Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

गलत लिखत तयार गरी राहत शिक्षक, अख्तियारद्वारा मुद्दा दायर

मंगलबार, ०५ चैत्र २०७५

काठमाडौं - गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति दिएका प्रधानाध्यापक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । श्री निम्न माध्यमिक विद्यालय मोतियाही, रौतहटका तत्कालीन प्रधानाध्यापक रमेश तिवारीले आफू कृषक समूह प्रा.वि.जुडीवेलामा कार्यरत रहँदा किर्ते सहीछाप गरी आफ्नी श्रीमती ललिता तिवारीलाई राहत शिक्षकमा नियुक्ति गरेको उजुरीका आधारमा उक्त तथ्य फेला परेको हो । 

उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तिवारी उक्त विद्यालयमा कार्यरत रहँदा किर्ते दस्तखत गरी शिक्षक पदपूर्तिको सूचना प्रकाशन गर्ने देखि नियुक्तिसम्मका विभिन्न निर्णय गरेको देखिएको अख्तियारको दावी छ । उनले गलत कागजात तयार पारी तत्कालिन जिल्ला शिक्षा कार्यालय, रौतहटलाई पत्राचार गरी आफ्नी श्रीमतीलाई गैरकानूनी रूपमा प्रा.वि.स्तरको राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

२०६३ असार १२ देखी २०६६ भदौ १२ गतेसम्म कृषक समूह प्रा.वि. जुडीवेलामा हाजिर नभए पनि उनको नाममा २ लाख ५६ हजार ९ सय ९० रुपैया निकासा भएको अख्तियारले जनाएको छ । हिनामिना र हानि नोक्सानी गरेको उक्त रकम बिगो असुल उपर गर्न अख्तियारले माग दावी गरेको छ । 

विद्यालयमा हाजिरै नभई लिएको विगो दावी गर्दै अख्तियारले ललिता विरुद्द पनि  विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया