Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विधेयकको प्रतिवेदन संसदमा पेश

आइतबार, २९ पुस २०७५

काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथि संसदीय समितिमा भएको दफावार छलफल पछि तयार प्रतिवेदन संसदमा पेश भएको छ । आइतबारको बैठकमा संसदको शिक्षा तथा स्वास्थ्य समितिकी  सभापति जयपुरी घर्तीले प्रतिवेदन पेश गरेकी हुन् ।

गत पुस २५ गते समितिको बैठकले बहुमतका आधारमा उक्त प्रतिवेदन पारित गरेको थियो । चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा. डा. गोविन्द केसीको १६ औं सत्याग्रह शुरु भएको ५ दिनमा बल्ल उक्त प्रतिवेदन संसदमा पेश गरिएको छ ।  समितिबाट पारित उक्त विधेयक सरकारले आफूसँग गरेको सहमति विपरीत भएको भन्दै सोही दिन देखि केसीले इलाममा अनशन शुरु गरेका छन् ।

संसदको भदौ १३ गतेको बैठकले विधेयक माथि प्राप्त संशोधन सहित दफाबार छलफलका लागि संसदीय समितिमा पठाएको थियो । समितिले असोज ११ गते विधेयक माथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो । यस बीचमा उपसमितिले शिक्षा मन्त्री, संशोधन दर्ता गर्ने सांसद र विज्ञसँग समेत छलफल गरी पुस समितिलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन बुझेको दुई दिन पछि बिपक्षीदलका सांसदको असहमतीका बावजुद बहुमतका आधारमा प्रतिवेदन पारित गरिएको थियो ।   

प्रतिक्रिया