Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

आर्थिक अनियमितता विरुद्ध मुद्दा जितेर फर्केका उपकुलपति घुस सहित पक्राउ !

शुक्रबार, २७ असार २०७६

काठमाडौं - आर्थिक अनियमितता गरेको भन्दै सरकारले पदबाट हटाए पनि मुद्दा जितेर अदालतबाट पद वहाली गरेका वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुस रकम  सहित पक्राउ परेका छन् । उपकुलपति रौनियार र डा. रामहरी रौनियारलाई प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत लिएको ८ लाख घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।

घुस मागिरहेको सूचनाको आधारमा आयोगको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुस बापतको उक्त रकम लिइसकेको अवस्थामा धरान स्थित कार्यालय परिसरमै रहेको निवासबाटै रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

यस अघि प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै सिनेटबाट गठित छानविन समितिले रौनियारलाई कारवाहीको सिफारिस गरेको थियो । रौनियारलाई उपकुलपति पदबाट हटाउन सिनेट बैठकले सरकार समक्ष सिफारिस गरेको थियो । त्यसका विरुद्ध रौनियार सर्वोच्च अदालत गएका थिए । अदालतबाट अन्तरिम आदेश लिएर उनी २ महिना अघि मात्रै पुनः पद बहाली भएका थिए ।

प्रतिक्रिया