Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ र १२ को कापी परीक्षणको 'ओरेण्टेशन' आधारभूतका शिक्षकलाई !

शुक्रबार, १७ जेठ २०७६

हेटौडा – कक्षा ११ र १२ का विद्यार्थीको कापी परीक्षणका लागि दिईने अभिमुखीकरण (ओरेण्टेशन) मा आधारभूत र कक्षा ९, १० मा अध्यापनरत शिक्षकहरुलाई मात्रै सहभागि बनाईएको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन मकवानपुरले आपत्ति जनाएको छ ।

उत्तर पुस्तिकाको परीक्षण तथा संपरीक्षणका लागि अपनाउने विधि तथा तरिकाबारे जानकारी दिन राष्ट्रिय परीक्षा बोर्डले गएको मंगलबार उक्त कार्यक्रम गरेको थियो । तर कार्यक्रममा आफूहरुलाई सहभागि गराउनुको साटो जानकारी समेत नदिएर आधारभूत र कक्षा ९, १० मा अध्यापनरत शिक्षकहरुलाई सहभागी गराईएको भन्दै यूनियनले आपत्ति जनाएको हो । यूनियनले बोर्डको हेटौंडा कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेलाई ज्ञापनपत्र समेत बुझाएको छ । 

'सम्बन्धित तहमा अध्यापन नियुक्ति लिएका शिक्षकलाई वायस गरी पक्षपाती ढंगले गरिएको उक्त कार्यलाई सच्याउँदै कक्षा ११ र १२ मा अध्यापनरत अस्थायी र अनुदान दरबन्दीमा कार्यरत ५७ जना साथीहरुलाई उत्तर पुस्तिका परीक्षण तथा संपरीक्षणका लागि अभिमुखीकरण कार्यक्रम अविलम्ब सञ्चालन गर्न माग गर्दछौं' ज्ञापन पत्रमा भनिएको छ । 

उक्त माग वेवास्ता गरेमा उच्च मावि तहमा कार्यरत शिक्षकहरुले उत्तर पुस्तिका परीक्षण वहिष्कार लगायतका विभिन्न विरोधका अन्य कार्यक्रम सञ्चालन गर्ने यूनियनका अध्यक्ष रमेश रिजाल र सचिव कृष्णप्रसाद पोखरेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । 

तर शिक्षकहरुको उक्त माग 'सामान्य' भएको भन्दै घिमिरेले यसलाई ठूलो रुपमा लिनु आवश्यक नभएको प्रतिकृया दिए । कार्यक्रममा सहभागीहरु 'माष्टर डिग्री पढेका' शिक्षक नै भएको भन्दै उनले बचाउको प्रयास गरेका छन् । 

'म भर्खरै आएको हुँ, उहाँहरुलाई खबर पुगेनछ, तर, यो ठूलो कुरो हैन, उहाँहरुले कापी जाँच्न पाउनु हुन्छ ढुक्क भए हुन्छ' उनले भने 'माष्टर डिग्री नभएकोले पढाउन त पाउँदैन भने कापी जाँच्न पाउने कुरै भएन, उहाँहरुले नै जाँच्ने हो कापी ।'

तर यूनियनका सचिव पोखरेल पछि के हुन्छ भन्नु भन्दा पनि के विधि अपनाईयो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै बोर्डको उक्त कार्यशैली ठिक नभएको तर्क गर्छन् । 

'पढाउने हामी, बोर्डले तोकेको समयमा कापी परीक्षणको फारम भर्ने हामी, तर ओरेण्टेशन दिने अरुलाई ?' प्रश्न गर्दै उनले भने, 'साविकको उच्च माविको दरबन्दीमा कार्यरत ५७ जना शिक्षक मध्ये अधिकाँशले उक्त फारम भरेका छौं तर, ओरेण्टेशनमा भने आधारभूतको दरबन्दीमा रहेका मुस्किलले एक दुई घण्टि पढाउनेहरुलाई सहभागी गराएर बोर्डले हामी प्रति पक्षपात गरेकोमा हाम्रो विरोध हो ।'

