Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

वडाध्यक्षका छोराले हेडसर कुटे, विद्यालय बन्द, जाईकाले बनाईदिएको भवनमा विवाद

सोमबार, ३० पुस २०७५

गोरखा - भिमसेन गाउँपालिका स्थित विन्द्रावती माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई वडाध्यक्षका छोराले हातपात गरेको विरोधमा पालिका भित्रका विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक उत्तर नारायण श्रेष्ठलाई वडाध्यक्ष बद्रिनारायण श्रेष्ठका छोरा शिव कुमार श्रेष्ठले आईतबार हातपात गरेका थिए । घटनाको विरोधमा पालिका भित्रका सबै ४२ वटै विद्यालय बन्द गरिएको प्रअ श्रेष्ठले बताए । 

'दोश्रो घण्टि पढाएर कक्षाबाट निस्कदैं थिएँ अकस्मात मेरो जग्गामा बनेको विद्यालय भवन हटाईदे भन्दै हातपात गरे' प्रधानाध्यापक श्रेष्ठले भने, 'विद्यालय बनेको जग्गा तपाईकै बाबुले दान गर्नु भएको हो, बनिसकेको भवन मैले कसरी हटाउने ? तपाईको कुरा व्यवस्थापन समितिमा राख्छु मात्रै के भनेको थिएँ, तैंले मलाई कानून सिकाउने भन्दै धकेलेर लडाईदिए ।' 

व्यवस्थापन समितिका अध्यक्ष उनै शिवका बाबु बद्रि हुन् । उनी अध्यक्ष हुनु अघि शिव नै अध्यक्ष थिए । अहिले उनी समितिका सदस्य छन् । 

विद्यालयमै आएर हातपात गरेपछि सुरक्षाको माग सहित प्रअ श्रेष्ठले गरेको उजुरीका आधारमा शिव कुमार श्रेष्ठलाई प्रहरीले पक्रेको छ । उक्त घटनाको विरोधमा शिक्षक महासंघको आह्वानमा जिल्ला भरिका विद्यालयका शिक्षकहरुले कालोपट्टी बाँधेर पठन पाठन गर्न शुरु गरेको प्रअ श्रेष्ठले बताए । 

प्रअ श्रेष्ठ तत्कालिन माओवादी निकट शिक्षक संगठनका अध्यक्ष हुन् भने वडाध्यक्ष श्रेष्ठ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । यो घटनामा पनि राजनीतिक गन्ध मिसिएको हुन सक्ने स्थानीय अभिभावकले अड्कल काटेका छन् । 

तर प्रअ श्रेष्ठ उनकै बाबुले दिएको जग्गामा जाईकाले ६ कोठे भवन बनाएपछि छोराले किचलो गरेको दावी गर्छन्  । भूकम्पले क्षती भएको उक्त विद्यालयमा ९ करोडको लागतमा जाईकाले भवन बनाई रहेको छ । भवन निर्माणको काम लगभग सकिएको र फागुन ७ गते विद्यालयलाई हस्तान्तरण गर्ने तय भएको प्रअ श्रेष्ठले बताए । 

वडाध्यक्ष श्रेष्ठ भने उक्त जग्गा आफूले २०६७ सालमै माईन्युट गरेर विद्यालयलाई दिएकोले त्यसमा  विवाद गर्नुको औचित्य नभएको बताउँछन् । 

'घटना हुँदा म पनि बाहिर थिएँ, शिक्षकहरुले प्रहरीमै उजुरी गरेर मेरो छोरोलाई थुनाउनु भएको रहेछ, म त जनप्रतिनिधि मान्छे न्याय अन्याय के भएको रहेछ बुझे पछि मात्रै यकिन कुरा भन्न सक्छु' उनले भने, 'शिक्षकलाई पनि भेटेँ कुराकानी गरौं भनेको छु, समस्या प्रहरीमा पुगिसकेको अवस्थामा उतैबाट केही कारवाही होला ।'

पुख्र्यौली सम्पत्तिको उक्त जग्गा आफ्ना दाजु भाई नछुट्टिदैं विद्यालयलाई दान दिएको बद्रीले बताए ।

'गाउँघरको चलन नापी नक्सा भन्दा पनि साँध किलो हेरेर यत्ति जग्गा विद्यालयलाई भनेर दिएको हो, भवन त्यही जग्गामा बनाईएको छ', उनले भने, 'एउटाले जानेर नजानेर गल्ती गर्यो भन्दैमा यसलाई ठूलो समस्याका रुपमा लैजानु हुँदैन भन्ने मेरो राय छ, हेरौं सरहरु के भन्नु हुन्छ ।' 

प्रतिक्रिया