प्रश्न मै हुन्छ उत्तर, नियालेर हेर्न सिकाऊँ !


कुनै पनि प्रश्नको उत्तर बनिबनाउ हुँदैन । प्रश्नको अर्थ र आसय बुझ्नु प्राथमिक बिषय हो । तर हामीकहाँ बनिबनाउ उत्तरकै भाउ उच्च छ । बिक्री राम्रो हुन्छ । त्यही भएर घोक्न र कण्ठस्थ गर्न लगाइन्छ जसले जिज्ञासा र सिर्जनात्मक क्षमतालाई बिस्तारै नष्ट गरिदिन्छ । आखिर उनिहरुसंग थोरबहुत ज्ञान हुन्छ तर विवेकपूर्ण प्रश्न हुँदैनन् । प्रश्न बिहिन हुनु भनेको निष्क्रिय हुनु हो । लम्बे उमेरको लागि पनि प्रश्न जरुरी छ । महत्त्वपूर्ण कुरा के भने – विद्यालय पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण  प्रक्रियाले विद्यार्थीलाई प्रश्न गर्न सिकाउनु पर्छ उत्तर आफै खोज्छ । 

भारतका पूर्व राष्ट्रपति ए पि जे अव्दुल कलामको भनाइबाट शुरु गरौँ

विद्यार्थीको एउटा महत्वपुर्ण गुण भनेकै प्रश्न गर्नु हो । उनिहरुलाई प्रश्न गर्न दिऊँ । 

एन्थोनी रबिन्सले प्रश्नको गुणस्तरमा जोड दिदै भनेका छ्न – गुणस्तरीय प्रश्नले गुणस्तरीय जीवनको सिर्जना गर्छन् । सफल मानिसहरूले उत्तम प्रश्न गर्छ्न र परिणाममा उत्तम उत्तर पाउँछन् ।

खासगरी आधारभुत तहका विद्यार्थीले धेरै नै प्रश्न गर्छन ती प्रश्न विवेकपूर्ण नहुन सक्छन् त्यसैले उनीहरुलाइ ती प्रश्न  सिकाऊँ । ती प्रश्नहरु स्वयंलाई हल गर्न दिऊँ । 

जोन फलोलेयरले भनेकै छन् – आफू बाहेक कसैले पनि जीवनमा महत्वपूर्ण प्रश्नको जवाफ दिन सक्दैन ।

यदि उनिहरुलाई प्रश्न गर्ने दिइएन भने निल डेल ग्रास टाइसनले भनेजस्तै जीवनभर अनुत्तरित हुनपुग्छन् । 

कन्फुसियसले भनेकै छन – जो प्रश्न सोच्छ ऊ पाँच मिनेटको लागि मूर्ख बन्छ जसले कुनै प्रश्न सोध्दैन जीवनभर मूर्ख बन्छ ।

प्रश्न गर्ने कला र विज्ञान नै ज्ञानको श्रोत हो भनेर बुझाऊँ । परिवर्तनको पहिलो बाटो हो भनेर सम्झाऊँ ।

पहिल्यै उत्तर थाहा भएका प्रश्नहरु गलत हुन्छन् भन्दै उत्तर पछि प्राप्त हुने प्रश्न मात्र गर्न जोस सरामगोले सुझाएका छ्न । 

त्यस्तै लोटि भेयर्सले उत्तर चाहियो भने प्रश्न गर्न भनेका छन् ।

हो, प्रश्नमा उत्तर हुन्छ भनेर थोमस भटोले रहस्योद्घाटन गरेका छ्न । प्रश्नहरु जटिल भए पनि उत्तरहरु सजिला हुन्छन् । तर प्रश्न रुपि बाटोमा उत्तररुपि पैतला राख्न सक्नुपर्छ । म के चाहन्छु ?  यो म किन चाहन्छु ? र  यो म कसरी प्राप्त गर्छु ? यी तीन प्रश्नले बोकेको जीवनको सरलतालाई शानोन एल एलडेरले जस्तै हरेकले स्वयंलाई गरून् । विश्वविख्यात कवि लर्ड बाइरनले सुझाएका जीवनको मूल्य सम्बन्धी चार प्रश्नहरु – पवित्रता के हो ?आत्मा के ले बनेको हुन्छ ? जीवन केका लागि बाँच्ने ? र मृत्युको मुल्य के हो ? को बारेमा बिचार गर्नु बान्छनीय हुन्छ ।

