Edukhabar
सोमबार, ०२ चैत्र २०८२
खबर/फिचर

शिक्षकको कुटाइबाट विद्यार्थी घाईते, शिक्षकद्वारा गल्ती स्विकार, उपचार खर्च व्यहोर्ने सर्त

शुक्रबार, २० बैशाख २०७६

चितवन - शिक्षकको कुटाइबाट नारायणगढ स्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयका विद्यार्थी सुविन सुनार घाईते भएका छन् । कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुनारलाई अनुशासन पालना नगरेको आरोपमा शिक्षक निराजन भट्टले कुटेका हुन् । सुनारको ढाडमा निलडाम छ । 

साथीलाई उसको किताब दिने क्रममा हल्ला गर्यो भन्दै आफूलाई कुटेको सुनारले बताए ।

'सरले मलाई १० पटक भन्दा बढी मुड्कीले कुट्नु भयो' घाइते सुनारले भने 'सरले कक्षा कोठाबाट अफिसमा लगेर वालम्यापको डण्डिले पनि पिट्नु भयो । मलाई पिट्दा डण्डी नै भाँचियो, मलाई सहनै नसक्ने गरि दुख्यो ।'

विद्यार्थीलाई कुटे लगत्तै शिक्षक भट्टले विद्यार्थीका बाबुलाई फोन गरेर तपाईंको छोरालाई विद्यालयबाट लैजानुस्, यसलाई हामीले पढाउन सक्दैनौं भनेर खबर गरेको बुबा धनप्रसाद सुनारले बताए ।

आफ्नो छोरालाई कुटेको भन्दै विद्यार्थीका सहितका अभिभावक र पत्रकार शुक्रबार विहान विद्यालय पुगेका थिए । साढे ११ बजेतिर विद्यालय आएका प्रधानाध्यापक बिष्णु सापकोटाले पत्रकारलाई किन ल्याएको ? भन्दै शुरुमा आपत्ति जनाएका थिए । 

तर पछि छलफलका क्रममा सापकोटाले कैले काँही सम्झाउन खोज्दा यस्तो भएको हुन सक्ने बताउँदै घटनाले आफू पनि दुखी भएको बताए । आगामी दिनमा यस्ता घटना नदोर्होयाउने उनले प्रतिवद्धता व्यक्त गरे । आगामी दिनमा गल्ती नदोर्होयाउने र घाइते विद्यार्थीको उपचार खर्च शिक्षक भट्टले व्यहोर्ने सर्तमा अभिभावक फर्केका छन् ।

अभिभावकका अघिल्तिर शिक्षक भट्टले पनि आफूबाट गल्ती भएको र आगामी दिनमा यस्तो हर्कत नदोर्होउने वाचा गरेका छन् । बिहिवार छैटौं पिरियडमा होहल्ला गरेको भन्दै सम्झाउने क्रममा आफूले गल्ती गरेको शिक्षक भट्टले स्वीकार गरेका छन् ।  

'भनेको पनि मान्दैन,  कक्षामा हल्ला बढी गर्छ, पढाइ भएको यतिका दिनसम्म पनि किताब नबोकी विद्यालय आउँछ, बेल्ट पनि लाउँदैन, त्यही भएर उसलाई कुटेको हुँ' शिक्षक भट्टले भने 'म बाट गल्ती भएको छ । आगामी दिनमा यस्तो हर्कत दोर्होउने छैन । घाइते विद्यार्थीको उपचार खर्च मै ब्यहोर्छु ।'

गएको वर्ष देखि उक्त विद्यालयमा पढाउँदै आएका भट्ट निजी श्रोतमा नियुक्त शिक्षक हुन् । 

प्रतिक्रिया