Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

बैशाखदेखि नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम, सकारात्मक प्रभाव

बुधबार, २९ साउन २०७६

काठमाडौं २९ साउन /जेन्युइन सेकेण्डरी स्कुल भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छात्र नुर कवाँले कुनै बेला भक्तपुरको प्रख्यात स्थानीय खेलका बारेमा सुनेका थिएनन्।  तर कवाँले अहिले त्यो खेलको नाम मात्रै होइन खेल नै खेल्न जान्ने भइसकेको छन्।  भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेपछि कवाँले नामै नसुनेको खेलका बारेमा सुन्ने अवसर पाएको मात्रै नभई खेल्न जान्ने अवसरसमेत पाएका हुन्।  
स्थानीय पाठ्यक्रमको प्रभाव सकारात्मक शिर्षकमा नागरिकमा कृष्ण किसीले लेखेको खबर अनुसार नगरपालिकाले गएको शैक्षिक सत्रदेखि नगरभरिका सरकारी तथा निजी दुवै स्कुलमा स्थानीय पाठ्यक्रम लागू गरेपछि यहाँका सयौं विद्यार्थीले आफू बसेको ठाउँलाई अझ प्रभावकारी रुपमा बुभ्mन पाएका छन्।

स्थानीय पाठ्यक्रम विषयका शिक्षक विश्वबहादुर दुवाल स्थानीय पाठ्यक्रम लागू भएपछि ससाना विद्यार्थीले समग्र भक्तपुरलाई बुझ्ने मौका पाएको बताउँछन्।‘स्थानीय पाठ्यक्रम नपाउँदासम्म देश विदेशका विषयबारे थाहा हुने विद्यार्थीले आफू बस्दै आएका ठाउँलाई बुझेका थिएनन्,’ दुवालले नागरिकसँग भने, ‘पाठ्यक्रम लागू भएर पढाई भएपछि विद्यार्थीले स्थानीय पहिचान पाएका छन्।  आफू बस्दै आएको ठाउँका धेरै कुरा नजिकबाट बुझन पाएका छन्। ’

देशभरिकै नगरपालिकाहरुमध्ये पहिलो पटक भक्तपुर नगरपालिकाले तयार पारी लागू गरेको ‘स्थानीय पाठ्यक्रम’ भक्तपुरको पहिचान झल्किने गरी तयार पारिएको छ।  गत बैशाखदेखि नगरका सबै सामुदायिक तथा निजी तथा आवासीय विद्यालयहरु गरी ९२ वटा विद्यालयमा लागू गरिएको स्थानीय पाठ्यक्रममा भक्तपुरलाई चिनाउने पाठ्यसामग्री छन्।

स्थानीय पाठ्यक्रममा भक्तपुरको पहिचान, कला, संस्कृति र सम्पदा, भक्तपुरको इतिहास, स्थानीय सीप र प्रविधि, स्थानीय पर्यटन र स्थानीय खेल गरी पाँच वटा विषय समावेस छन्।  ख्वप अर्थात भक्तपुरको नामकरण र भौगोलिक अवस्थिति, ख्वपको इतिहास, स्थानीय जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय संस्कृति, स्थानीय संस्कार, स्थानीय बोलीचाली र लिपि, स्थानीय कला र सम्पदा पाठ्यक्रममा समावेस छन्।  स्थानीय पहिचानबाहेक पाठ्यक्रममा स्थानीय व्यवसाय, सीप र प्रविधि, स्थानीय उपचार विधि, स्थानीय खेल, स्थानीय पर्यटनलगायतका पाठ पनि समेटिएका छन्।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले आफू बसेको ठाउँको रहनसहन, चालचलन, रितिरिवाज, चाडपर्व, जात्रा मात्रै नभई भौगोलिक अवस्था, जनसंख्यालगायतका विषयमा जानकारी दिन स्थानीय पाठ्यक्रम उपयोगी भएको जनाए।  यसले विद्यार्थीलाई स्थानीय पहिचानका बारेमा जानकारी पाउन धेरै सहज भएको उनको अनुभव छ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सचिव राजेन्द्र श्रेष्ठले पाठ्यक्रमको आधारमा नगरका सबै सरकारी तथा निजी दुवै विद्यालयमा पठनपाठन सुरु भएको बताए।  पठनपाठनका लागि पाठ्यपुस्तक तयार नभए पनि पाठ्यक्रमको आधारमा पढाइ भइरहेको सचिव श्रेष्ठले जनाए।  नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले नगरभरिका विद्यालयमा गएको शैक्षित्र सत्र वैशाखदेखि स्थानीय पाठयक्रम लागू गरेको थियो।  केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार गरेको आधारभूत तहको कक्षा १ देखि ८ सम्मका लागि गरिएको यो व्यवस्थाअनुसार नगरपालिकाले स्थानीय पाठयक्रम तयार पारी लागू गरेको हो।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा १ देखि ८ सम्म एक सय पूर्णांकको स्थानीय पाठयक्रमको विकास गरी लागू गर्न सकिने व्यवस्था गरेको छ।  यसका साथै कक्षा १ देखि पाँचसम्मको सामाजिक अध्ययन, शारीरिक शिक्षा र सृजनात्मक कला विषयमा २०/२० प्रतिशत भाग स्थानीय पाठ्यक्रम लागू गर्नसक्ने व्यवस्था छ।  बाँकी ८० प्रतिशत भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमका आधारमा अध्ययनअध्यापन गराइनेछ।

यो व्यवस्थाअनुसार भक्तपुर नगरपालिकाले पहिलोपटक नमुनाको रुपमा गएको शैक्षिक सत्रदेखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो।  कक्षा १ र कक्षा ६ मा एकएक सय पूर्णांकको एउटा विषयको स्थानीय पाठयक्रम लागू गरेकोमा चालू शैक्षिक सत्रदेखि थप कक्षा २ र ७ मा पनि लागू गरिएको छ।  यसअघि गत वर्ष नगरपालिकाले योगेन्द्रमान बिजुक्छेंको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू र रोशनराज तुइतुई सदस्य रहेको पाँच सदस्यीय स्थानीय पाठयक्रम निर्माण कार्यदल गठन गरेको थियो।  कार्यदल गठनसँगै धेरै चरणमा सरोकारवालाहरुसँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरेको थियो।

प्रतिक्रिया