजनिक गरेको समाचार छ । त्रिविको ५ हजार २ सय १८ रोपनी जमिनमध्ये २ हजार ५ सय ३९ रोपनी जग्गा अतिक्रमणमा परेको पाइएको प्रतिवेदनले औल्याएको छ । कीर्तिपुर परिसरमा रहेको करिब १ हजार ८ सय ४३ रोपनी जग्गा अतिक्रमण र हिनामिना भएको देखिएको र कीर्तिपुर बाहिर रहेको मध्ये ६ सय ९६ रोपनी अतिक्रमणमा परेको प्रतिलेदनमा उल्लेख भएको समाचार छ । त्यस्तै कीर्तिपुरमा करिब ८ सय ४३ रोपनी जग्गा २१ संस्था र समूहले अतिक्रमण तथा भोगचलन गर्दै आएको प्रतिवेदनमा औल्याइएको छ । विश्वविद्यालयको जग्गामा निजीदेखि धार्मिकसम्मका १८ वटा संघ संस्थाको रजाइँ रहेको पाइएको समाचार छ ।

त्रिविको जग्गा संरक्षण गर्न नसक्नुमा तत्कालीन प्रधानमन्त्री, शिक्षामन्त्री र पदाधिकारीहरू जिम्मेवार रहेको प्रतिवेदनले औल्याएको समाचारमा उल्लेख छ । गणतन्त्र स्तम्भ निर्माण, बीपी प्लानेटोरियम तथा अब्जरभेटरी, कृषि बागबानी केन्द्र, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई सरकारको अनुरोधमा जग्गा उपलब्ध गराईएको प्रतिवेदनमा उल्लेख भएको समाचारमा औल्याइएको छ । त्यस्तै महानगरीय प्रहरी वृत्त कीर्तिपुर, नेपाल प्राध्यापक संघ, ग्लोबल आईएमई बैंक, लायन्स क्लब इण्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ, राधा स्वामी आदिले पनि त्रिविको  जग्गा भोगचलन  गर्दै आएको  तथा विभिन्न संघसंस्थाले किर्ते कागजात बनाएर आफ्नो नाममा ल्याउने प्रयास गरेको अनलाइन खबरमा समाचार छ । जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनलाई उदृत गरेको समाचारमा लेबोरेटरी माध्यमिक विद्यालयले त्रिविको करिब १ सय ९ रोपनी जग्गा हडपेर आफ्नो नाममा ल्याउन प्रयास गरेको र त्रिविले पटकपटक पत्राचार गरी जग्गा खाली गर्न भनेकोमा लेबोरेटरीले अटेर गरी कब्जा गरिरहेको समाचारमा उल्लेख छ । त्रिविको जग्गा कब्जा गर्नेमाथि अख्तियार र सीआईबीबाट अनुसन्धान गर्न खोजबिन समितिले सिफारिस गरेको छ । नेपाल प्राध्यापक संघले प्रयोग गरेको जग्गाको पनि अख्तियार र सीआईबीले अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ । समाचार अनुसार १ हजार ५ सय  रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको छ । 

काठमाडौं उपत्यकाका आंगिक (सरकारी) क्याम्पसका १ सय ४८ रोपनी १५ आना जग्गा हिनामिना भएको पाइएको कान्तिपुरमा समाचार छ । प्रचलित कानुनले त्रिविको जग्गा संरक्षण, सदुपयोग एवं व्यवस्थापनका लागि कार्यकारी परिषद् तथा अन्य पदाधिकारीलाई तोकेको छ तर उनीहरूबाट अपेक्षित काम हुन नसकेको प्रतिवेदनले औंल्याएको समाचार छ । 

निर्णयकर्ताको मनलाग्दी निर्णयबाट जग्गा वितरण गरिएको, आफैँले बनाएको नियम कानुन नमानेको, त्रिविका पदाधिकारी राजनीतिक नियुक्ति भएका कारण पनि कार्यसम्पादनमा उदासीन रहेको पाइएको भन्दै गोरखापत्रले जग्गा तथा सम्पत्ति संरक्षण गर्न त्रिवि नेतृत्व तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न ढिला गर्न नहुने सम्पादकीय लेखेको छ  । 

