Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

स्थायी शिक्षक परीक्षाको केन्द्र निर्धारण, फारम भरेको जिल्लाबाट दिन नपाईने

बुधबार, २० भदौ २०७५

भक्तपुर - आगामी असोजमा हुने स्थायी शिक्षक परीक्षाका लागि शिक्षक सेवा आयोगले केन्द्र निर्धारण गरेको छ । फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय भएको आयोगले जनाएको छ । 

यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ उही जिल्लाबाट परीक्षा दिनु पर्ने छ । 

उदाहरणका लागि झापामा केन्द्र तोकिएका ईलामका परीक्षार्थीले प्रावि, निमावि र मावि तिनै तहको परीक्षा झापामै दिनु पर्ने छ ।

उही जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरवदल गरेको हो । 

अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरा पछि तोकिने आयोगले जनाएको छ । 

आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् । यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।  

अपडेट :

आयोगले तोकेको परीक्षा केन्द्रको विस्तृत विवरण :

केही जिल्लाका परीक्षार्थीलाई असुविधा हुने हुँदा सोही जिल्लामा केन्द्र निर्धारण गर्न माग भए पनि परीक्षाको मर्यादा कायम गर्न आवश्यक भएकोले त्यसो गर्न नसकिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताए । 

'खास गरी हुम्लाका सवालमा यस्तो कुरा आएको थियो, तर हामीले परीक्षाको मर्यादा र विश्वसनीयता कायम गर्न पनि उक्त निर्णय गर्न सकेनौं' उनले भने, 'हुम्लाबाट फारम भर्नेहरु मध्ये कतिपय परीक्षार्थी बाहिरी जिल्लाका पनि छन्, उनीहरुलाई पनि हेक्का गर्नु पर्ने देखियो ।'

हुम्ला सहित कर्णालीको परीक्षा केन्द्र सुर्खेत तय गरिएको उनले बताए ।  

प्रतिक्रिया