आईन्स्टाइन गाडीमा यात्रा गरिरहेको बेलामा गाडीसंगै घर, रुख र जमिन पनि कुदिरहेको देखेर उनको मनमा पलाएको जिज्ञासाले गर्दा नै उनले सामान्य सापेक्षताको सिद्धान्त प्रतिपादित गरे । स्याउको बोटबाट स्याउ किन खस्यो ? भनेर प्रश्न गरेका न्युटनले अन्ततः विश्वब्यापी गुरुत्वाकर्षणको नियम पत्ता लगाए । के मानिस चरा जस्तै आकाशमा स्वतन्त्र रुपले उडन सक्छ ? भनेर प्रश्न गरेका ओर्विल र बिर्वल राइट दाजुभाइले हवाइजहाज बनाए । किट्लीमा पानी तताउँदा किट्लीको विर्कोलाई किन फाल्यो ? भन्ने प्रश्नको जवाफको उपयोग गरि जेम्स वाट्ले स्टिम इञ्जिनको आविष्कार गरे । मानव जातिको उत्पती कसरी भयो ? भन्ने प्रश्नको जवाफमा डार्विनले जातिको उत्पत्तिको सिद्धान्त प्रस्तुत गरे । पुनः प्रश्न गरे पुनः सच्याएर प्रस्तुत गरे । जुन आजसम्म पनि चर्चित छ । 
पृथ्वी कस्तो छ ?  सुर्यले पृथ्वीलाई वा  पृथ्वीले सुर्यलाई परिक्रमा गर्छ ? भनेर प्रश्न गरेका ग्यालिलियो ग्यालिलिले शक्तिशाली दुरविन बनाएर दुनियाको भ्रम चिर्न  सफल भए । 

समयको शुरूवात कसरी भयो ? ब्रह्माण्डको उत्पती कसरी भयो ? भन्ने प्रश्नको खोज गरेका स्टेफन विलियम हकिङ्ले बिग ब्याङ थ्योरी र समयको इतिहास जास्तो विश्वप्रसिद्ध महान कृतिको सिर्जना गरे । डुउलस अदम्स्को हिट्चहाइकर गाइड टु ग्यलेक्सि पुस्तक पढेर मनमा रकेट र अन्तरीक्ष सम्बन्धि जिज्ञासा र कल्पना पैदा नभएको भए एलेन मक्सले अत्याधुनिक रकेट को आविष्कार गर्ने थिएनन् ।  

यी त प्रतिनिधि प्रश्नहरु र जवाफ मात्र हुन् । जतिपनि ज्ञान, आविष्कार र सिद्धान्तहरु बने सबैको जग असल प्रश्नहरु नै हुन् । प्रश्नहरु नगर्ने हो भने ज्ञान विज्ञान र विश्व यति धेरै आधुनिक वैज्ञानिक र गतिशील हुने थिएन ।

भागवत गीता अर्जुनका प्रश्नमा आधारित छ । हिन्दु धर्ममा भनिएको आत्मा विज्ञानले भन्ने गरेको व्यक्तिगत उर्जा र परात्मा ब्रह्माण्डीय उर्जामा आधारित छ । धर्म र विज्ञान संगै छन् । अलग छैनन् तर सरल र जोड्ने प्रश्न गर्नुपर्छ । सिद्धार्थ गौतमले गरेको तीन प्रश्नहरु– मानिस किन दुःखी हुन्छ ? किन बूढो हुन्छ ? र किन मर्छ ? को उत्तर नै हुन् बुद्धका अस्टाङग मार्ग । बौद्ध धर्म दर्शन, त्रिपिटक ।

