Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

अनसन बसेका शिक्षकलाई प्रमुख प्रतिपक्षी दलको साथ !

मंगलबार, ०७ जेठ २०७६

काठमाडौं - शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुत्तीर्ण भएर पनि विस्थापित नगर्न माग गर्दै आमरण अनशनमा बसेका अस्थायी शिक्षकको माग पुरा गर्न प्रमुख प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले 'उनीहरुको माग गम्भिरता पूर्वक लिएर पुरा गरोस्' भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

'अस्थायी शिक्षकहरु, राहत शिक्षकहरु र शिक्षकहरु पनि विभिन्न चरणको आन्दोलनमा छन्, उनीहरुको मागलाई सरकारले गम्भिरता पूर्वक सम्बोधन गरोस्, माग पुरा गरोस् र उनीहरुको आन्दोलनलाई सम्मान गरोस् भन्ने आग्रह गर्न चाहन्छु' खाँडले भने । 

यस अघि उनले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरु पनि आन्दोलन रहेकोले सरकारले उनीहरुको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए । 

सोमबारको संसद बैठकमा राजपाका नेता अनील झाले पनि अस्थायी शिक्षकको अनसन प्रति सरकारको ध्यानाकर्षण गराएका थिए । 

अस्थायी शिक्षकहरु विभिन्न माग सहित २० वैशाख देखि आमरण अनशनमा बसेका छन् । आफुहरुलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानु पर्ने उनीहरूको माग छ । पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत अनसनमा बसेका छन् । 

शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षकलाई परीक्षा लिएर स्थायी गर्ने र पास नभएकालाई गोल्डेनह्याण्डसेक दिने व्यवस्था गरेको छ । सोही ब्यवस्थाका आधारमा आन्तरिक परीक्षामा अनुत्तीर्ण हुने अस्थायी शिक्षक स्वतः अवकाश हुन्छन् । तर अहिले अनुत्तीर्ण भएका शिक्षकले रोजगारीको निरन्तरता हुनुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया