Edukhabar
आइतबार, ०६ जेठ २०८१
खबर/फिचर

विद्यार्थीद्धारा सूचना टाँस : जबसम्म शिक्षक आउँदैनन्, विद्यालय बन्द !

विहीबार, १४ भदौ २०७५

हेटौंडा - मकवानपुरको उत्तर पश्चिम क्षेत्रमा पर्ने कैलाश गाउँपालिका वडा–३ मा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयको ढोकैमा सूचना टाँसेका छन् । उनीहरुको माग छ – जबसम्म गणित शिक्षक आउँदैनन् तबसम्म विद्यालय बन्द रहने छ । 

उनीहरुको प्रश्न छ – हाम्रो भविष्यमाथि खेलवाड कतिञ्जेल सम्म ? 

उनीहरुले भनेका छन्–जबसम्म शिक्षक आउँदैनन्, तबसम्म विद्यालय बन्द रहनेछ । हामीले वर्षौं कुरिसकेका छौं, अब कुर्न सक्दैनौं । 

यही माग सहित उनीहरुले गाउँपालिका अध्यक्ष टंक मोक्तानलाई मंगलबार घेराउ समेत गरे । विद्यालयमा लामो समयदेखि रिक्त गणित शिक्षक व्यवस्थापनका लागि पटक÷पटक आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै विद्यार्थीले अध्यक्ष मोक्तानलाई कार्यालय परिसरमै घेराउ गरेका हुन् ।

विद्यालयमा एक वर्षदेखि गणित शिक्षक छैनन् । यसले गर्दा आफूहरुको पठनपाठन अस्तब्यस्त भएको कक्षा–१० का सरोज थिङले बताए । उनीसँगै ३५ विद्यार्थी शिक्षक बिना एसईईको तयारीमा छन् । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद तिमल्सेनाले रिक्त शिक्षक पदपूर्ति गर्न पटक÷पटक आग्रह गर्दासमेत वास्ता नगरिए पछि विद्यार्थी आन्दोलनमा उत्रन वाध्य भएको बताए ।

'विद्यार्थीले हामीलाई पटकपटक शिक्षक पदपूर्ति गर्न दबाब दिएपछि केही समयका लागि निजी स्रोतबाट शिक्षक नियुक्ति गरका थियौं, तर उहाँले छाड्नु भएपछि अब झन् समस्या उत्पन्न भएको छ' उनले भने । 

गाउँपालिकाले दलगत स्वार्थ राखेर शिक्षक नियुक्ति गर्न अनुमति नदिएको स्थानीयको आरोप छ ।

आफूहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले तत्काल शिक्षक ल्याउनुपर्ने शर्त राखी कागज गर्न आग्रह गर्दा सामाजिक विकास संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष सुमन सिटौलाले आफूहरु माथि अभद्र व्यवहार गरेको विद्यार्थीको आरोप छ । तुरुन्त शिक्षक पदपूर्ति गर्न, आफूहरुको भविष्यमाथि खेलवाड नगर्न माग राख्दा संयोजक सिटौलाले तँ को होस् ? तेरो ऋण खाइदेको छु ? जस्ता अपशव्द प्रयोग गरी उल्टै गालीगलौज गरेकोप्रति गम्भीर आपत्ति रहेको र माफी माग्नुपर्ने विद्यार्थीको माग छ ।

विद्यार्थीका समस्या बताउँदा अपशव्द प्रयोग गर्नु निन्दनीय भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर प्रजाले बताए । विद्यार्थीको माग जायज भएको बताउँदै उनले विद्यार्थीको एकमात्र उचित माग सम्बोधन गर्नुभन्दा पनि अपशव्द बोल्नु गलत भएको बताए । मकवानपुरमा अझै एक दर्जन माध्यमिक विद्यालयमा शुन्य दरबन्दी छ । 

यस विद्यालयमा पनि राहतका ३ सहित ५ शिक्षक मात्रै छन् । शिक्षक अभावले समस्या परिरहेको भन्दै उनले लामो समयदेखि गाउँपालिकाको आशामा बसिरहेको र बस्दाबस्दा थकित भएको गुनासो गरे । शिक्षक व्यवस्थापन नभएसम्म अनिश्चितकालीन विद्यालय बन्द गर्ने र गाउँपालिकामा ताला लगाउने कार्यक्रम रहेको विद्यार्थीले बताएका छन् ।

प्रतिक्रिया