आध्यात्मिक गुरु एकट ट्ल्सले आत्महत्या गर्न लाग्दा गरेको प्रश्नले बचाएको कुरा छ । मानिस उर्जा हो उर्जा मर्दैन रुपान्तरण हुन्छ भनेपछी स्वयंलाई कसरी मार्न सकिन्छ ? मैले मेरो जीवनलाई मार्ने ? जीवनलाई मारे पनि म रहन्छु । त्यसैले आत्महत्या गर्नु निरर्थक छ । सोच्दा हेर्दा हास्यास्पद लाग्छ तर त्यसैलाई गम्भीर रुपले सोच्दा कुरा महत्त्वपूर्ण छ । हुन पनि वास्तविक ज्ञान र बोधको मार्ग प्रश्नबाट शुरु हुन्छ ।

त्यसैले जीवन के हो ? म को हँु ? मेरो दिमागले कसरी काम गर्छ ? मुटु के ले चलाउँछ ? दुःख के हो ? खुसी के हो ? के अन्य ग्रहमा जीवन सम्भव छ ? समुन्द्रको पिँधमा के छ ? के ले हामीलाई मानिस बनायो ? हामी सपना किन देख्छौँ ? जीवनमा गर्नुपर्ने सबैभन्दा मुख्य काम के हो ? हामी कहाँ बाट आयाँै र कहाँ जान्छौँ ? ब्रह्माण्ड के ले बनेको हुन्छ ? के हामी सँधैभरी बाँच्न सक्छौ ? कुखुरा पहिला कि अण्डा ? हातका औला किन समान छैनन् ? नङ बढ्छ तर काट्दा किन दुख्दैन ?.... जस्ता प्रश्न किन नगर्ने ? किन प्रश्न नसोध्ने ? कुनै काम गर्नु पुर्व चाणक्यले भनेका यी तीन प्रश्नहरु – म यो काम किन गर्दैछु ? यसले कस्तो नतिजा दिन सक्ला ? र के म सफल हुन सक्छु ? भनेर सोध्दा आएको जवाफमा सन्तुष्टि हुँदा काम अगाडी बढाऊ भन्ने कुराको मनन् तथा पालना किन नगर्ने ? किन नलगाउने ध्यान गर्न, अनुकरण गर्न र अनुभूत गर्न ? जबकी सिकाउनु नै छ भने । 

मोवाइल के हो  ? भन्ने प्रश्नमा मोवाइल एउटा मानव निर्मित इलेक्ट्रोनिक डिभाइस हो भन्ने उत्तर बाट बालकले के सिक्छ ? बालकलाई यसवाट बाहिर ल्याउन र वास्तविक सिकाउन मोवाइलले कसरी काम गर्छ ? भन्दै कार्य गर्ने प्रक्रियामा समेत प्रश्न गर्दै जाँदा वास्तविक र सहि ठाउँमा पुगिन्छ । त्यतिबाट अझै सन्तुष्टि भएन भने किन भन्ने प्रश्न गर्दै जानु  बान्छनीय हुन्छ । यसको लागि सोध खोजमा आधारित सिकाइ कामयावी हुन्छ । 

आइन्स्टाइनले भनेझै सबै भन्दा महत्वपूर्ण कुरा हो कहिल्यै प्रश्न गर्न बन्द नगर्नु । हरेक बालकमा हुने उत्सुकताहरुको अस्तित्वको आफ्नै कारण हुन्छ । निरन्तर प्रश्न गर्दै अगाडी बढदा लक्ष्य प्राप्त गर्न सकिन्छ ।

