Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा ऐन निर्माणको गृहकार्य, सबै क्षेत्रलाई एउटैमा समेट्ने तयारी

बुधबार, २३ माघ २०७५

काठमाडौं - देशको बदलिदों संरचना र व्यवस्थालाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा ऐन निर्माणको गृहकार्य शुरु गरेको छ । यस अघि उक्त ऐनको नाम संघीय शिक्षा ऐन राख्ने गरी मन्त्रालयले आन्तरिक तयारी गरेको थियो । 
देशको बदलिदों संरचना र व्यवस्था सुहाउँदो शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पनि आफ्ना सुझावहरु संघीय ऐन बनाएर कार्यान्वयन गर्न सिफारिस गरेको छ । तर नयाँ बन्ने ऐनलाई शिक्षाका सबै क्षेत्र समेट्ने गरी निर्माण गर्न आवश्यक रहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको निष्कर्श साथ त्यसको नाम राष्ट्रिय शिक्षा ऐन राख्ने गरी छलफल शुरु भएको उनी निकट श्रोतले जनाएको छ । 

यस अघि विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा लगायतका क्षेत्रका लागि छुट्टा छुट्टै ऐन निर्माण गर्ने मन्त्रालयको आन्तरिक तयारी थियो । फागुन भित्रै ऐन जारी गर्नु पर्ने समय सीमा तथा शिक्षा मन्त्रालयलाई लाग्दै आएको विद्यालय शिक्षा मन्त्रालयको आरोपलाई तोडेर फराकिलो दायरामा पुर्याउन आवश्यक रहेको भन्दै सबै क्षेत्रलाई एउटै ऐन मार्फत् सम्बोधन गर्ने गरी मन्त्रालयले तयारी थालेको हो । 

धेरै विषयहरु अझै मूर्त रुपमा तय भईनसकेको तर साविकको शिक्षा विभागलाई राष्ट्रिय शिक्षा विभागका रुपमा राख्ने प्रस्ताव गरिएको मन्त्री निकट श्रोतले जनाएको छ । 

ऐनका विषयमा मन्त्रालयले मंगलबारबाट उच्च कर्मचारीहरु बीच छलफल शुरु गरेको छ । बुधबारबाट शिक्षक महासंघ सहित अन्य सरोकारवालाहरु बीच छलफल गर्ने मन्त्रालयको तयारी छ । 

'पहिलो दिनको छलफलमा प्रस्तावना, परिभाषा, विद्यालयको अनुमती, गाउँ नगर शिक्षा समिति, जनशक्ति लगायत प्रारम्भिक विषयमा मात्रै छलफल भएको छ' उक्त श्रोतले भन्यो, 'शिक्षक कर्मचारीको पद व्यवस्थापनमा श्रेणी हुने की तह हुने भन्ने जस्ता पेचिला कुरा पनि उठेका त थिए तर पनि टुङ्गोमा पुग्न समय त लागि हाल्छ ।' 

अहिलेको छलफलमा प्रस्तुत मस्यौदा प्रारम्भिक चरणको भएकाले यसमा धेरै कुरा थप घट गर्न आवश्यक रहेको उक्त श्रोतले जनाएको छ । तर कम समय सीमाका कारण फटाफट काम सक्नु पर्ने उक्त श्रोतले जनाएको छ । 

मन्त्री गिरिराजमणि पोखरेलले उक्त ऐन निर्माणको जिम्मा तत्कालिन सहसचिव सूर्य गौतमलाई दिएका थिए । ऐन निर्माणको प्रकृया जारी रहेकै बेला उच्चस्तरीय शिक्षा आयोगले दिने सिफारिस पछि उक्त सुझाव सहित ऐन निर्माणको काम शुरु गर्ने मन्त्रीको योजना थियो । आयोगले प्रतिवेदन बुझाए लगत्तै विद्यालय शिक्षा महाशाखाका प्रमुख गौतमको सचिवमा बढुवा भए पछि उक्त काम केही दिन रोकिएको थियो । अहिले उनको स्थानमा सरुवा भएका कृष्णप्रसाद काप्रीको अगुवाईमा ऐनको मस्यौदा निर्माणको काम अघि बढेको उक्त श्रोतले जनाएको छ ।  

प्रतिक्रिया