Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

सहसचिवको समायोजन : शिक्षाका सहसचिवको न पद मिल्छ न कार्यालय !

मंगलबार, २९ माघ २०७५

काठमाडौं - सरकारले ६ सय ६२ सहसचिवलाई समायोजन गरेको छ । देशको संरचना परिवर्तन भए पनि सरकार गठन भएको एक बर्ष सम्म कर्मचारी समायोजन हुन सकेको थिएन । ढिलो गरी भएको उक्त समायोजन अनुुसार अनलाइन फाराम भरेका आधारमा सहसचिवको  समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको छ ।

अनलाईन मार्फत् सार्वजनिक उक्त विवरणमा शिक्षाका सहसचिवको पद र हाल कार्यरत कार्यालयको नाममा भने भद्रगोल गरिएको छ । संघीयतासँगै खारेज भएको शिक्षा विभागको नाम शिक्षा तथा मानव श्रोत  विकास केन्द्र भईसक्दा पनि उक्त सूचीमा पुरानै नाम उल्लेख गरिएको छ । यति मात्रै हैन सचिवमा बढुवा भईसकेका सहसचिवको नाम समेत उक्त सूचीमा सहसचिवकै रुपमा उल्लेख गरिएको छ । शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सूर्यप्रसाद गौतमको पुस २९ गते सचिवमा बढुवा भए पनि उक्त सूचीमा उनलाई शिक्षा मन्त्रालयकै सहसचिव उल्लेख गरिएको छ । गौतमको कामू महालेखा नियन्त्रकका रुपमा सरुवा भईसकेको छ । संघीयता सँगै शिक्षा र विज्ञान मन्त्रालय गाभिएको एक बर्ष भईसक्दा पनि उक्त सूचीमा शिक्षा मन्त्रालयकी सहसचिव देवकुमारी गुरागाईलाई विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव उल्लेख गरिएको छ । शिक्षा मन्त्रालयको प्रवक्ता समेत रहेका योजना महाशाखा प्रमुख बैकुण्ठ प्रसाद अर्याललाई उक्त सूचीमा महानिर्देशक उल्लेख गरिएको छ ।

मन्त्रीपरिषद्को माघ २१ को निर्णय अनुसार भन्दै संघीय मन्त्रालयद्वारा सार्वजनिक उक्त सूचीमा माघ ८ गते नै शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशकका रुपमा सरुवा भईसकेका टेकनारायण पाण्डेको हालको कार्यालय पाठ्यक्रम विकास केन्द्र उल्लेख छ । जब की उनी गुणस्तर परीक्षण केन्द्रमा सरुवा हुनु अघि पनि उक्त निकायमा थिएनन् । उनी शिक्षा तथा मानव श्रोत  विकास केन्द्रका निर्देशक थिए । तीन साता अघि भएको पाण्डेको सरुवा सँगै गुणस्तरका महानिर्देशक कृष्णप्रसाद काप्रीको मन्त्रालयमा सरुवा भएको थियो । तर उक्त सूचीमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र नै काप्रीको हालको कार्यालय उल्लेख छ ।  यस्तै खगेन्द्र प्रसाद नेपाललाई संघीयतासँगै एक बर्ष अघि खारेज भएको शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक भएको उक्त सूचीमा उल्लेख छ । खारेज भएको अनौपचारिक शिक्षा केन्द्रमा सहसचिव चुडामणि पौडेल कार्यरत रहेको उक्त सूचीमा उल्लेख छ । शिक्षा मन्त्रालयका अन्य सहसचिव संघ अन्र्तगत समायोजन गरिए पनि नेपाल एक जनाको मात्रै प्रदेशमा समायोजन गरिएको छ ।

शिक्षाका सहसचिवको समायोजन हेर्नुहोस् :

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको जनाएको छ ।

पढ्नुहोस् सरुवाको पूर्ण विवरण :

यस अघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र दिने जनाईएको छ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । सरकारले आगामी फागुन ३ गतेसम्म सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

प्रतिक्रिया