Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विद्या र सिर्जनाकी देवीका रुपमा सरस्वतीको आराधना

आइतबार, २७ माघ २०७५

काठमाडौं - विद्या र सिर्जनाकी देवीका रुपमा हिन्दु धर्मावलम्बीहरुले  सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाईरहेका छन् । मन्दिरमा मात्रै नभई विद्यालय र घरघरमा विद्यार्थीले सरस्वतीको पूजा आराधान गरेर यो पर्व मनाएका हुन् ।

सरस्वती पूजाको दिन विद्यालयहरुमा हुने चहल पहल भने पछिल्लो समय घट्दै गएको देखिन्छ । खास गरी धर्मनिरपेक्ष राष्ट्र भएसँगै सरस्वती पूजाको क्रम क्रमशः घट्दै गएको हो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीलाई  वसन्त पञ्चमी पनि भनिन्छ । यो दिन सरस्वतीका आराधना गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ । आजकै दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास सहित विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।

विद्यार्थी र शिक्षकले मात्रै नभई सरस्वतीलाई विद्या र सिर्जनाकी देवीका रुपमा साहित्यकार, कलाकार, पत्रकार, लगायतले आ–आफ्नाकला सृजना र साधनाका साधनलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सरस्वतीलाई ऋग्वेदमा वाग्देवीका नामले पुकारिएको छ । उनको पुजाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास छ । हिन्दुहरुको पुराण गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसद्धि प्राप्त हुने उल्लेख छ ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको धार्मिक मान्यता छ ।

अपडेट :

सरस्वती पूजाका अवसरमा काठमाडौंको हनुमानढोका स्थित नासल चोकमा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीले वसन्त श्रवण गरेका छन् ।

प्रतिक्रिया