प्रश्न गर्न सकुन्, बाँकी आफै सिक्छन् । प्रश्न बुझ्न सकुन्, उत्तर आँफै दिन्छन् । असल प्रश्न गरून् आफै असल हुन्छन् । उत्तर भन्दा प्रश्न बढी महत्वपूर्ण हुन्छ । उत्तर भन्दा प्रश्न नै कठिन हुन्छ भन्ने जानून् । कठिन प्रश्नको सावधानी पूर्ण तवरले जवाफ दिऊन् । प्रश्न गर्ने पद्धति जानून् । वैज्ञानिक खोज अनुसन्धान, अन्वेषण प्रश्न बाटै शुरु हुन्छ भन्ने जानून् । हुन पनि खेल्न दिँदा बालकले एकैपटक खेल, सोध खोज, मनोरञ्जन र अन्वेषण  गर्न सिक्छन् । आइन्स्टाइनले एकचोटि भनेका थिए – यदि मलाई एउटा समस्या समाधान गर्न एक घण्टा समय दिइयो भने म ५५ मिनेट समय प्रश्न ढाँचा र चित्र निर्माण गर्न तथा पूर्ण रुपमा बुझ्न लगाउँथे र बाँकी पाँच मिनेट समयमा उक्त समस्याको समाधान गर्थे । प्रश्न बुझ्न र जान्नको लागि प्रशस्त समय दिऔँ । प्रश्नको गहिराई नबुझी उत्तरको बारेमा चिन्तित नहुन सचेत गरौँ । बरु टोसेफ एल्वर्सले भने जस्तै सहि प्रश्न दिऊ बाँकी बालकले आँफै सिक्छ ।

बालकले जति धेरै प्रश्न गर्छन् । गरून् । छलफल र निर्णय गर्न दिऊँ । नरोकौँ । हरेक प्रश्नहरु भने अनुसारनैं दुरुस्त लेख्न दिऊँ । कुनै पनि भनाइलाई  प्रश्नमा बदल्न लगाऔँ । उत्तरको धैर्य गर्न सिकाऊँ । प्रश्नलाई टुक्राएर थुप्रै प्रश्नहरु निर्माण गर्न लगाऊँ । प्रश्नमा भएका पदहरुको सम्बन्ध र अर्थले लुकेको उत्तरलाई बताउने रहस्यलाई पकड्न गर्न सिकाऊँ । प्रश्नलाई अंश अंशमा र समग्रमा बुझ्न सिकाऊँ । राम्रो प्रश्न गर्न सिकाऊँ, जसले राम्रै जवाफ दिन्छ । सकेसम्म धेरै अभ्यास गर्न दिऊँ । सहयोग गरौँ । उदाहरण सहित प्रश्नको व्याख्या गर्न दिऊँ । कल्पना गर्न दिऊँ । विद्यार्थीको रोजाइलाई आत्मसात गरौँ । जिज्ञासाको जोस चलेकै बेला कदम चालियो भने मात्र उत्तर पाइन्छ र अझै प्रश्न गर्न सकिन्छ भनेर सिकाऊँ । आफ्ना जिज्ञासा विद्यार्थीलाई सुझाऊँ । डर हटाइदिऊँ । खुलेर सोधखोज गर्न सकोस् । शिक्षकले विद्यार्थीको लागि जिज्ञासु वातावरण सिर्जना गरिदिऊँ । समाधान उसैले खोज्छ ।

पुस्तक अध्ययन, प्रश्न निर्माण र परिकल्पना निर्माणले सिकाइका ढोकाहरु खोली दिन्छ । जिज्ञासा एवम् उत्सुकताले गतिशील ज्ञान र गतिशील जीवन संभव भएको हो । बालकलाई ज्ञान दिनु भन्दा जिज्ञासा भरिदिएर क्रियाशिल बनाइदिनु पर्छ । यो काम विद्यालयले गर्नुपर्छ ।

