Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अभिभावक सम्म पुर्याउन नसकिएको 'रिपोर्ट कार्ड' !

आइतबार, ०८ बैशाख २०७६

काठमाडौं - बर्ष भरी पढाए पछि विद्यार्थीको नतिजा अभिभावक सम्म पुर्याउनु विद्यालयको दायित्व हो । विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई रिपोर्ट कार्डमा उल्लेख गरेर अभिभावक सम्म पुर्याउने काम विद्यालयको नियमित प्रकृया अन्र्तगत कै कार्य हो । तर, सप्तरीको जनचेतना माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीको 'रिपोर्ट कार्ड' अभिभावकलाई दिन चाहेन । 

यसको कारण हो, विद्यार्थीले प्राप्त गरेको कम अँक ! 

अध्ययन अनुसन्धानको क्षेत्रमा कृयाशिल संस्था मार्टिन चौतारीको वार्षिक सम्मेलन अन्र्तगत आईतबार भएको एउटा सेसनमा उक्त विद्यालयका शिक्षक महेश राज चौधरीले विद्यार्थीको निरन्तर मूल्याँकन प्रणाली क्यास बारे कार्यपत्र प्रस्तुत गरेका थिए । आफ्नो जिल्लाका केही विद्यालयमा गरिएको अध्ययनका आधारमा भन्दै उनले प्रस्तुत गरेको कार्यपत्रमा क्यास प्रति शिक्षकहरुमा अनविज्ञता रहेको, विद्यार्थीको सही मूल्याँकन हुन नसकेको, मूल्याँकनमा अलमल भएको लगायतको अवस्था उल्लेख गरे । उनको प्रस्तुती पछिको छलफलमा मार्टिन चौतारीका अध्यक्ष समेत रहेका शिक्षाविद् डा. प्रमोद भट्टको – तपाई आफैंले अथवा तपाईको विद्यालयले चाँही विद्यार्थीको मूल्याँकन कसरी गर्छ ? भन्ने प्रश्नमा शिक्षक चौधरीले आफ्नो विद्यालयको उक्त अवस्था बताएका हुन् ।  

'विद्यार्थीले प्राप्त गरेको अंक रिपोर्ट कार्डमा उल्लेख गर्दा त लाजै मर्दो हुने भयो, कसैको २ कसैको ३ नम्बर आए पछि कसरी त्यस्तो नम्बर अभिभावकका अघिल्तिर पुर्याउने बरु भो यो बर्ष नगरौं भन्ने सल्लाह भयो' विद्यालयले छापेर तयार पारे पनि अभिभावकलाई नबुझाईएको पहेँलो रंगको रिपोर्ट कार्ड देखाउँदै चौधरीले भने, 'क्यास लागू भए पनि सो अनुसार कार्य हुन नसक्दा यस्तो अवस्था आएको हो ।'

गरिबीका कारण विद्यार्थी अनियमित हुने, छात्रवृत्ति लिन मात्रै विद्यालय आउने, जो कमजोर छ ऊ शिक्षकको डरले नियमित विद्यालय नआउने तर जाँचका बेला मात्रै आउने गर्दा क्यासको सही प्रयोग हुन नसकेको उनको निष्कर्श थियो ।   

यस बर्ष मार्टिन चौतारीले आफ्नो वार्षिक सम्मेलनलाई शिक्षाका विषयमा केन्द्रित गरेको छ । नेपालमा शिक्षा भन्ने विषयमा आईतबारबाट शुरु उक्त सम्मेलनमा विभिन्न विषयका ४९ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । जसमा शिक्षाका मात्रै २६ वटा कार्यपत्र छन् । समाज विज्ञान सम्वन्धि ज्ञानको दायरा बढाउने र नेपाल केन्द्रित अध्ययन अनुसन्धान र छलफलको विषयलाई फराकिलो बनाउन सम्मेलन गरिदैं आएको अध्यक्ष भट्टले बताए । 

हरेक दिन छुट्टा छुट्टै विषयमा सम्मेलनको अन्तिममा खुल्ला छलफल समेत हुने छ । सम्मेलनको अन्तिम दिन मंगलबार हुने खुल्ला छलफलमा नेपाली मिडियामा शिक्षा रिपोटिङ् विषयमा एडुखबरका सम्पादक श्रीधर पौडेल पनि एक जना वक्ता छन् । 

प्रतिक्रिया