विकास पण्डित


- श्यामल / व्यक्ति र समाजको क्रुर यथार्थहरुको जीवन्त चित्रण गर्ने संवेदनशील कविहरुको पंक्तिमा पर्ने सर्जक हुन् । उनको लेखाई गुणात्मक मूल्यका दृष्टिकोणले उच्च र सशक्त रहेको छ । यो साताको शिक्षा साहित्य श्रृखलामा २०६० सालमा प्रकाशित उनको कविता संग्रह लयब्रम्हमा समाबेश विकास पण्डित :

विकास पण्डित
झोलाभरि राखेर
इकोलोजीका जेनेभा प्रिन्ट ग्रन्थहरु
ओभरहेड प्रोजेक्टरबाट देखाउँछ
गरिबीको चक्र
र, राजधानीका रियल स्टेटसँग
खरिद गर्छ
छ आना जग्गा ।

विकास पण्डित
छात्रवृत्तिको खोजमा आउँछ
मेरो गाउँमा ।

विकास पण्डित
इन्कार गर्छ विकासका समस्त धारणा
लैङ्गिक असमानताविरुद्ध लड्दै
पुग्छ कमला तामाङको भट्टी पसलमा
र, साँझपख
स्तनका स्पर्शहरु लिएर
फर्कन्छ डेरामा ।

विकास पण्डित
आपत्कालीन सौर्यबत्तीको
धमिलो प्रकाशमुनि बसेर
लेख लेख्छ अँग्रेजीमा
राजधानीको कुनै कोठामा
राखिएकी छ उसकी
ग्रयाजुएट स्वास्नी
जसका लागि
विकासे झोला भिरेर
विकास पण्डित पसेको छ
मेरो गाउँमा ।

उसले पठाएको छ मलाई
स्टेसनरी पसलको दलाल कार्यालयमा
र, स्कूल गार्मेन्ट्सको मुन्सीखानामा
कृपावस
म पनि स्वावलम्बी हुँदै छु
आत्मविकासमा
म बुझ्दछु
ऊ केही अँक लिएर फर्कनेछ यस गाउँबाट
केही अनौठा स्मृतिहरु लिएर फर्कनेछ
केही चित्रहरु लिएर फर्कनेछ ।

विकास पण्डित
आफ्नो जागिर थाम्न
म्वाईं खान्छ डाइरेक्टरका छोराछोरीलाई
घडेरी खरिद गर्छ दामी ठाउँमा
र, लेख लेख्छ गरिबका नाउँमा ।