Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

छापामा शिक्षा : नेकपा र कांग्रेसले फुटाए विद्यालय, शिक्षक बिलखबन्दमा

मंगलबार, २८ साउन २०७६

काठमाडौं २८ साउन /विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन् । जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय शिर्षकमा मानदत्त रावलले नयाँ पत्रिकामा लेखेको खबर अनुसार हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन् । 

०७३/७४ मा जिल्ला शिक्षा कार्यालयले रुपाकोट विद्यालयको नयाँ भवनका लागि बजेट दिने भएपछि उपभोक्ता समिति गठन भएको थियो । उपभोक्ता समितिको नेतृत्वमा तत्कालीन एमालेनिकट थिए । समितिले नयाँ भवनका लागि नयाँ ठाउँमा जग्गा पनि व्यवस्थापन गर्‍यो । तर, जिशिकाले भवन निर्माणको १९ लाख बजेट विद्यालय व्यवस्थापन समितिले परिचालन गर्ने गरी विद्यालयको खातामा हालिदियो । व्यवस्थापन समितिको नेतृत्वमा कांग्रेसनिकट व्यक्ति थिए । बजेट उपभोक्ता समितिलाई नआएपछि नेकपा पक्षले आपत्ति जनायो । त्यहीँबाट विवाद सुरु भयो । 

स्थानीय तहको निर्वाचनमा हेमा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा निर्वाचित भयो । विद्यालयका लागि आर्थिक वर्ष ०७५/७६ मा गाउँपालिकाले फेरि भवन निर्माणका लागि २९ लाख विनियोजन ग¥यो । यो रकम भने उपभोक्ता समितिमार्फत परिचालन गर्ने गरी निकासा भयो । उपभोक्ता समितिको अध्यक्ष नेकपानिकट कृष्ण रोकाया थिए । यो बजेटले नेकपा पक्षधरले विद्यालयको पुरानै भवन भएको ठाउँमा नयाँ भवन बनायो । 

दुई पार्टी पक्षधरले दुईतिर नयाँ भवन मात्रै बनाएका छैनन्, एकै ठाउँमा एउटै कक्षामा मिलेर पढ्दै आएका विद्यार्थीलाई नै नेकपा र कांग्रेस कित्तामा छुट्याएर दुईतिर लगेका छन् । शिक्षकहरू दिनहुँ दुवैतर्फ धाएर पढाउन बाध्य छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि दुईतिरका दुईजना नै छन् । २२ भदौ ०७५ देखि विद्यार्थीसहित स्कुल विभाजन गरिएको अभिभावकहरू बताउँछन् । स्थानीय भैरव रोकायाले विद्यालयमा राजनीतिक लडाइँ चलिरहेको बताए । 

रुपाकोट आधारभूत विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र (इसिडी)देखि कक्षा ८ सम्म पढाइ हुन्छ । अहिले नेकपा पक्षधरले पुरानै भवनमा र कांग्रेस पक्षधरले त्यहाँबाट १५ मिनेटको दूरीमा बनाइएको नयाँ भवनमा पठनपाठन गराउँदै आएका छन् । नेकपातर्फको भवनमा ९१ र कांग्रेसतर्फको भवनमा ९५ विद्यार्थी छन् । बाँझागाड गाउँमा एक सय ३० घरधुरी छन् ।

हिमा गाउँपालिका–५ बाँझागाड कांग्रेस जुम्ला जिल्ला सभापति दीपबहादुर शाही र हिमा गाउँपालिका उपप्रमुखसमेत रहेकी नेकपा नेतृत्व हिमाली रोकायाको गाउँ हो । यही गाउँमा रुपाकोट आधारभूत विद्यालय छ । तर, दुई पार्टीको लडाइँले नेताका गाउँकै बालबालिकाको भविष्य अन्योलमा छ । 

नेकपा र कांग्रेस पक्षधरले विद्यार्थीसहित स्कुल नै टुक्र्याएर दुई ठाउँमा सञ्चालन गरेपछि रूपाकोट आधारभूत विद्यालयका शिक्षक बिलखबन्दमा परेका छन् । दुवैतिर पढाउन जानुपर्ने बाध्यता शिक्षकलाई छ । न्यून शिक्षक दरबन्दी भएको यो स्कुल एकै ठाउँमा हुँदा एउटै शिक्षकले नौ घन्टीसम्म पठाउनुपथ्र्यो । अहिले दुईतिर बाँडिएपछि १८ घन्टीसम्म पढाउनुपरेको प्रधानाध्यापक शान्तिकुमारी शाहीले बताइन् । 

प्रतिक्रिया