Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको नतिजा क्रमशः सार्वजनिक गर्ने तयारी, खुल्लाको रुजु सरु

विहीबार, ०८ कार्तिक २०७५

भक्तपुर - अस्थायी शिक्षकको परीक्षाको नतिजा क्रमशः सार्वजनिक गर्ने शिक्षक सेवा आयोगले तयारी गरेको छ । दशैं अघि नै नतिजा सार्वजनिक गर्ने पूर्व योजना असफल भएपछि आयोगले काम सकिदैं गएका विषयहरुको नतिजा सार्वजनिक गर्दै जाने योजना बनाएको हो । 

नतिजा अघि गर्नु पर्ने मार्किङ् लगायतका प्रकृया पहिलो चरणमा सकेर केही विषयहरुमा अन्तिम रुजु गर्दै दोश्रो चरणका कार्य प्रारम्भ गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी  दिए । 

'हुन त हामीले दशैं अघि नै नतिजा सार्वजनिक गर्ने योजना बनाएका थियौं, त्यही बीचमा परेको खुल्लाको परीक्षा सञ्चालन लगायतका अन्य काम सम्पन्न गर्नु पर्दा भ्याईएन, अब द्रुत गतिमा कार्य सञ्चालन गरिरहेका छौं' उनले भने, 'दशैं सकिना साथ हामीले काम गर्ने अवधि पनि बढाएका छौं, विहानै देखि कर्मचारीहरु खटिएका छन्, अब काम सकिएका विषयहरुको नतिजा क्रमशः सार्वजनिक गर्दै जाने योजना छ ।' 

एक साता भित्र दोश्रो चरणको कार्य सकेर नतिजा प्रकाशनको कार्य शुरु गर्ने आयोगले तयारी गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । जसमा  प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् । 

यसैविच गत असोज ११, १२ र १३ गते भएको खुल्लाको परीक्षामा सहभागीहरुको उत्तर पुस्तिका रुजु गर्ने काम पनि आयोगले संग संगै गरिरहेको थपलियाले जानकारी दिए । 

'उत्तर पुस्तिका कोडिङ् गर्नु अघि ब्यक्तिको नाम, नामेसी, सिम्बोल नम्बर र विषयहरुलाई टेवुल बनाएर राख्ने काम भईरहेको छ, यो कोडिङ्कै तयारी हो' उनले भने, 'जिल्लाबाट प्राप्त भएका उत्तरपुस्तिका अर्डरमा नै आएको भए सजिलो हुने तर कतिपय जिल्लाबाट तलमाथि भएर आएकोले त्यसलाई मिलाएर बल्ल परीक्षणको प्रकृयामा जानु पर्ने भएकोले आयोगका कर्मचारीको टोली अहिले त्यही काममा लागि रहेको छ ।'

एउटै परीक्षार्थीको विषयगत २ वटा र बस्तुगत एउटा गरी तीन थरी कापी हुने भएकोले सबै भन्दा पहिला ती तीनै थरी कापीलाई एकै ठाउँमा मिलाउनु पर्ने हुन्छ । यसरी  मिलाएपछि बल्ल कोडिङ् गर्दा सम्बन्धित परीक्षार्थीको कापी एकै ठाउँमा पर्ने जसले गर्दा उसले पाएको नम्बर तलमाथि नपर्ने हुन्छ । यो निकै संवेदनशील काम भएकोले पनि सजगताका साथ गर्नु पर्दा केही समय लाग्ने थपलियाले बताए । 

खुल्ला परीक्षामा फारम भरेका मध्ये लगभग ८० प्रतिशत परीक्षामा सहभागि भएको आयोगले जनाएको  छ ।  आयोगले गत जेठ ३१ गते प्रावि र असार १ गते निमावि तथा माविको खुल्ला विज्ञापन गरेको थियो । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन गरिएको छ । उक्त विज्ञापन अन्र्तगत असोज ११ गते माविको, १२ गते निमाविको र १३ गते प्राविको परीक्षा भएको थियो ।

विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका थिए । उक्त परीक्षाका लागि आयोगले ३४ जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको थियो । 

प्रतिक्रिया