Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको स्थायी नियुक्ति, पदस्थापनाका आधार सहित परिपत्र

बुधबार, २७ चैत्र २०७५

भक्तपुर - प्राथमिक तहमा सिफारिस भएका शिक्षकलाई हाल कार्यरत विद्यालयमै र निमावि र माविमा सिफारिस भएकालाई विषय मिल्ने भएमा मात्रै कार्यरत विद्यालयमा नियुक्ति गर्ने आधार सहित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै इकाइलाई गरेको परिपत्रमा उक्त आधार अनुसार पदस्थापना हुन नसकेका लियन, अस्थायी वा सट्टा शिक्षकको हकमा योग्यताक्रम अनुसार जिल्लाको रिक्त पदमा पदस्थापना गर्न भनिएको छ । 

'प्राथमिक तहमा सिफारिस भएका शिक्षकहरुलाई हाल जुन विद्यालयमा कार्यरत रहेको हो सोही विद्यालयको रिक्त दरबन्दीमा पदस्थापना गर्ने' गत सोमबारको मिति उल्लेख गरिएको, बुधबार सार्वजनिक परिपत्रमा भनिएको छ, 'निमावि र मावि तहमा सिफारिस भएका शिक्षकहरुलाई विषय मिल्ने भएमा हाल जुन विद्यालयमा कार्यरत रहेको हो सोही विद्यालयको रिक्त दरबन्दीमा पदस्थापना गर्ने ।' 

पदस्थापना गर्दा अपाङ्गता भएका र महिलालाई रिक्त दरबन्दी र विषयका आधारमा पायक पर्ने विद्यालयमा पदस्थापनामा प्राथमिकता दिने व्यवस्था कायमै राखिएको छ ।  

निमावि र माविको क्षेत्रगत सूची सहित गरिएको उक्त परिपत्रमा सोही सूची भित्रबाट सम्बन्धित इकाइले उत्तीर्ण हुनेको रोल नम्बर का आधारमा आफ्नो जिल्ला संग सम्बन्धित कोड भएका उम्मेद्वारहरुको पदस्थापना गर्न निर्देश गरिएको छ । 

तीनै तहका सफल उम्मेद्वारहरुको स्थायी ठेगाना परिवर्तन भई फरक परेको भनि सच्याउन माग भएमा आवश्यक कागजातका आधारमा नियुक्ति पत्र दिदाँकै बखतमा सच्याउन सकिने केन्द्रले जनाएको छ । 

शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार शिक्षक सेवा आयोगले लिएको परीक्षाका प्रकृया पुरा गरेर सफल उम्मेद्वारको नियुक्तिका लागि गत चैत १९ गते केन्द्रमा नामावली पठाएको थियो । 
ऐनको व्यवस्था अनुसार आयोगले गत असारमा लिएको परीक्षाका सबै प्रकृया पुरा गरेर पास भएका १४ हजार अस्थायी शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । 

 

प्रतिक्रिया