Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

त्रिविको समन्वयमा वैज्ञानिक सम्मेलन

बुधबार, २२ जेठ २०७६

काठमाडौं - युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय नेटवर्क निर्माण गरी सार्क क्षेत्रमा देखिएका जलवायु परिवर्तन र प्राकृतिक प्रकोप लगायतका विषयमा खोज, अनुसन्धान गरी सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सार्क युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको हो । उक्त क्षेत्रका विद्यमान समस्यालाई सम्वोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले गरिएको दुई दिने उक्त सम्मेलनको बुधबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका छन् । 

जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताको बारेमा खोजमुलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधान गर्न सम्मेलनले महत्वपूर्ण योगदान गर्ने नेपालले अपेक्षा गरे । युवा वैज्ञानिक पयालन रोकि देश भित्रै अनुसन्धान गर्ने र राज्यले वैज्ञानिक अनुसन्धानको कार्यान्वयन गर्ने वातावरण निर्माण गनुपर्ने उनले बताए । 

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले युवा बैज्ञानिक सम्मेलनले वैज्ञानिक क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीका वारेमा छलफल गरी सरकारलाई ठोस नीति निर्माण गर्न सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे । प्रदेश ३ का पर्यटन,उद्योग वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सम्मेलनले प्रदेश सरकारलाई पर्यटन उद्योग तथा वैज्ञानिक क्षेत्रमा आवश्यक नीति निर्माण गर्न मार्ग निर्देश गर्ने अपेक्षा गरे । 

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले सम्मेलन विश्वमा देखा परेका नविनतम चुनौतीहरुको सामना गर्ने रचनात्मक उपायमा केन्द्रीत हुने विश्वास व्यक्त गरिन्  ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. दिपक अर्यालले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रका बारेमा जानकारी गराएका थिए । सार्क क्षेत्रका नेपाल बाहेकका १७ युवा वैज्ञानिकहरु उपस्थिति सम्मेलनमा ५१ वटा कार्यपत्र प्रस्तुत हुने छन् । सम्मेलनमा जर्मनी, फिनल्याण्ड, चीन र वेलायतबाट समेत वैज्ञानिकहरुको सहभागिता रहेको सम्मेलनका सम्पर्क व्यक्ति एवम जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद दवाडीले जानकारी दिए । 

 

प्रतिक्रिया