Edukhabar
मंगलबार, २४ भदौ २०८२
खबर/फिचर

राहत शिक्षक विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

बुधबार, २२ फागुन २०७५

काठमाडौं - स्वतः स्थायीको माग सहित राहत शिक्षकले आन्दोलन चर्काईरहँदा नक्कली प्रमाणपत्र बुझाएर राहत शिक्षकको नियुक्ति लिएका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

उतिम नवआदर्श प्राथमिक विद्यालय, बाराका राहत शिक्षक दिनेश कुमार पाल भेडिहरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोग सहित अख्तियारले मुद्दा दायर गरेको हो । 

विहार विद्यालय परीक्षा समिति, पटनाको रा.कृत उच्च विद्यालय, मधुवन, भारतबाट प्राप्त गरेको एस.एल.सी. तहको शैक्षिक प्रमाणपत्र बुझाएर भेडिहरले राहत शिक्षकमा नियुक्ति लिएका र छानविनबाट उक्त प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । 

भेडिहरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले छानबिन गरी कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राहतकोटा शिक्षक पदमा नियुक्ति लिई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको दावि सहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । 

 

प्रतिक्रिया