Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

विद्यालयमा व्यापारिक कार्यक्रम, कानून प्रति अटेरी, स्थानीय सरकारलाई 'वाईपास'

मंगलबार, ३१ भदौ २०७६

पोखरा - विद्यमान कानूनको वर्खिलाप हुने गरी विद्यालयमा व्यापारिक कार्यक्रमको आयोजना गरिएको छ । सिमलचौर स्थित जनप्रीय माध्यमिक विद्यालयमा नेपाल आईडल सिजन ३  को 'अडिशन' कार्यक्रम राखिएको हो । स्थानीय सरकारलाई कुनै जानकारी नदिई व्यापारिक समुहको प्रायोजनमा व्यापारिक उद्धेश्यका लागि भएको उक्त कार्यक्रम गर्न अनुमति दिएर विद्यालय प्रशासनले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकाको उलंघन गरेको छ । 

मंगलबार विद्यालय विदा गरिएको छ । विहानैबाट विद्यालयमा अडिशन शुरु भएको छ । यसलाई विद्यार्थीको प्रतिभा प्रस्फुटनको मौका र विद्यालयको प्रचार हुने ठानेर अनुमति दिएको बताउँदै सहायक प्रधानाध्यापक देवि प्रसाद बस्ताकोटीले विस्तृत कुरा हेडसरसँग बुझ्न सुझाव दिए ।  

'भोली देखि परीक्षा भएकोले आज विद्यार्थीलाई विदा दिईएको हो, यो कार्यक्रमले पठन पाठनमा प्रभाव परेको छैन'उनले उल्टै दावी गरे 'बरु हाम्रा विद्यार्थी पनि यसमा भाग लिएर आफ्नो प्रतिभा प्रस्फुटनको मौका पाउँदैछन् ।'

यस विषयमा जानकारी लिन पटक पटक फोन र म्यासेज गर्दा पनि प्रधानाध्यापक बाबुराम पौडेल सम्पर्कमा आउन चाहेनन् । 

उक्त व्यापारिक समूहलाई कार्यक्रम गर्न दिन विद्यालयले एक महिना अघि अनुमति दिएको थियो । तर विद्यालयले यस बारेमा स्थानीय सरकारलाई भने कुनै जानकारी नदिएको पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख गंगा थापाले बताए । संविधानले विद्यालय शिक्षा सम्वन्धि सम्पूर्ण अधिकार स्थानीय सरकार मातहत गरे पनि यो कार्यक्रम गर्ने विषयमा विद्यालयले स्थानीय सरकारलाई समेत 'वाईपास' गरेको छ । 

'विद्यालयमा हुने जुनसुकै कार्यक्रमका लागि स्थानीय सरकारसँग अनुमति लिनु पर्ने व्यवस्था छ, तर उहाँहरुले हामीलाई यसबारेमा केही जानकारी  दिनु भएको छैन' गुरुङ्ले भने, 'कुनै पनि वहानामा विद्यार्थीको पठन पाठनमा अवरोध ल्याउने र विद्यालयमा अनेक किसिमका कार्यक्रम गर्ने भन्ने कुरै हुँदैन, के भएको रहेछ म तत्काल बुझेर कारवाही अघि बढाउँछु ।'

उक्त निर्देशिकाले विद्यालय हाता भित्र यस्ता कार्यक्रम गर्न बञ्जेद गरेको छ ।  २०६८ जेठ ११ गतेको मन्त्रीपरिषद् बैठकले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने निर्णय गरेसँगै “विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८” कार्यान्वयनमा आएको छ । तत्कालिन समयमा देशमा बढ्दो शसस्त्र द्धन्द्धबाट विद्यालय र बालबालिकालाई मुक्त राख्न उक्त निर्देशिका जारी गरिएको थियो । तर शसस्त्र द्धन्द्धका कारण मात्रै नभई विद्यालयमा अन्य गतिविधिका कारण बालबालिकाले पढ्न नपाउने र विद्यालयको शैक्षणिक वातावरमा खलल पुग्ने भन्दै उक्त निर्देशिकाको उद्देश्यमा विद्यालयलाई कुनै पनि हस्तक्षेपबाट मुक्त राख्ने उल्लेख गरिएको छ ।  । निर्देशिकाको परिच्छेद ६ मा विद्यालयको शैक्षिक गतिविधिमा बाधा पार्ने अन्य गतिविधिमा समेत रोक लगाईएको छ । विद्यालय परिसरमा गरिने विबाह, भोज, जात्रा, मेला तथा वैयक्तिक प्रयोग आदि शैक्षिक गतिविधिमा बाधा पर्ने कार्य गर्न नपाईने उल्लेख छ ।

मंगलबारबाट शुरु भएको उक्त अडिशन पोखरा सहित अन्य पाँच शहरमा हुने जनाईएको छ । सबै शहरमा विद्यालय र शैक्षिक संस्थामै कार्यक्रम तय गरिएको सार्वजनिक रुपमै प्रचार गरिएको छ । तर पनि शिक्षा मन्त्रालय अन्र्तगतका निकायका अधिकारीहरु भने थाह नपाएको जस्तो गरी बसिरहेका छन् । 

प्रतिक्रिया