आफूहरुलाई वास्ता नगर्नुको पछाडी बोर्डका हेटौंडा प्रमुख घिमिरेकै भूमिका महत्वपूर्ण भएको एक जना शिक्षकले आरोप लगाए ।  

'उहाँ शिक्षकहरुलाई एकदमै रुखो स्वभावमा ब्यवहार गर्ने मान्छे हो, आफैं ठूलो र आफैंले भनेको मात्रै ठिक भन्ने उहाँको नराम्रो बानी छ' नाम नबताउने सर्तमा ती शिक्षकले भने, 'उहाँको कार्यशैलीले मकवानपुरका शिक्षकले पटक पटक हैरानी भोग्दै आएका छन् ।'

क्षेत्रीय शिक्षा निर्देशनालय खारेज भए सँगै शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरमा प्रमुखका रुपमा सरुवा भएका घिमिरेले शिक्षक सरुवा लगायतका काममा मनलाग्दी गरेको भन्दै शिक्षक संगठनले पनि त्यतिखेरै ज्ञापन पत्र बुझाएको थियो । पुख्र्यौली घर धनकुटा भए पनि विगत लामो समय देखि स्थायी रुपमै हेटौंडामा बस्दै आएका कारण बढेको उनको राजनीतिक पहुँचका आधारमा उनले कार्य गर्ने शिक्षकहरुको आरोप छ । उनको उक्त स्वभवावको मारमा यस पटक कापी परिक्षणको तयारीमा रहेका कक्षा ११ र १२ का शिक्षकहरु परेको ती शिक्षक बताउँछन् । 

शिक्षकहरुको उक्त विरोधका बारेमा हेटौंडा कार्यालयले नै अन्तिम किनारा लगाउने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले प्रतिकृया दिए । 

'अभिमुखिकरणमा सहभागी नबनाएको भन्दै विरोध गरिएको कुरा मैले पनि सुनें, उनीहरुलाई खबर गर्ने काम हेटौंडा कार्यालयकै हो, मलाई गरिएको रिपोटिङ् अनुसार खबर गरिएकै हो' उनले भने 'खबर भएर पनि अनाउनेलाई घर घरै गएर बोलाउने कुरा त भएन नी !'

तर आफूहरुलाई कुनै खबर नै नआएको यूनियनको दावी कायमै छ । 

विद्यार्थीको सही मूल्याँकन होस् भनेर बोर्डले कापी परीक्षण हुने जिल्लाहरुमै पुगेर शिक्षकलाई अभिमुखीकरण गर्दै आएको छ । सोही अन्र्तगत हेटौंडामा बारा, पर्सा, रौतहट र मकवानपुरका शिक्षकहरुलाई सहभागी गराईएको थियो । अहिले सम्म हेटौंडा सहित चितवन, पोखरा र बुटवलमा अभिमुखीकरण सम्पन्न भईसकेका छन् । विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीका चाँडैनै शुरु हुने बोर्डले जनाएको छ । 

उक्त अभिभमुखिकरणमा विद्यार्थीको उत्तरपुस्तिकालाई फोटो कपी गरेर एउटै कापी कम्तिमा १० जना परीक्षकबाट परीक्षण गर्न लगाई सबैले दिएको नम्बरको आधारमा छलफल गर्ने विधि अपनाईएको अध्यक्ष पौडेलले बताए । 

'एउटै उत्तरमा आउने नम्बर किन फरक आयो ? उही विद्यार्थीको मूल्याँकन कसरी शिक्षक पिच्छे फरक किन हुन्छ ? जस्ता उत्तर खोज्न हामी एकै ठाउँमा बसेर छलफल गरेर निष्कर्शमा पुग्छौं' उनले भने, 'यसले गर्दा पछि अन्तिम कापी परीक्षणका बेला विद्यार्थीले न्यायोचित नम्बर पाउँछ ।'

प्रतिक्रिया