Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा १० को नतिजा सार्वजनिक गर्ने तयारी, पुरानै 'धंङधंङी' कायम !

विहीबार, १२ असार २०७६

भक्तपुर - यस बर्षको कक्षा १० एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा सार्वजनिक गर्नु अघि बिहीबार दिउँसो बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रण कार्यालय श्रोतले जनाएको छ ।
शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको छ । विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा पुरानै 'धंङधंङी' कायम छ ।

कक्षा १० को परीक्षा अन्य कक्षाको जस्तै हो भन्ने गरी सरकारी संयन्त्रले कार्य सम्पादन गर्न नसक्दा अभिभावक विद्यार्थीमा पनि यसको उस्तै प्रभाव कायम छ ।

उक्त परीक्षा सञ्चालनको लागि राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको छ । ऐन संशोधनको तीन बर्ष सम्म पनि कक्षा १० को परीक्षा प्रदेश स्तरमा सञ्चालन गर्ने संरचना निर्माणमा बोर्ड असक्षम हुँदा पहिलेकै जस्तो गरी तामझामका साथ नतिजा सार्वजनिक गर्ने क्रम जारी रहेको हो ।

यस पटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएको घटनालाई उछालेर प्रदेशले परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै नजिर बनाउने प्रयास समेत गरिएको छ ।

देशको संरचना र व्यवस्था बदलिए पनि शिक्षा प्रशासनको पुरानै सोचका कारण  विद्यालय शिक्षामा धेरै खाले समस्या विद्यमान छन् ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

प्रतिक्रिया