Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
खबर/फिचर

शिक्षक सक्षमताको मापदण्ड, स्वाध्ययन समेत गणना हुने

आइतबार, ०१ भदौ २०७६

काठमाडौं - सबै प्रकारका विद्यालयका शिक्षकका लागि राष्ट्रिय शिक्षक सक्षमताको मापदण्ड निर्धारण गरी सोही आधारमा शिक्षक तयारी गर्ने र शिक्षक सक्षमताका आधारमा निरन्तर पेशागत विकास कार्य सञ्चालन गर्ने गरी शिक्षा मन्त्रालयले नीति तयार पारेको छ । मन्त्रीपरिषद्बाट स्विकृतिको अन्तिम चरणमा रहेको भनिएको राष्ट्रिय शिक्षा नीति, २०७६ मा शिक्षकले स्वाध्ययनबाट समेत सक्षमता हासिल गर्न सक्ने विकल्प प्रदान गरिने व्यवस्थाको प्रस्ताव गरिएको छ । 

'सबै प्रकारका विद्यालयमा अध्यापन गर्ने शिक्षकका लागि राष्ट्रिय शिक्षक सक्षमताको मापदण्ड निर्धारण गरी सोको आधारमा शिक्षक तयारी गर्ने र शिक्षक सक्षमताका आधारमा निरन्तर पेशागत विकास कार्य सञ्चालन गर्ने' मन्त्रीपरिषद् श्रोतबाट एडुखबरले प्राप्त गरेको उक्त नीतिको मस्यौदामा भनिएको छ, 'शिक्षक सक्षमताको प्रारुपको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याइने छ ।'

शिक्षक छनौट तथा बढुवाको प्रक्रियामा शिक्षक सक्षमतालाई आधार बनाइने भन्दै उक्त नीतिमा विद्यालय तहमा शिक्षकको निरन्तर पेशागत विकास गर्न प्रधानाध्यापकलाई जिम्मेवार बनाउनुका साथै शिक्षकको निरन्तर पेशागत विकास कार्यलाई विद्यार्थी सिकाइ उपलब्धीलाई अवबद्ध गरिने प्रस्ताव गरिएको छ । 

'शिक्षक तालिम तथा क्षमता विकासका कार्यक्रमहरू मार्फत क्त्भ्ः सँग सम्बन्धित विषयवस्तुहरू शिक्षण गर्न शिक्षकको पेशागत दक्षता अभिवृद्धि गरिनेछ' उक्त मस्यौदामा भनिएको छ, 'शिक्षकको निरन्तर पेशागत विकासका लागि प्रदेश तथा स्थानीय तहमा निबृत्त शिक्षक, प्राध्यापक तथा शैक्षिक प्रशासकहरूको रोष्टर तयार गरी प्रतिस्पर्धा र क्षमताको आधारमा उपयोग गर्ने ।'

शिक्षक तालिमको लागि स्थानीय तहको सिफारिसमा प्रदेश सरकारले शिक्षण एकेडेमी वा शिक्षण कलेज सित सम्झौता गर्ने र सम्झौता बमोजिम शिक्षकको क्षमता विकास तालिम सञ्चालन गरी क्षमता अभिबृद्धि गर्ने भनदै उक्त नीतिमा आवश्यकता अनुसार शिक्षक विकासका लागि सरकारको लगानीमा वैदेशिक अध्ययन भ्रमणमा समेत पठाउने प्रवन्ध मिलाइने उल्लेख छ । सफल र राम्रो कामबाट ख्याति कमाएका प्रधानाध्यापक र शिक्षकहरूको रोष्टरबाट लामो विदाको समयमा विद्यालयगत वा क्षेत्रगत छोटो अवधिको शिक्षक तालिम सञ्चालन गर्ने व्यवस्था गरिने र शिक्षकलाई प्रत्येक दुई वर्षमा सघन पुनर्ताजगीकरण तालिमको व्यवस्था गरिने नीतिमा उल्लेख छ । 

'शिक्षकको सेवाकालिन तालिम तथा क्षमता विकास कार्य प्रदेश तहको शिक्षण एकेडेमीले गर्ने र यस्तो एकेडेमी स्थापना नभए सम्मका लागि उक्त कार्य प्रदेश तहमा रहेका शिक्षा तालिम केन्द्रले गर्ने व्यवस्था मिलाइने छ' नीतिमा भनिएको छ, 'स्थानीय तहले विद्यालयलाई केन्द्र विन्दु बनाएर शिक्षकको निरन्तर पेशागत विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ ।'

सूचना तथा सञ्चार प्रविधिको विकासलाई ध्यान दिदैं तालिम दिने पद्धतिमा समेत परिमार्जन गर्न आवश्यक रहेको भन्दै उक्त नीतिको मस्यौदामा आमने सामने, विद्यालयमा आधारित, मिश्रित, अनलाईन तथा भर्चुअल पद्धतिका तालिम सञ्चानल गरिने उल्लेख गरिएको छ ।

सङ्घीय र प्रदेश स्तरमा रहने शिक्षक तालिम प्रदायक निकायले वैज्ञानिक अनुसन्धान तथा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम र योग्य शिक्षक तथा प्रशिक्षकको विकासका लागि वेभसाइट, अनलाईन ट्यूटोरियल, छलफल गर्ने फोरम, सिम्यूलेसन, भर्चूअल इमेजिङ जस्ता नवीनतम प्रविधियुक्त पेशागत क्षमता विकासका कार्यक्रहरू निरन्तर रूपमा सञ्चालन गर्ने नीतिमा उल्लेख छ । 

 

प्रतिक्रिया