परीक्षाका प्रश्नहरुमा खास गरी स्तरीयता, उद्देश्य मूलक, विश्वसनीयता, वैधता, वस्तुनिष्टता, व्यवहारिकता जस्ता विशेषता युक्त प्रश्नहरु वैज्ञानिक आधारबाट तयार गरिएको हुन्छ । प्रश्नहरुले नै उत्तर दिइरहेको त हुन्छ तर हल्का ढोका बन्द हुन्छ ताला चावी त्यही हुन्छ त्यसलाई ठिक ढंगले  खोल्न जान्नु पर्छ । जस्तै के भन्ने प्रश्नले सूचनागत ज्ञान (अर्थ, परिभाषा, सूचना ) को अपेक्षा गर्दछ, कसरी भन्ने प्रश्नले प्रक्रियागत ज्ञान (प्रक्रिया, ढाँचा, पद्धति, चरण) आदिको माग तथा अपेक्षा गरेको हुन्छ । त्यस्तै कहिले ले समयको वा क्रमको, कहाँ ले ठाउँ र स्थानको, कुन ले बस्तुको छनोटको, को ले ब्यक्ति र कर्ताको, किन ले कारणको माग तथा अपेक्षा गरेको हुन्छ ।

प्रश्नले खासगरी तीन क्षेत्रको ज्ञान, अभिवृद्धि, सीप र मुल्यको प्रतिनिधित्व गरेको हुन्छ । प्रश्नमा त्यही अनुसारको क्रियापदको प्रयोग भएको हुन्छ । ज्ञान तहको लागि पहिचान गर्न, सुचि तयार गर्न, विश्लेषण गर्न, सश्लेषण गर्न, मुल्यांकन गर्न, धारणा तथा अभिवृद्धिको लागि छुट्याउने, वर्गीकरण गर्ने, उदाहरण दिने, गुण निर्धारण गर्ने र सीप तथा मुल्यको लागि प्रदर्शन गर्नु, खोज गर्नु, सुधार गर्नु, कार्य गर्नु, सिर्जना गर्नु जस्ता क्रियापदको प्रयोग गरिएको हुन्छ । यहाँ सन्दर्भ, आधार, समय, लम्बाई स्तरलाई हेरेर र प्रश्न बुझेर उत्तर सम्म पुग्ने बाटो तय गर्नुपर्छ । प्रश्नमा प्रयुक्त कुन कुन क्रियापदहरुले कुन कुन अर्थ बोक्छन् र कस्तो उत्तरको अपेक्षा गर्छ भनेर बुझ्न निम्न क्रियापदहरुको अर्थ र आसय हेरौँ :

वर्णन गर्नु (Describe) : विषयबस्तुको बिस्तृत विवरण लेख्नेर तार्किक क्रममा चित्रण गर्ने र कथाको रुपमा बिषयबस्तुको प्रस्तुतीकरण गर्ने ।

ब्याख्या गर्नु (Explain) : बिषयबस्तुलाई स्पष्ट पार्न कारणहरु सहित विवरण उल्लेख गर्नु वा प्रस्तुत गर्नु ।

छलफल गर्नु (Discuss) : विवरणहरु दिँदै वर्णन गर्नु र फाइदा बेफाइदाहरुको ब्याख्या गर्नु ।

विश्लेषण गर्नु (Analysis) : मुख्य बिचार पत्तालगाउनु र तिनिहरु कसरी संबंधित छन किन महत्वपूर्ण भए भन्ने कुराहरु लेख्नु ।

सश्लेषण गर्नु (synthesis ) : विविध बिचारहरुलाई समेटेर मुख्य बिचारको निर्माण गर्नु ।

परिभाषा दिनु (Define) : औपचारिक अर्थ सहितको वाक्यात्मक उत्तर दिने (समय क्रम अनुसार अर्थमा आएको भिन्नतालाई समेट्दै) प्रायः स्मरणीय परिभाषा दिने ।

परिचय दिनु (Introduce) : बिषयको अर्थ,परिभाषा ,कार्य,बिबिध पक्षहरु लेख्दै महत्व सहित निष्कर्ष दिने 

