Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

अस्थायीबाट स्थायी भएका शिक्षकलाई हाजिर नगराउन निर्देशन, स्थानीय सरकार र इकाईको उल्झन् पटाक्षेप

मंगलबार, ०३ बैशाख २०७६

इलाम - आफूसँग कुनै समन्वय नै नगरी नियुक्ति दिएको भन्दै अस्थायीबाट स्थायी भएका शिक्षकलाई हाजिर नगराउन सूर्योदय नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । नियुक्ति अघि शिक्षा विकास तथा समन्वय इकाईले पालिकासँग कुनै समन्वय नगर्दा शिक्षक व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने भएकोले हाजिर नगराउन निर्देश दिएको व्यहोराको पत्र सबै सामुदायिक विद्याललाई पठाईएको हो । 

इकाईको उक्त कार्यलाई 'जथाभावी'को संज्ञा दिदैं पालिकाले नियुक्तिका सन्दर्भमा कुनै पनि कार्यालयको बोधार्थ नपाएको हुनाले तलब भत्ता सम्बन्धी वित्तीय ब्यवस्थापन गर्न समस्या पर्ने दावी गरेको छ । 

'नगरपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा जानकारी नगराई हाजिर हुन आउने शिक्षकहरुलाई तत्काल हाजिर नगराउनु हुन साथै त्यसरी विना जानकारी हाजिर हुन आउने शिक्षकहरुको जिम्मेवारी स्वयं विद्यालयले नै लिनु पर्ने' उक्त पत्रमा उल्लेख गरिएको छ । 

पालिका भित्र रहेका ६४ वटा सामुदायिक विद्यालयमा झण्डै ३० जना जतिको नियुक्ति दिईएको हुन सक्ने नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले अनुमान गरेका छन् । पालिकासँग समन्वय नगरी नियुक्ति पत्र दिदां यस अघि पालिकाले नै नियुक्ति गरेका शिक्षक विस्थापित हुने अवस्था आएकोले उक्त निर्णय गरेको उनी बताउँछन् । 

'ठ्याक्कै डाटा त आईपुगको छैन तर अनौपचारिक रुपमा बुझ्दा ३० जना जति छन् की जस्तो देखिन्छ' उनले भने 'हामी कक्षा आठको अन्तिम परीक्षा लगायतका काममा ब्यस्त थियौं तर इकाईले नियुक्ति दिएछ, शिक्षकहरु विद्यालयमा आइपछि समस्या भएकोले पालिकाले गरेको निर्णयका आधारमा पत्र तयार पारी मैले हस्ताक्षर गरेर पठाएको हो ।'

पालिकाले हाजिर गर्न रोक लगाउने निर्णय गरेको सुन्दा आफूलाई आश्चर्य लागेको इकाइ प्रमुख होम भण्डारीले प्रतिकृया दिए । 

'जिल्लाभर अस्थायीबाट स्थायी हुनु भएका २ सय ५९ जना शिक्षकलाई नियुक्ति पत्र बुझाई सकिएको छ' उनले भने, 'शिक्षक सेवा आयोगको परीक्षा प्रकृया पुरा गरी स्थायी नियुक्तिको सिफारिस भएर आएका शिक्षकलाई नियुक्ति पत्र दिने अधिकार क्षेत्र इकाईकै हो हामीले त, सरकारद्वारा प्रत्यायोजित अधिकार कार्यान्वयन गरेका मात्रै हौं, सूर्योदयले हाजिर नगराउनु भन्न्े निर्देशन दिएको कुरा सामाजिक सञ्जाल मार्फत् थाहा पाएँ आश्चर्य लागेको छ ।' 

विद्यालय शिक्षा सम्म सञ्चालनका लागि संविधानले दिएको अधिकारका आधारमा नगरपालिकाले यस अघि नै आफ्ना क्षेत्रका विद्यालयमा नयाँ नियुक्ति गरेदेखि पालिका र इकाईबीचको सम्बन्धमा 'उल्झन' देखिएको हो । पालिकाले नियुक्ति दिएका ३२ जना शिक्षकको अभिलेख राख्न इकाईलाई गरेको अनुरोध नटेरे पछि इकाई र पालिका बीचको सम्बन्ध विगे्रको हो । नियुक्ति अघि पालिकाले आफूसँग सहमती नलिएकाले अभिलेख राख्न नसक्ने इकाईले जवाफ दिएको थियो । 

उक्त जवाफ दिनु अघि इकाईले शिक्षा तथा मानव श्रोत विकास केन्द्रसँग राय माग गरेको थियो । शुरुमा अनुमती नलिई नियुक्ति गरेकोले अभिलेख राख्न जरुरी नभएको केन्द्रको राय पछि पालिका र इकाई बीचको सम्बन्धमा थप दरार पैदा भएको हो । जुन उल्झन् अस्थायी शिक्षकको स्थायी नियुक्तिमा पटाक्षेप भएको इकाई श्रोत बताउँछ । 

कार्यरत अस्थायी शिक्षकको समस्या समाधान गर्न भएको शिक्षा ऐनको नवौं संशोधनले गरेको व्यवस्था अनुसार शिक्षक सेवा आयोगले परीक्षाका सबै प्रकृया पुरा गरी नियुक्तिको लागि सिफारिस गरेको आधारमा नियुक्तिको अधिकार इकाईलाई दिईएको हो । तर उक्त कार्य संविधानले गरेको व्यवस्था विपरित भन्दै स्थानीय सरकारका प्रतिनिधिले आलोचना गर्दै आएका छन् । 

प्रतिक्रिया