Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

निजी श्रोतका शिक्षकका नाममा शुल्क उठाउन रोक, आधारभूत तह पूर्ण नि:शुल्क

सोमबार, २५ भदौ २०७५

दाङ् - निजी श्रोतका शिक्षकलाई खुवाउने तलबका नाममा उठाईदैं आएको शुल्कमा रोक लगाएर राप्ती गाउँपालिकाले आधारभूत अर्थात् कक्षा १ देखि ८ सम्म पूर्ण नि:शुल्क घोषणा गरेको छ । अब कुनै पनि बहानामा विद्यालयले विद्यार्थीसँग शुल्क लिन पाउने छैनन् । निजी स्रोतमा कार्यरत शिक्षकको तलब खुवाउन भन्दै सहयोगको नाममा अभिभावकबाट शुल्क उठाउने काम देशभरका प्राय सामुदायिक विद्यालयले गर्दै आएका छन् ।  

तर, आफूहरुले संविधानले गरेको आधारभूत तह सम्म नि:शुल्क र अनिवार्य तथा माध्यमिक तह सम्म अनिवार्य हुने ब्यवस्था कार्यान्वयनको प्रकृया शुरु गरेको पालिका उपाध्यक्ष जगदम्बा चौधरीले बताईन् । 

अधिकाँश अभिभावक विपन्न वर्गका भएकोले शुल्क तोक्दा विद्यार्थीले पढाईनै छाड्ने क्रम बढे पछि यस्तो निर्णय गरेको उनले बताईन् । पालिकाको यो निर्णयसँगै आधारभूत तहमा अध्ययन गर्ने चार हजार ७ सय ८७ विद्यार्थी र तिनका अभिभावक शुल्कको बोझबाट मुक्त भएका छन् ।  

'विद्यालय तह सम्मको शिक्षा सञ्चालनको काम स्थानीय सरकारकै हो, त्यसैले हामी सँविधानले गरेको ब्यवस्था अनुसार अघि बढेका हौं' चौधरीले भनिन्, 'एकातिर विद्यालयलाई तिर्नु पर्ने शुल्क नभएर बिचमै पढाई छाड्ने विद्यार्थीको संख्या बढ्नु अर्कातिर निजी श्रोतका शिक्षकले निकै कम पारिश्रमिकमा काम गर्नु पर्ने हुँदा गुणस्तर सुधार नभएको निष्कर्ष साथ पालिकाले यस्तो निर्णय गरेको हो ।' 

यो निर्णय गत साउन १ गते देखि नै लागू हुने गरी गरिएको पालिकाले जनाएको छ । नतिजाका आधारमा उपलब्ध गराउने गरी प्राप्त ११ लाख र तलबकै लागि पालिका बैठकबाट विनियोजित १ करोड गरी १ करोड ११ लाख रुपैंयाबाट निजी श्रोतका शिक्षकको तलब ब्यवस्थापन गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताए । 

'अहिले सम्म ३–४ हजार रुपैंयामा मात्रै काम गर्ने शिक्षकहरु पनि रहेछन्, अहिलेको अवस्थामा त्यति तलबले के हुन्छ ? अनी सार्वजनिक शिक्षा सुधार भएन भनेर चिन्ता गरेर मात्रै कहाँ हुन्छ र !' उनले भने, 'त्यसैले हामीले उनीहरुका लागि तलब स्केल पनि तयार पारेका छौं, गुणस्तर सुधार भए नभएको अनुगमन पनि प्रभावकारी गर्छौ ।' 

अहिले सम्म प्राथमिक तहका शिक्षकले ४ हजार र निमावि तहका शिक्षकलाई विद्यालय अनुसार अधिकतम १७ हजार रुपैंया सम्म मासिक तलब दिईदै आएको थियो । यी मध्ये कतिपय शिक्षकले महिनौंको तलब नपाएको गुनासो पालिकामा गरेका थिए । 

'एक जना शिक्षकको त १ लाख २३ हजार सम्म तलब लिन बाँकी रहेछ, एकातिर तिनै निजी श्रोतका शिक्षकको तलब भन्दै अभिभावकले शुल्क बुझाईरहनु पर्ने, अर्कातिर शिक्षकले पनि नपाउने हुँदा दुवै तिर मर्का परेको थियो' भुसालले भने,  'अब आधारभूत तह मध्ये १–५ का लागि १२ हजार र ६–८ का लागि १४ हजार तलब तय गरेको तलब पालिकाले नै सम्बन्धित शिक्षकलाई बुझाउँछ ।' 

अहिले आधारभूत तहका शिक्षकको तलब २१ देखि २३ हजार सम्म छ । यसलाई शुरुवातका रुपमा बुझ्नु पर्ने भन्दै भुसालले पालिकाले बृद्धि गर्ने आर्थिक श्रोतको अनुपातका आधारमा शिक्षकको तलबमा पुनरावलोकन हुँदै जाने र आवश्यक शिक्षक दरबन्दीमै भए पछि यो समस्या नै समाधन हुने बताए । 

पालिका भित्र एउटा मदरसा सहित ३० विद्यालय छन् । आधारभूत तहमा १ सय ३० जना दरबन्दी र ७८ जना निजी श्रोतमा कार्यरत रहेका छन् । अहिले निजी श्रोतका शिक्षकहरुसँग भएको अध्यापन अनुमतिपत्र र नियुक्ति प्रकृयाको बैधानिकता हेरेर कार्यान्वयमा अघि जाने गरी विवरण संकलनको काम भईरहेको उनले बताए ।  

प्रतिक्रिया