फरक छुट्याउनु (Differentiate/Disguish) : सम्बन्धित बिषयको फरक देखाउदै तुलना गर्ने

सूची बनाउनु (Enlist/List) : मुख्य बिचार,बिषय वा नाम आदिको फ्रेम सहितको सूचि बनाउने

मूल्याकंन गर्नु (Evaluate) : आफ्नो बिचार दिने, मुख्य विशेषताहरु लेख्ने,महत्वपूर्ण अबधारणाहरु लेख्ने,फाइदा बेफाइदाहरु लेख्ने ।

दृष्टान्त दिने (Illustrate) : ठोस उदाहरणहरु, तुलना तर्कहरु प्रस्तुत गर्दै बिषयबस्तुलाई स्पष्ट पार्ने ।

प्रकाश पार्नु (Highlight) : खास खास पक्षलाई जोड दिदै तथ्य सहित महत्वलाई उजागर गर्ने ।

रुप रेखा तयार गर्नु ( Outline) : शब्दहरु, वाक्यहरुको संख्यात्मक र संरचनात्मक सुचि तयार गर्ने ।

प्रमाणित गर्नु (Prove) : विचार,तथ्य तथा तर्क दिदै सत्य देखाउने (खासगरी गणित र बिज्ञानसंग सम्बन्धित )

पुष्टि गर्नु (Jastify) : कसरी त्यो बिषय वा भनाइ त्यस्तो भयो लेख्नेर लेख्दा तथ्य, प्रमाण र कारणहरु जुटाउदौ निष्कर्ष दिने ।

उल्लेख गर्नु (State) : मुख्य बुदाहरु,स्पष्ट पदहरुर शब्दहरुमा वर्णन गर्नु ।

पुनरावलोकन र सिंहाअवलोकन (Review) : महत्वपूर्ण पक्षहरुको खोजी गरि सार लिने, निष्कर्ष लेख्ने, आवश्यकता अनुसार आलोचना गर्ने ।

सारांश लेख्ने (Summarize) : मुख्य विचारहरुको छोटो विवरण दिनेर विस्तृत उदाहरणहरुलाई हटाउने ।

टिप्पणी लेख्नु (Comment on) : आलोचना गर्नु, छलफल गर्नु, बिषयको पूर्ण सम्भाव्य अर्थको वर्णन गर्नु, आधार सहित तर्क गर्नु ।

चित्र बनाउनु (Draw a diagram ) : चित्र, चार्ट, ग्राफ बनाउनु, आवश्यकता अनुसारको छोटो ब्याख्या र नामाङ्कन गर्नु ।

गणना गर्नु (Compute/Enumerate) : अकंहरु उपयोग गर्दै हिसाब गर्नु, अनुमान गर्नु, सम्भावित परिणामहरु उल्लेख गर्नु ।

आलोचना गर्नु (Criticize) : आफ्नो बिचार दिने,बिषयबस्तुमा तार्किक मत दिने,सबल र दुर्वल पक्षहरु उल्लेख गर्दै आफ्नो निर्णय दिने ।

तुलना गर्नु (Compare) : शिर्षकहरुको बिचको समानता र असमानताहरु परीक्षण गर्नु ।

प्रश्नमा प्रयुक्त हुने क्रियापदको अर्थ र आसयलाई राम्ररी बुझ्ने, उत्तरको रुपरेखा सोच्ने, प्रश्नलाई नै गहिरो गरि नियालेर हेर्ने, हरेक उत्तरमा पुनः प्रश्न गर्ने कला सिकाउने हो भने विद्यार्थीलाई प्रश्नोउत्तर गर्न कठिन हँुदैन । त्यसैले निष्कर्षमा यो भन्न सकिन्छ – प्रश्न मै हुन्छ उत्तर, नियालेर हेर्न सिकाऊँ !

पाण्डे श्री सुनपकुवा मा वि उर्लाबारी, मङलबारे मोरङका शिक्षक हुन् ।