पोखरा विश्वविद्यालयले ललितपुरमा आंगिक क्याम्पस सञ्चालमा ल्याएको समाचार छ । पोखरामा चार वटा आंगिक क्याम्पस रहेकोमा यस बर्षदेखि विश्वविद्यालयले ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति क्याम्पसलाई आंगिक बनाएको समाचारमा उल्लेख छ । 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)लाई १० बुँदे माग पत्र बुझाउँदै २३–२४ भदौमा भएको जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाहीको माग गरेको समाचार छ ।

उक्त बिद्रोहका बेला युलेन्स स्कुलमा भएको आगजनी पछि अभिभावकले स्कुलमा तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न माग गरेको समाचार छ । 

पविता मुडवरी पुडाशैनीको कान्तिपुरमा राष्ट्रिय हित र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर वर्तमान शिक्षालाई प्रविधिसँग समन्वय गरी देश विदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्ययोजना ल्याउन पनि अब ढिला गर्न नहुने सार भएको लेख प्रकाशित छ । 

त्यस्तै चन्द्रागिरीका भुवनेश्वर शर्माले ज्ञानको क्षेत्रमा प्रसिद्धि कमाएका महावीर पुन शिक्षामन्त्री बनेपछि देश विदेशमा बस्ने नेपालीमा नयाँ आशा जागेको, लामो समयदेखि चरम राजनीतीकरणको दुश्चक्रमा फसेको शिक्षा क्षेत्र उनकै कार्यकालमा सप्रिनेमा युवा विद्यार्थी मात्रै होइन, आम जनसमुदाय पनि धेरै आशावादी रहेको पाठक पत्र लेखेका छन् । 

दीपिका शर्माले जेन–जीले औपचारिक र लामो प्रक्रिया होइन, संक्षिप्त–रचनात्मक–प्रयोगात्मक सिकाइ मन पराउने भएकोले परिवर्तित प्रविधि र समयअनुरूप पाठ्यक्रम अद्यावधिक गर्नु आवश्यक भएको लेख लेखेकी छिन् । 

प्रेमबहादुर थापाले नेपालका विगतका अभ्यासबाट भएको सिकाइ र संसारका राम्रा अभ्यासलाई हेर्ने हो भने नेपालका सन्दर्भमा बालविकास कार्यक्रमलाई दुई वर्षको बनाउनु व्यावहारिक देखिएको गोरखापत्रमा लेख लेखेका छन् ।  उनका अनुसार पहिलो वर्षमा विद्यालय जाने बानीको विकास गराई खेलाउने तथा हेरविचार गर्ने र दोस्रो वर्षमा शारीरिक, बौद्धिक, सामाजिक, तथा भाषिक विकासमार्फत आधारभूत शिक्षाका लागि पूर्वतयारी गराउनु उपयुक्त हने भनेर लेखेका छन् । 

धनुषाका १२ वटा स्थानीय तहको आन्तरिक विवाद र प्रशासनिक समस्याका कारण स्थानीय तहका शिक्षकले साउन देखिको तलब भत्ता पाउन नसकेको समाचार छ ।  

भारत सरकारले इलाम, झापा र उदयपुर, हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम लगायतका जिल्लाका विद्यालयमा ८१ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको समाचार छ ।

मुलुकभरी तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका भित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको समाचार छ । चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङलाई उद्धृत गरेको समाचार छ । 

पाठ्यपुस्तकको ज्ञानले मात्र अहिलेको अवस्थामा मानिस दक्ष र सक्षम नहुने भन्दै हेटौँडा उपमहानगरपालिकाको हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले विद्यार्थीलाई पाठ्यक्रमका साथै सिपमूलक ज्ञान पनि दिने गरेको समाचार छ । विद्यार्थीलाई परालको गुन्द्री बुन्ने, रोबोटको कोडिङ, फोहोर कागजबाट निमन्त्रणा कार्ड बनाउने लगायत जीवन उपयोगी सिप सिकिरहेको समाचारमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरण अनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड लगेको समाचार छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २८ अर्ब २० करोड थियो । 

कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षामा १३ हजार ९ सय १० विद्यार्थी सहभागी भएकामा ९ हजार ४ सय ५६ जना उत्तीर्ण भएको समाचार छ । 

साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ असोज २५ देखि कात्तिक ७ गते सम्म दुई साताका विषयवस्तु समेटेका छौं – सम्पादक ।

गत साताका सामग्री पढ्नुहोस्  : शिक्षामा गत साता 

प्रतिक्रिया