Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

म्याद सकियो, बालुवाटारको 'सिग्नल' कुर्दै शिक्षा मन्त्री !

सोमबार, २३ भदौ २०७६

काठमाडौं - शिक्षाका सवालमा राज्य कति गैह्र जिम्मेवार छ भन्ने कुराको पछिल्लो उदाहरण भएको छ विश्वविद्यालयका पदाधिकारी छनौटमा सरकारले देखाएको उदासिनता ! त्रिभुवन विश्वविद्यालयको उपकुलपति सहितका पदाधिकारी सिफारिस गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटिको म्याद सकिएको ४ दिन वितिसक्दा पनि न कमिटिको म्याद थपको निर्णय भएको छ, न नियुक्तिको प्रकृया शुरु नै ! आफ्नै अध्यक्षतमा गठित कमिटिबाट नाम सिफारिस गर्न समेत नसकेर शिक्षा मन्त्री पोखरेल बालुवाटारको 'सिग्नल' कुरिरहेका श्रोतले जनाएको छ ।

'प्रधानमन्त्रीको रुची भएकाले उहाँकै चाहना अनुसार निर्णय गर्नु पर्ने वाध्यतामा सर्च कमिटि छ तर उहाँ सिंगापुरबाट फर्केर आए पछि यस बारेमा कुनै कुरै भएको छैन' उक्त श्रोत भन्छ, 'यस बीचमा पनि कुनै नामका 
बारेमा तय भएन, २० गते कै मितिमा आवश्यक गृहकार्य नसकिएकोले म्याद थपको निर्णय गर्न सिफारिस सहित शिक्षा मन्त्रालयले पत्राचार गरेको त छ तर कुनै निर्णय प्राप्त भएको छैन ।'          

उक्त पत्रमा सर्च कमिटिको म्याद कति थप्नु पर्ने हो भन्ने बारेमा कुनै मितिउल्लेख नगरिएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।  

पहिलो पटक गत साउन २० गते कुलपतिका हैसियतमा प्रधानमन्त्री केपी ओलीले सहकुलपति पोखरेलको संयोजकत्वमा गठन गरेको कमिटिको म्याद गत भदौ ४ गते सकिएको थियो । आफू उपचारका लागि सिंगापुर जानु अघि भदौ ५ गते उक्त कमिटिको म्याद २० गते सम्मका लागि थप्ने निर्णय भएको थियो । तर यो बीचमा कमिटिले कुनै पनि नाम तय गर्न सकेन । 

'हुन त शिक्षा मन्त्री उहाँ नै हो, सर्च कमिटिको अध्यक्ष पनि उहाँ नै हो, तर उहाँले गरेर मात्रै हुने कुरै छैन उहाँ त प्रकृयाका लागि मात्रै बनाईएको पात्र हो' शिक्षा मन्त्रालयको उक्त श्रोत भन्छ, 'सबै कुरा बालुवाटार (प्रधानमन्त्री) को सिग्नलका आधारमा तय गर्नु पर्ने भएपछि कमिटिले गरेर मात्रै पनि भएन ।'

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सहितका पदाधिकारी सिफारिस गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा  र आँगिक क्याम्पसका तर्फबाट विश्वविद्यालय सभाका सदस्य समेत रहेका मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेको कमिटि गठन गरेको थियो । कमिटिलई एक साता भित्र नाम सिफरिस गर्न भनिएको थियो । तर यो बीचमा कमिटिले कुनै काम नगरेको श्रात बताउँछ । 

'कमिटिले गरेर मात्रै हुने वालै छैन वेकारमा किन हैरान गर्नु !' उक्त श्रोतले दावी गर्दै भन्यो 'बरु सिधै प्रधानमन्त्रीबाट नाम आए पछि औपचारिकताका लागि कमिटिबाट सिफारिस गरिदिने कमिटिको मनस्थिती देखिन्छ ।' 

त्रिविका तत्कालिन उपकुलपति तीर्थराज खनियाँको कार्यकाल भदौ ५ गते देखि सकिएको छ । प्रधानमन्त्रीले त्रिविको उपकुलपतिको जिम्मेवारीको काम गर्न रेक्टर सुधा त्रिपाठिलाई तोकेका छन् । 

यस्तै त्रिवि सहित पूर्वाञ्चल, सुदुर पश्चिम र संस्कृत विश्वविद्यालयका पदाधिकारीको म्याद पनि भदौ ५ मै सकिएको छ । कृषिको ११ र मध्य पश्चिम तथा पोखरा विश्वविद्यालयका पदाधिकारीको म्याद भदौ १३ गते सकिएको छ । 

पूर्वाञ्चल  र संस्कृत विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । कृषि विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा विश्वविद्यालय अनुदानका अध्यक्ष भीम प्रसाद सुवेदी र शिक्षा सचिव दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । 

त्रिविका उपकुलपति खनिया सँगै कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा घनश्याम लाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरलालाको कार्यकाल सकिएको थियो । 

प्रतिक्रिया