Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

चिकित्सक प्रति शिक्षकको कटाक्ष !

शुक्रबार, २४ साउन २०७६

काठमाडौं - नेपाल चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तिको भाषाले आफूहरुलाई होच्याएको भन्दै शिक्षकहरुले आपत्ति जनाएका छन् । आफ्नो तलब कम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउन संघले जारी गरेको विज्ञप्तिमा उल्लेख भाषाले आफूहरुको मानमर्दन गरेको भन्दै शिक्षकले सामाजिक सञ्जालमा चिकित्सकहरु प्रति कटाक्ष गरेका छन् । 

चिकित्सकहरुको तलबमान तथा एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिको प्रति आपत्ति जनाउँदै संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्ति को उक्त भाषा प्रति शिक्षकहरुले कटाक्ष गरेका हुन् ।  

सरस्वती मावि काँक्राबारी भक्तपुरका शिक्षक राम केसीले शिक्षक र चिकित्सकको तलब स्केल बराबर बनाएर सरकारले चिकित्सकहरुको अपमान गर्यो भनेर विज्ञप्ति बाजी गर्ने चिकित्सकहरुको वौद्धिक दरिद्रता देखेर दया जागेर आएको भन्दै शिक्षकसंग दाँजिनुपर्दा अपमानित भएको भन्ने खालको अभिव्यक्तिले डाक्टरहरुको चिन्तनमा पक्षघात भएको बुझिने उल्लेख गरेका छन् । 

'विज्ञप्ती हेर्दा यस्तो भान हुन्छ कि शिक्षक सबै भन्दा निम्न दर्जाका बेतनधारी हुन र उनिहरुसंग दाँजिनु भनेको अपमानित हुनु हो' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'पक्षघाती चिन्तनको बेलैमा उपचार गर्दा बेस होला ।'

शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले पनि सामाजिक सञ्जाल मार्फत् उक्त कार्यको विरोध गरेका छन् । 

'ए डाक्टर साब भनिने बौद्धिक प्राणी हो ! यहाँहरु जस्तो काविल डाक्टरलाई कसले पढायो हँ ? आज डाक्टर बनेर नाम र दाम कमाउने हैसियतमा कसले पुर्यायो हँ ? अक्षर चिन्ने देखि विशेषज्ञ बन्ने दौरानमा कसको योगदान छ हँ ?' प्रश्न गर्दै उनले लेखेका छन्, 'शिक्षक भन्दा डाक्टर ठूला भन्ने बुद्धि कसरी पलाएछ कुन्नि राजनीति गरेर खाने संघका पदाधिकारीमा ? देशका सबै पद भन्दा शिक्षकको पारिश्रमिक एक रुपैयाँ मात्रै भए पनि माथि हुनुपर्छ । शिक्षकको सम्मान गर्न सिकौं, सभ्यताको परिचय दिऔं ।' 

संघको उक्त भाषा प्रति शिक्षकहरुको तिव्र असन्तुष्टि सार्वजनिक भईरहे पनि शिक्षकका संघ सँगठनले औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । 

बुधबार संघले सार्वजनिक गरेको विज्ञप्तिमा चालू आर्थिक बर्षको शुरुवातसँगै सरकारले सार्वजनिक गरेको  नयाँ तलबमान प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । 

'२०७६ श्रावण १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएकोमा १० जोड २ अध्ययन पश्चात् ५ बर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको तलबमान तथा एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिको प्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारको सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको शुरु नियुक्ती नै ८ औं तहबाट भई रहेको अवस्थामा एसएलसी अध्ययन पश्चात् नेपाल सरकारको प्राथमिक तृतीय श्रेणी सरहको तलबमानले चिकित्सकहरुलाई आर्कषित गर्न नसक्ने नेपाल चिकित्सक संघले ठहर गरेको छ ।'

२०७४ असोज १३ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सम्झौता विपरित अवैज्ञानिक र असमानजनक तलब बिनियोजन गरिनुले गम्भिर आंशका पैदा गरेको संघले उल्लेख गरेको छ । 

प्रतिक्रिया