Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

यस अघिको दरखास्त रद्द, दायरा फराकिलो पार्दै १५ दिने म्याद

बुधबार, ०१ साउन २०७६

काठमाडौं - यस अघि दरखास्त हालेका ६ जनाको आवेदन रद्द गर्दै चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि १५ दिने म्याद थप गरिएको छ । खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले दायरा फराकिलो पार्दै साउन १५ गते भित्र दरखास्त हाल्न पुनः सूचना निकालेको हो । 

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली संयोजक रहेको सिफारिस समितिले गत असार ३ गते सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा प्राप्त ६ जनाको दरखास्त पर्याप्त नभएको भन्दै म्याद थप गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ । 

'पर्याप्त दरखास्त प्राप्त हुन नआएको र प्राप्त भएका दरखास्तहरु मध्येबाट पनि तोकिएका सबै योग्यता पूरा गरेको पुष्टि हुने प्रमाणहरु वा स्वयं घोषणा संलग्न गरेको नदेखिएको' उक्त सूचनामा भनिएको छ 'आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धि सोचपत्र र ४ बर्षे व्यवसायिक कार्ययोजना सहित दरखास्त पेश गर्न आह्वान गरिएको छ ।'

यस अघि चिकित्सा शिक्षा जाँच बुझ आयोगले दोषी ठर्हयाएका डा. नीलमणि उपाध्याय सहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा. रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका थिए । उनीहरु आयोगको ‘नेतृत्व हाँक्न सक्षम र विज्ञ नभएको’ भन्दै चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरुले आलोचना गर्दै आएका थिए । चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीले उपाध्यक्षमा योग्य र कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त नगरिए आन्दोलन गर्ने चेतावनी  दिईसकेका थिए । आयोग उपाध्यक्ष नियुक्ति कसैलाई जागिर खुवाउने वा कसैको स्वार्थ पूर्ति गर्नेभन्दा निकै बढी संवेदनशील रहेको भन्दै उनले आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु विकृतिलाई झनै मौलाउन दिनु र चिकित्सा शिक्षा क्षेत्रको नियमन अस्त व्यस्त पार्नु रहेको बताउँदै चेतावनी दिएका थिए । यस्तै आलोचना र चेतावनी पछि समितिले उनीहरूको निवेदन रद्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

आवेदन दिनेहरूका लागि यस पटक उमेर हदको दायरा समेत फराकिलो पारिएको छ । यस अघि उमेर हद ६४ वर्ष तोकिएकोमा यस पटक ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको चिकित्सा शिक्षामा ख्याति प्राप्त व्यक्तिले आवेदन दिन सक्ने भनिएको छ । 

चिकित्सा शास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरी २० वर्षको अनुभव र चिकित्सा शिक्षा सम्बन्धी क्षेत्रमा १० वर्ष काम गरेको, शिक्षण संस्थाका बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीका चिकित्सक वा विज्ञका रूपमा ख्याति कमाएको पुस्ट्याइँ गर्नु पर्ने, आयोगसँग कुनै स्वास्थ्य टकराव नभएको र सो सम्बन्धी शिक्षण संस्थामा लगानी नभएको व्यक्तिले मात्र आवेदन दिन पाउने लगायतका आधार तय गरिएको छ । 

 

प्रतिक्रिया