Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग

शुक्रबार, २७ भदौ २०७६

काठमाडौं २७ भदौ / चितवन मेडिकल कलेजले एमबिबिएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। कलेजले विद्यार्थीबाट असुल गरेको बढी शुल्क फिर्ता गर्नुपर्ने आन्दोलित विद्यार्थीको माग छन्। सरकारले उपत्यकाका मेडिकल कलेजलाई ३८ लाख र उपत्यकाबाहिरका मेडिकल कलेजलाई ४२ लाख रुपैयाँ शुल्क लिन पाउने सीमा निर्धारण गरेको छ।

कलेजहरूले तोकिएभन्दा बढी शुल्क लिएको ठहर गरेको छ। मेडिकल कलेजबारे परेको उजुरी छानबिन गर्दै तोकिएको भन्दा बढी शुल्क लिइएको निष्कर्षमा उपसमितिमा पुगेको हो। शिक्षा तथा स्वास्थ्य समितिले ‘मेडिकल कलेजहरूको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो। बढी शुल्क लिने मेडिकल कलेजमा चितवन मेडिकल कलेजसमेत रहेको समितिले जनाएको छ। कलेजले एमबिबिएस ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा थप शुल्क लिएको विद्यार्थी बताउँछन्। यसबाहेक परीक्षा, इन्टर्नसिप, भर्ना, रजिस्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत शीर्षकमा कलेजले शुल्क उठाउँदै आएको छ।

चितवन मेडिकल कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थी ११ दिनदेखि आन्दोलित छन्। विद्यार्थीले कलेज प्रशासनमा तालाबन्दी गर्नुका साथै कलेजको गेटअगाडि नियमित रूपमा विरोध प्रदर्शन गर्दै आएका छन्। कलेजमा एमबिबिएस, बिडिएस, बी फार्मेसी, बिएस्सी नर्सिङ, एमएनलगायत ११ संकायमा अध्ययन–अध्यापन हुने गरेको छ। पछिल्लो समयमा सबै विद्यार्थीको पठनपाठन ठप्प छ। बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने माग राखेको लामो समय भए पनि कलेजले सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलन गरेको विद्यार्थी नसिम अख्तर बताउँछन्।

सरकारले ४२ लाख शुल्क तोके पनि ६२ लाख रुपैयाँसम्म लिएको उनले बताए। ‘सरकारले तोकेको भन्दा कम्तीमा १२ लाख रुपैयाँभन्दा बढी त सुरु देखिका ब्याजका सबैजसो विद्यार्थीसँग लिने गरेको छ,’ उनले भने, ‘कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने भने पनि यसको सुनुवाइ नै नभएपछि आन्दोलन गरेका हौं।’ कलेज प्रशासनले बढी लिएको शुल्कको रसिद नदिने, चेकमार्फत भुक्तानी नलिने र नगदै बुझाउनुपर्ने बाध्यता रहेको समेत विद्यार्थी बताउँछन्। कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा बुधबार प्रहरीले १६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित १६ जना रहेका थिए। ११ जना पुरुष र पाँचजना महिला विद्यार्थीलाई सोधपुछ गरेर बुधबार राति नै प्रहरीले छाडेको थियो। विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरी, प्रशासनको दमन भएको चितवन मेडिकल कलेज संघर्ष समितिका संयोजक प्रकाश चन्द बताउँछन्। आवाज उठाउने, माग राख्ने विद्यार्थीमाथि दमन भएकाले न्याय, प्रशासन कहाँ छ भनेर खोज्नुपर्ने उनले बताए। ‘एक वर्षमा कलेजले विद्यार्थीबाट करोडौं ठगी गरिराखेको छ,’ उनी भन्छन्, ‘कानुन, संवत् कारबाही गर्नुपर्छ भन्ने हाम्रो पनि माग हो।’

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा संघर्ष समितिले राखेको माग पूरा गर्नुपर्ने बताउँदै आएका छन्। बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गरी सम्बन्धित मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, स्वास्थ्यकर्मीको वर्तमान बजार, महँगी, लगानी, पारिश्रमिक र संवेदनशीलतालाई ध्यानमा राख्दै उचित तलब, सेवा–सुविधा र सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखिएको छ। पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री गुणस्तरीय बनाउनुपर्ने, छात्रवृत्तिबाट आउने विद्यार्थीलाई कुनै पनि शुल्क लिन नपाउनेलगायत आठबुँदे माग राखिएको छ।

यस्तै, मेडिकल कलेजले लिने नियमित र पुरक परीक्षा शुल्कमा एकरूपता गरी लागू गर्नुपर्ने, लेट फी चेकिङका नाममा अत्यधिक मनोमानी शुल्क लिने कार्य बन्द गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनले गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई साझा प्रवेश परीक्षामार्फत छात्रवृत्ति ग्यारेन्टी गरिनुपर्ने उनीहरूको माग छ। समितिले भदौ ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर ती मागहरू सार्वजनिक गरेका थिए। माग सम्बोधन नभएपछि चिकित्सा शिक्षा संघर्ष समिति बनाएर विद्यार्थीले आन्दोलन गर्ने बताइएको थियो।

चितवन मेडिकल कलेजले बुधबार विज्ञप्ति जारी गर्दै संसदीय उपसमितिले दिएको प्रतिवेदन पालना गर्ने जनाएको छ। ‘उक्त प्रतिवेदनको ६.४ मा उल्लेख भएबमोजिम शुल्क विवाद समाधान गर्न शिक्षा तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएमा यस कलेजले पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ। बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनको मध्यस्थतामा कलेजको प्रशासन र विद्यार्थीबीच छलफलसमेत भएको छ।

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुई पक्षबीच समस्या समाधान गर्ने विषयमा सहमति भएको चितवनका प्रहरी प्रमुख एवं उपरीक्षक दानबहादुर मल्ल बताउँछन्। विद्यार्थीले आन्दोलन नगर्ने, विद्यार्थीको माग प्रशासनले सम्बोधन गर्ने, सरकारले बनाएको नीति पालना गर्ने विषयमा सहमति भएको उनले बताए।

छलफलमा सहभागी विद्यार्थी नसिम अख्तर भने विद्यार्थीको आन्दोलन नरोकिने बताउँछन्। कलेजका प्रमुख सञ्चालक डा. हरिश न्यौपाने नै आएर विद्यार्थीको माग पूरा गराए मात्र संघर्षको कार्यक्रम रोकिने उनको भनाइ छ। चितवन मेडिकल कलेजले यसअघि पनि मेरिट लिस्टका विद्यार्थीको नाम हटाएर योग्यता सूचीमा नपरेकाहरूलाई भर्ना गरेको भन्दै विवादमा आएको थियो।

नागरिकमा   सविता श्रेष्ठले लेखेकी छन् । 

प्रतिक्रिया